विभिन्न स्थानबाट लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा « Arthapath.com
११ चैत्र २०७६, मंगलवार

विभिन्न स्थानबाट लकडाउन अवज्ञा गर्ने प्रहरी नियन्त्रणमा



लकडाउन उल्लङ्घन गर्ने २१० सवारी साधन प्रहरी नियन्त्रणमा

रुपन्देही । बुटवलमा लकडाउन अवज्ञा गर्दै हिँडेका तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलको राजमार्ग चौरहामा मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको हो ।


 मादक पदार्थ सेवन गरेर मोटरसाइकलमा होहल्ला गर्दै हिँडेका बुटवलका हेमन्त घिमिरे, सन्तोष रास्कोटी र नवराज श्रेष्ठलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईले जानकारी दिनुभयो । 


प्रहरीले उनीहरुले प्रयोग गरेको लु २६ प ५६५२ नम्बरको स्कुटर र लु ३० प ९७०८ नम्बरको मोटरसाइकलसमेत नियन्त्रणमा लिएको बताइएको छ  ।


यसैगरी लकडाउन अवज्ञा गर्दै सडकमा सवारी चलाउने १६७ सवारी साधन ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । बुटवलका विभिन्न स्थानमा चलाइएका  १५२ मोटरसाइकल, तीन तीन स्कुटर र कार, एक ट्याक्टर, दुई अटो रिक्सा र ६ ट्रक नियन्त्रणमा लिइएको प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक रामप्रकाश शाहले जानकारी दिनुभयो ।

लकडाउन उल्लङ्घन गर्ने २१० सवारी साधन प्रहरी नियन्त्रणमा

गाईघाट, ११ चैत (रासस) : कोरोना भाइरसबाट सजग हुन र एकअर्कामा सर्नबाट रोक्न सरकारले आजदेखि मुलुकभर एक साताका लागि शुरु गरेको लकडाउन अभियान उल्लङ्घन गर्ने २१० सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । उदयपुरको त्रियुगा नगरपालिका, कटारी नगरपालिका, बेलका नगरपालिका र चौदण्डी नगरपालिकाका विभिन्न स्थानहरुमा लकडाउन उलङघन गर्ने ती सवारी साधनलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

    जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख बीरबहादुर बुढामगरका अनुसार बिहान ७ बजे देखि दिनको १ बजेसम्ममा जिल्लामा लकडाउन उल्लङघन गर्ने २१० सवारी साधन नियन्त्रणमा लिइसकिएको छ । लकडाउन उलङघन गर्ने सवारीका साधनमा १८० मोटरसाइकल र बाँकी ट्रक ,टेम्पो ,सुमो र ट्र्याक्टर रहेको प्रहरीले बताएको छ । लकडाउन उल्लङ्घन गर्ने सम्पूर्ण सवारी साधन एकहप्तासम्म प्रहरी नियन्त्रणमा रहने पनि प्रहरीले बताएको छ ।

झापाका सबै छापा आजदेखि बन्द, कारवाहीमा  २०० सवारी साधन


कोरोना भाइरस सङ्क्रमणका कारण झापाबाट प्रकाशित पत्रपत्रिका आजबाट बन्द भएका छन् । पत्रिका प्रकाशन तथा वितरणमा समस्या भएको भन्दै झापाका दैनिक तथा साप्ताहिक पत्रिका आजबाट बन्द भएको नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले जानकारी दिनुभयो । 

झापाका सम्पादक÷प्रकाशकले असहज परिस्थितिमा पत्रिका प्रकाशन गर्न कठिनाइ भएकाले बन्द गर्नुपरेको भन्दै विज्ञप्तिसमेत निकालेका छन् । विज्ञप्तिमा बन्द भएका पत्रिकाको सूचना विभाग र प्रेस काउन्सिलको वर्गीकरण मूल्याङ्कनमा सहजीकरण गर्न नेपाल पत्रकार महासङ्घलाई आग्रह गरिएको छ । 

झापाका दैनिक तथा साप्ताहिक पत्रिकाले नेपाल पत्रकार महासङ्घ, प्रेस काउन्सिल नेपाल र सूचना तथा प्रसारण विभागलाई अलग अलग ध्यानाकर्षण पत्र दिएका छन् । झापामा नौ वटा दैनिक पत्रिका छन् भने १८ भन्दा बढी साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको नेपाल पत्रकार महासङ्घ झापाका उपाध्यक्ष एकराज गिरीले जानकारी दिनुभयो । रासस


प्रतिक्रिया दिनुहोस्