ओलीको मिर्गाैला, प्रचण्डलाई जुत्ता र विवेक « Arthapath.com
२२ फाल्गुन २०७६, बिहीबार

ओलीको मिर्गाैला, प्रचण्डलाई जुत्ता र विवेक




पुरुषोत्तम लम्साल

प्रधानमन्त्री केपी ओली दोस्रोपटक मिर्गौला प्रत्यारोपण गर्न शिक्षण अस्पताल जाँदै गर्दा केही संवेदनाशून्य, अविवेकी आवाज सुनिए, लेखोटहरू आए । काङ्ग्रेसका केही ठेट्नाले त केपी ओलीको मृत्युको कामना गर्दै जुलुसै पनि निकाल्न भ्याए भन्नेसम्मका खबर फैलिए । केहीले त ओलीले आफ्नै लागि दुई वर्ष अगाडि नै अङ्ग प्रत्यारोपणसम्बन्धी ऐनको बुँदा नै संशोधन गर्न सफल भएकाले अहिलेको मिर्गौला दान वैध भएको आशयले खबर बनाए । विवेक बेचेर गरिएको संवेदनाको यो व्यापारको औचित्य पुष्टि गर्न मरिहत्ते गरिरहेका स्थापित अनुहारहरूलाई बधाई तथा शुभकामना । मैले यस्तै शुभकामना केही वर्षअघि पूर्वयुवराज पारस शाहको विषयमा पनि दिएको थिएँ । कुलको छोरो सबै कुलीन हुन्छ भन्ने कहाँ हुन्छ ? भएन । तर, दुव्र्यसनको कुलतले स्वास्थ्यमा गम्भीर आक्रमण गर्दा त्यो बेला धेरैले उनका पूर्वकर्महरूको फेहरिस्त निकालेर अपाच्य खबर फैलाए । त्यो पनि विवेकलाई लँगौटीमा झुन्ड्याएर गरिएको पत्रकारिता नै थियो । चेतनालाई अचेतनाले छोपेपछि यस्ता खबरको व्यापार उम्दा हुने हो ।

एकपटक पूर्वटुरमा निस्कँदा देवीप्रसाद रेग्मी नामका सामान्य किसानले एमाले नेता झलनाथ खनालको गाला पड्काइदिए । खबर आगोसरी फैलियो । संसद्मा तात्कालीन माओवादीका प्राधिकार प्रचण्डले सचेत शैलीमा भने, ‘अहिले त एकाध जनताले एकाध थप्पड मात्र हानेका छन्, हामीले अहिले पनि प्रधानमन्त्री बनाउन नसक्ने हो भने हामी बाहिर निस्कँदा जनताले जुत्ता हान्न सक्ने कुरालाई गम्भीरतापूर्वक अनुभूत गरेको छु ।’ प्रचण्डले यसो भन्दै गर्दा झलनाथ खनाल मुसुमुसु हाँसिरहेको दृश्य अहिले पनि भेटिन्छ । नभन्दै त्यसपछि प्रचण्ड एकपटक बाग्लुङे कुँवरको चड्कनमा परे, यसपालि एकजना जुम्लीको जुत्ताको निशाना भए । उसबेलाका तिनै प्रचण्ड अहिले त सत्तारुढ नेकपाको एकजना अध्यक्ष पुष्पकमल दाहालको रूपमा स्थापित छन् ।

जुत्ताले लाग्यो कि लागेन त्यो गौण हो । आफूलाई सहिद परिवार भएको झुटो दाबी गर्ने जुम्लाका रतन तिरुवाले किन केको आक्रोश पोखे ? त्यो पनि गौण हो । तिरुवालाई द्वन्द्वपीडितको रूपमा स्थापित गर्ने केही सञ्चारमाध्यमको अभीष्ट पनि चासोको विषय होइन । उनी विप्लवनिकट अर्को नेकपासँग आबद्ध छन् कि छैनन् ? तिरुवाको आक्रोश स्वतस्फुर्त वा प्रायोजित के हो त्यो पनि बहसयोग्य छैन । तर, घृणा र आक्रोशको राजनीतिको एउटा सामाजिक मनोविज्ञानलाई रतन तिरुवाले प्रतिनिधित्व गर्दछन् र त्यो विद्रुप मनोविज्ञान अनेक रूपमा यसअघि पनि प्रकट भएको थियो र भोलि पनि हुन सक्छ । आजको विषय हो ।

