ओली सरकार बजार हस्तक्षेपको तयारीमा « Arthapath.com
३० श्रावण २०७६, बिहीबार

ओली सरकार बजार हस्तक्षेपको तयारीमा



चारवटा सिमेन्ट उद्योगलाई कारबाही


केपी ओली नेतृत्वको केन्द्रीय सरकारले आमनेपालीलाई राहत दिने भन्दै बजार हस्तक्षेपको तयारी गरेको छ । सिमेन्ट र डन्डी उद्योगले गुणस्तरअनुसार उत्पादन नगरे एक वर्षसम्म बन्द गराउने गरी कारबाही थाल्ने तयारी नापतौल तथा गुणस्तर विभागले गरेको छ । सोहीअनुसार चारवटा सिमेन्ट उद्योगलाई उसले कारबाही गरिसकेको छ । त्यस्तै, अरू एक दर्जन बढी सिमेन्ट उद्योगको उत्पादनबारे अध्ययन गरिरहेको विभागले डन्डी उद्योगबाट उत्पादित वस्तुहरूको पनि गुणस्तर परीक्षण सुरु गरेको छ ।
निर्माण सामग्रीको साथै सरकारले खासगरी उपभोक्तालाई प्रत्यक्ष पार्ने दैनिक उपभोग्य वस्तु उत्पादन तथा बिक्री–वितरण गर्ने थोक र खुद्रा पसलको अनुगमनलाई बढी ध्यान दिने भएको छ । यसबारे उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले प्रदेश सरकारका मन्त्रीहरूलाई पनि चाडबाडको बेला उपभोक्तालाई सरकार छ भन्ने अनुभूति दिने गरी काम गर्न आग्रह गरिसकेका छन् । उनले केन्द्र सरकारमातहतका विभाग तथा कार्यालयहरूलाई पनि चाड सुुरु हुनासाथ बजारमा जान निर्देशन दिएका छन् । साउन ३० गतेबाट नेपालीको चाड सुरु भएको छ । चाडबाडको बेलामा उपभोक्ता ठगी धेरै हुने भएकाले सरकारले बजार अनुगमनलाई प्रभावकारी बनाउन लागेको हो ।
बजारमा आफूखुसी मूल्य तोक्ने र दैनिक उपभोग्य वस्तुको हाहाकार गराएर मूल्य बढाउने तथा यातायात क्षेत्रमा पनि मिलेमतो गरेर यात्रुहरूलाई ठग्ने काम विगतमा भएको भन्दै यस वर्ष चाँडै नै अनुगमन सुरु गर्ने सरकारले जनाएको छ । कालोबजारी गर्नेहरूलाई सुरुदेखि नै कारबाही थालेमा बजार सरकारका नियन्त्रणमा रहने ठहर गर्दै सरकारले बजारलाई यस वर्षको चाडमा विशेष ध्यान दिन लागेको हो । उपभोक्ता ठगिन थाल्दा विपक्षीहरूले पनि आवाज उठाउने भएकाले सरकारले विपक्षीले बोल्न नपाउँदै आफैँले बजार अनुगमनलाई तीव्रता दिने तयारी गरेको हो ।
नेपालमा उपभोक्ता ठगिएर आवाज उठेपछि मात्र विगतका सरकारले नाम मात्रको बजार अनुगमन गर्ने गरेका थिए । यस वर्ष भने हस्तक्षेपकारी नीति नै लिएर अगाडि बढ्ने तयारी सरकारको छ । त्यस्तो हस्तक्षेप कानुनी रूपमै गर्ने सरकारको भनाइ छ । कानुनी रूपमा कारबाही गर्दासमेत विगतमा अवरोध हुने गरेको थियो । यस वर्ष भनेजति नै अवरोध आए पनि सरकार उपभोक्तालाई राहत दिने गरी अगाडि बढ्न लागेको उद्योग मन्त्रालयका एक अधिकारीले जानकारी दिए । बजार अनुगमन नगर्दा सरकारले व्यापारीसँग मिलेर लुट मच्चायो भन्ने आवाज आउने भएकाले चाडबाड सुरु हुनासाथ अनुगमन सुरु गर्न लागिएको हो ।
राजधानीमा मात्र नभई प्रत्येक जिल्लामा बजार अनुगमन गरिने उद्योग मन्त्रालयले जनाएको छ । बजार अनुगमनको क्रममा सरकारले खाद्यान्न, कपडा मात्र होइन, औषधि पसलको पनि अनुगमन गर्ने तयारी गरेको छ । अहिले पनि बजारमा उपभोक्ता ठगी भइरहेका छन् । तर, चाडको बेलामा धेरै किनबेच हुने भएकाले अनुगमनलाई तीव्र बनाउन लागिएको हो ।
त्यस्तै, प्रधानमन्त्री कार्यालयमातहत रहेको राजस्व अनुसन्धान विभागले पनि सामान आयात बढ्न थालेसँगै अनुगमनलाई तीव्रता दिने भएको छ । नेपालमा चाड लक्षित सामानहरू विदेशमा बुकिङ भएर केही त नेपालका लागि हिँडिसकेका छन् । ती सामानबाट भन्सार र राजस्व छली हुने भएकाले अहिलेदेखि नै सतर्कता अपनाइएको राजस्व अनुसन्धान विभागले जनाएको छ । राजनीतिक दबाब बढेर बजार अनुगमनमा जाँदा सरकारको प्रभावकारिता नहुने भएकाले राजनीतिक तहबाट माग नहुँदै बजारमा सूक्ष्म तरिकाले अनुगमन सुरु गर्न लागिएको बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्