आधा सिलिन्डर ग्यास वितरण सुरु « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

आधा सिलिन्डर ग्यास वितरण सुरु



काठमाडौँ । नेपाल आयल निगमले शनिवारबाट आधा सिलिन्डर ग्यास बजारमा पठाएको छ । ७.१ किलोग्रामको सिलिन्डरलाई ६७८ रुपियाँ मूल्य तोकेको छ । कोरोना भाइरसको त्रासले ग्यास अभाव हुनसक्ने आशङ्कामा उपभोक्ताले सिलिन्डर मौज्दात राखेपछि वितरण प्रणालीलाई सहज बनाउन केही समय आधा सिलिन्डर वितरण सुरु गरेको निगमले जनाएको छ ।
निगमका अनुसार नेपालमा एक करोड २० लाख सिलिन्डर छन् । जसमा करिब १५ लाख सिलिन्डर उद्योगमा छन् । एक करोड पाँच लाख सिलिन्डर बजारमा छ । नेपालमा ६० लाख घरधुरी छन् जसमध्ये २० प्रतिशतले ग्यासको प्रयोग गर्दछन् । निगमको दाबीअनुसार नेपालमा १५ लाख धरधुरी ग्यास प्रयोग गर्दछन् । एक महिनामा मात्रै १५ लाख उपभोक्तालाई २४ लाख सिलिन्डर वितरण गरिएको निगमले जनाएको छ ।
निगमले भरी ग्यास सिलिन्डर मौज्दात भएका डिलरले मौज्दात नसकेसम्म थप ग्यास नपठाउन उद्योगहरूलाई निर्देशन दिएको छ । निगमले डिलरमा मौज्दात रहेका ग्यास सिलिन्डरको विवरण सर्वसाधारणले देख्नेगरी पसलमा टाँस्न पनि निर्देशन गरेको छ ।
शनिबारदेखि १४.२ किलोग्रामको सिलिन्डर बजारमा पठाइन बन्द भएको छ । शनिबारदेखि निगमले तोकेको मूल्यमा ७.१ किलोग्रामको सिलिन्डर सहज र समानुपातिक रूपमा बिक्री वितरण मिलाइने निगमका प्रवक्ता विनितमणि उपाध्यायले जानकारी दिनुभयो ।  गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्