सन् २००८ मा इराकको राजधानी बग्दादमा तत्कालीन अमेरिकी राष्ट्रपति जर्ज डब्लु बुशमाथि जुत्ता हानियो । केही इराकीले बुसलाई जुत्ता हान्ने पत्रकार अल जाइदीको जयजयकार गरे । तर, अमेरिकाप्रति इराकी जनताको आक्रोशको हल निकालिएन । सद्दाम हुसेन त अमेरिकाको सिकार भए तर अमेरिका इराकबीचको द्वेष अहिलेसम्म उस्तै छ । नेपालमा नेताहरूमाथि यस्ता असन्तोष धेरैपटक प्रकट भएका छन् । यो असन्तोष प्रकट गर्ने उद्दण्ड शैली मात्र होइन, घृणा र आक्रोश निस्सासिएर ‘म्याग्मा’जस्तो भइसकेपछि व्यक्तिलाई निर्देश गर्ने आपराधिक मनोग्रन्थीको विषय हो । यो ग्रन्थी कहीँ पनि कुनै पनि रूप र अवतारमा भेटिन्छ । धन्न ! हामीले त्यो अवतारमा अहिलेसम्म हिंस्रक व्यवहार मात्र भेटेका छौँ, रक्तपात औ हिंसा भोग्नुपरेको छैन । घृणा र असन्तोषको अभिव्यक्ति जुत्ता, चड्कन र पानीका बोतलहरूमा सीमित हुनुलाई पनि सन्तोष मान्नुपरेको छ ।

तर, राजनीतिको विषाक्त जरामा अडिएकाले दाहालमाथिको निशानामा भाङ थप्ने काम गरे । गिदीमा विकार जमेका धेरैले जुत्ता प्रहारलाई सही देखाउने यत्न गरे । स्थानीय तहमा राजनीतिको नेतृत्व गर्नेसमेतले ‘खाइस् ! र, खुच्चिङ !!’ को शैलीमा चिन्तनको दरिद्रता देखाए । जिल्ला वा प्रदेश तहमा घृणा र निराशाको अभिव्यक्तिको शैली त्यही वा अर्को रूपमा प्रकट भए निशानामा पर्ने तिनै हुन् भनेर कसैको गिदीमा घुसेन ।

नौ वर्षअगाडि एमाले नेता झलनाथ खनालको गाला देवीप्रसाद रेग्मीले चड्काए । राजनीति गर्नेहरूप्रतिको त्यो घृणा र आक्रोशको उपचार खोजिएन बरु सामान्य किसान रेग्मीलाई कठघरामा उभ्याइयो । इटहरीमा केही एमाले कार्यकर्ताले रेग्मीलाई भाकभुक पारेर झलनाथको शिर उचो त न त्यतिबेला भयो न आज भएको छ । भृकुटीमण्डपमा बाग्लुङे पदम कुँवरले उनै प्रचण्डलाई रातोपिरो हुने गरी गाला पड्काए । प्रचण्डसँग उनको जानी दुश्मनी थिएन, थियो त प्रचण्डले बिर्सिएका वा बिर्सन थालेका मुद्दालाई सम्झाउने अराजक, आपराधिक आक्रोश । खासमा त्यो निराशाको अभद्र अभिव्यक्ति नै थियो । त्यो घृणा र आक्रोश केही माओवादी कार्यकर्ताले कुँवरलाई कुटपिट गरेर निमिट्यान्न भएन, न तिरुवाको मुखमा लात्ती हानेर आक्रोशको हल भेटियो ।

डाक्टर बाबुराम भट्टराईमाथि पनि जुत्ता प्रहार भो । ‘हिरो हुन्छु’ भनेर सञ्जीव भट्टराईले बाबुरामलाई ताकेर जुत्ता हानेका हुन् ? होइनन् । एउटा भट्टराईले अर्को भट्टराइलाई जुत्ता हान्नु मात्र त्यो घटनाको आयाम थिएन । त्यसमा समाजको विकृत मनोग्रन्थी नै सपाट घुलेको थियो । बाबुरामको शिर निहुरिँदा अरू त हाँसे, तर सञ्जीव भट्टराई हाँस्न नसक्नुको पीडा बाबुरामले पनि सायदै पढे । युद्ध र चुनावका मोर्चाहरूबाट आएर बाबुराम भट्टराईले निराश सञ्जीव भट्टराईहरूभित्र आशा भर्न सकेनन् । ‘आफ्ना असहमति र मतभेद शान्तिपूर्ण र मर्यादित ढङ्गले व्यक्त गर्ने संस्कार विकास गरौँ । लोकतन्त्रमा आलोचनात्मक चेतना हुनैपर्छ, तर त्यसलाई व्यक्त गर्ने तरिका पनि लोकतान्त्रिक हुनैपर्छ’ भनेर ग्रामीण पहाडका मान्छेले विरलै प्रयोग गर्ने ट्विटरमा आदर्श बयान गर्दै गर्दा बाबुराम भट्टराईले हिजोका सञ्जीव भट्टराईको निराशा र आक्रोशको सम्झना गरे कि गरेनन् होला ? ट्विट गर्ने तर ट्विटको जवाफ नपढ्ने आदत हो भने त केही भएन, तर राजनीतिक नेतृत्वप्रति कतिसम्म घृणा र आक्रोशको म्याग्मा जम्मा भएर बसेको रहेछ भनेर जान्न हामीले भट्टराईकै ट्विटर भ्रमण गर्ने हो भने ‘रुनु कि हाँँस्नु’ को थिति छ ।

