१२२ हाटबजार बन्द « Arthapath.com
१० चैत्र २०७६, सोमबार

१२२ हाटबजार बन्द



खस्यौली, रासस । रुपन्देहीका १२२ ठूला तथा साना हाटबजार अनिश्चितकालका लागि बन्द भएका छन् । विश्वभर फैलिएको कोरोना भाइरस ९कोभिड–१९० विरुद्ध उच्च सर्तकता अपनाउँदै सबै प्रकारका हाटबजार बन्द गरिएको हाट बजार व्यवसायी सङ्घ रुपन्देहीका अध्यक्ष भीमलाल ज्ञवालीले जानकारी दिनुभयो ।

उहाँले सरकारले गरेको निर्णयप्रति ऐक्यबद्धता जनाउँदै हाटबजार भिडभाड हुने क्षेत्र भएकाले बजार बन्द गर्न बाध्य भएको बताउनुभयो । अध्यक्ष ज्ञवालीले कृषकको उत्पादन डुलाएर वा चोकमा मानिसको आवतजावत कम हुने ठाँउमा लगेर बेच्न किसानलाई आग्रह गरिएको उल्लेख गर्दै कोरोना भाइरसबाट बच्न र बचाउनका लागि आग्रह गरिएको बताउनुभयो ।

जिल्लाको बुटवल, भैरहवा, मणिग्राम, मङ्गलापुर, ठूटेपिपल, रानीबगिया, मुर्गिया, कलोैनी, सालभण्डीलगायतका स्थानमा फरकफरक बारमा साप्ताहिक हाटबजार लाग्दै आएको थियो । ती बजारमा करिब रु एक करोडभन्दा बढीको आर्थिक कारोवार हुने गरेको थियो ।

दैनिक दुई हजार व्यवसायीले कम्तीमा रु सात हजार बराबरको कारोवार गर्ने गरेका छन् । हाटबजारमा दैनिक नौ टन तरकारी, फलफूल खाद्यान्न विक्री हुँदै आएको थियो । यसअघि बुटवल उपमहानगरपालिका, सैनामैना, तिलोत्तमा नगरपालिका शुद्धोधन, गैडहवा गाउँपालिकाले साप्ताहिक हाटबजार बन्दको घोषणा गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्