११ महिनामा २१ खर्ब ७२ अर्बको वैदेशिक व्यापार, १६ खर्ब नाघ्यो व्यापार घाटा
काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को ११ महिनामा नेपालको वैदेशिक व्यापार २१ खर्ब ७२ अर्ब ६ करोड ६१ लाख रुपैयाँ पुगेको छ।
भन्सार विभागको तथ्याङ्क अनुसार समीक्षा अवधिमा नेपालको कुल वैदेशिक व्यापार १४.७८ प्रतिशत बढेर सो स्थानमा पुगेको हो।
तथ्याङ्क अनुसार समीक्षा अवधिमा आयात र निर्यात दुवैमा वृद्धि देखिएको छ। जेठ मसान्तसम्ममा आयात १५ दशमलव १६ प्रतिशतले वृद्धि भई १८ खर्ब ९४ अर्ब ९ करोड ८८ लाख ७१ हजार रुपैयाँभन्दा बढी पुगेको छ।
अघिल्लो आवको सोही अवधिमा नेपालले १६ खर्ब ४४ अर्ब ७९ कराेड ७५ लाख ८६ हजार रुपैयाँ बराबरको वस्तु तथा सेवा आयात गरेको थियो ।
त्यसैगरी, साउनदेखि जेठ मसान्तसम्मकाे अवधिमा निर्या पनि १२. २८ प्रतिशतले बढेर २ खर्ब ७७ अर्ब ९६ कराेड ७२ लाख ६१ हजार रुपैयाँ पुगेको छ। गत वर्षको यसै अवधिमा २ खर्ब ४७ अर्ब ५७ करोडको वस्तु तथा सेवा निर्यात भएको थियो।
निर्यातमा वृद्धि भए पनि आयात उच्च दरले बढिरहेकाले व्यापार घाटा थप फराकिलो भएको छ। समीक्षा अवधिमा मुलुककाे व्यापार घाटा १५.६७ प्रतिशतले बढेर १६ खर्ब १६ अर्ब १३ कराेड १६ लाख १० हजार रूपैयाँ माथि पुगेकाे छ।
गत आवको जेठ मसान्तसम्म व्यापार घाटा १३ खर्ब ९७ अर्ब २२ कराेड ७३ लाख रुपैयाँभन्दा बढी रहेको थियो ।
तथ्याङ्क अनुसार आयात-निर्यात अनुपातमा पनि केही सुधार देखिएको छ। अघिल्लो वर्ष ६.६४ रहेको आयात–निर्यात अनुपात चालू वर्षमा बढेर ६.८१ पुगेको छ ।
यसैगरी, कुल वैदेशिक व्यापारमा निर्यातको हिस्सा १३.०८ प्रतिशतबाट घटेर १२.०२ प्रतिशतमा खुम्चिएको छ भने आयातको हिस्सा ८६.९२ प्रतिशतबाट बढेर ८७.२० प्रतिशत पुगेको छ।