कपनको एउटा कार्यक्रममा नेपाली काङ्ग्रेसका तत्कालीन पार्टी सभापति सुशील कोइरालामाथि कार्यकर्ता प्रवेश बस्नेतले आक्रमण गरे । त्यो पनि विद्रोह थिएन, दल र दलका नेताप्रतिको वितृष्णा थियो । तर, त्यो वितृष्णाको जरा खोजिएन । समयले कोइरालालाई अवसर दियो र उनले प्रवेश बस्नेतहरूलाई एक थान संविधान दिलाउने श्रेय लिएर परलोक सुधारे । नुवाकोटको आफ्नै निर्वाचन क्षेत्रमा असन्तुष्ट एकजनाले काङ्ग्रेस नेता रामशरण महतको तालु पानीको बोतलले ठटाए । त्यो पनि आपराधिक मनोग्रन्थीकै उपज थियो । तात्कालीन माओवादी केन्द्रका नेता झक्कुप्रसाद सुवेदीले पनि तिनकुनेस्थित चियापसलमा प्रेमराज देवकोटाको गतिलै चड्कन भेटे ।

‘संविधान बनाउन विलम्ब भो’ भन्दा झक्कु कमरेडले झापड भेट्नु र समृद्धिको सपनालाई पत्यारलाग्दो बनाउन नसक्दा बाबुरामले जुत्ताको झट्टी भेट्नुबीच समानता छ, निराशा र आक्रोश । झक्कु महोदयले प्रेमराज देवकोटाको झाप्पु आज सम्झिए कि बिर्सिए ? मलाई ‘सही रास्ता’ देखाउने प्रेमराजहरूलाई साक्षी राखेर आइन्दा जनताको आशा र अपेक्षासँग खेल्दिनँ र अरूलाई पनि खेल्न दिन्नँ भनेर सुवेदीहरूले भनेको सुन्नुभएको छ ? छैन । हो, समस्या यहाँनेर छ ।
यी सिलसिलाले नेताहरूमा असुरक्षा महसुस गराएर मात्र पुग्छ ? पुग्दैन । यहाँ त केही राष्ट्रिय नेताका मात्र दृष्टान्त छन्, जनअपेक्षामा खरो उत्रन नसक्ने राजनीतिक दलका नेतृत्वलाई तल्लो तहबाटै जुत्ता हान्न थाल्ने हो भने भोलि को–को निर्धक्क भएर सडकमा हिँड्न सक्लान् ? सवाल यो हो । व्यक्तिभित्र जागृत हुने आपराधिक र हिंस्रक मनोविज्ञानको समाधान फगत कानुनले मात्र निकाल्न सक्दैन, राजनीतिक नेतृत्वको आचार, विचार व्यवहारले निकाल्न सक्दछ भनेर सचेत हुने कि नहुने ? सवाल यो हो । कुँवर, रेग्मी, बस्नेत सबैले माफी पाए । तिरुवाले पनि पाउलान् । तर, माफी मात्र निराशाको हल हो ? घृणा र निराशाको उपचार नेताहरू भरोशा गर्नलायक बन्नु हो । जनताका मुद्दामा खरो उत्रन नसके कसलाई के थाहा चड्कनभन्दा ठूलो बज्रपातले बाटो ढुकेर बसिरहेको छ । त्यसैले प्रचण्ड मन नपर्दैमा आफ्नो विवेक नै सिक्रीले बाँधेर ‘खाइस् ! र, खुच्चिङ !!’ भन्नेहरूले पनि होसियार हुनुपर्छ ।

जुत्ता प्रहार प्रकरणको अन्तर्य एसएसपी सहकुलबहादुर थापाको नेतृत्वमा गठित छानबिन समितिले खोज्ने ल्याकत राख्दैन । कानुनको बुँदामा टेकेर अपराधजनित क्रियाकलापको व्याख्या गर्न नाथे समिति नै चाहिँदैन । आममान्छेलाई चाहिएको जनताको असन्तोष र असन्तुष्टिको सम्बोधन गर्ने समिति हो, हिजोका पदम कुँवर र आजका रतन तिरुवालाई उदाहरण बनाएर प्रचण्डहरूले त्यहीँबाट आत्मसमीक्षा गर्नपर्दछ । अन्यथा प्राथमिक कक्षाको नैतिक शिक्षामा रामेको बाघ आयो बाघ आयो कथा हामी सबैले पढेका छौँ ।

त्यसको अर्थ आजै सबैले आफ्नो विवेकको घाँटी निमोठेर अरूमाथिको आक्रमणमा रमाउनपर्छ भन्नेचाहिँ होइन ।
त्रिशुली प्रवाहबाट


प्रतिक्रिया दिनुहोस्