चन्दा उठाएर क्वारेन्टाइन स्थापना « Arthapath.com
१७ चैत्र २०७६, सोमबार

चन्दा उठाएर क्वारेन्टाइन स्थापना



सिन्धुपाल्चोक । त्रिपुरासुन्दरी गाउँपालिका वडा नं. ३ मा स्थानीयबाट चन्दा उठाएर क्वारेन्टाइन स्थापना गरिएको छ । इच्छा हुने एक व्यक्ति बराबर एक हजार रुपैयाँ संकलन गरेर क्वारेन्टाइन स्थापना गरिएको हो ।

धुस्कुनमा रहेका हरिसिद्धि आधारभूत विद्यालयलाई क्वारेन्टाइनको रुपमा प्रयोग गर्न लागिएको छ । ४० जनाको क्षमता रहेको क्वारेन्टाइनमा बिजुली बत्ती, सोलार, खानेपानी, फ्यान, महिला र पुरुषका लागि छुट्टै बाथरुम, ट्वाइलेटको व्यवस्था गरिएको वडाअध्यक्ष सुकदेव रिसालले जानकारी दिनुभयो । अहिले भने १५ जना क्षमताको तयारी भएको छ ।

क्वारेन्टाइनमा अहिले कोही बिरामी आइहाले राख्न सकिनेछ । बिरामीलाई खाना, बस्न सबै सुविधा दिलाइने रिसालले बताउनुभयो । क्वारेन्टाइन स्थापनाका लागि कतैबाट सहयोग नआएपछि स्थानीय युवा, समाजसेवी मिलेर आफ्नो गाउँ आफै बनाऔं अभियान मार्फत क्वारेन्टाइन स्थापना गरिएको उहाँले जानकारी दिनुभयो ।

क्वारेन्टाइनमा धुस्कुन स्वास्थ्य चौकीका इन्चार्ज रहनेछन् । क्वारेन्टाइन स्वास्थ्य चौकी इन्चार्ज र वडाअध्यक्षको संरक्षणमा रहनेछ ।

क्वारेन्टाइन स्थापनाका लागि नेकपा गाउँपालिका कमिटी, इसार्ड सुनकोशी, स्थानीय समाजसेवीको पूर्ण सहयोग रहेको रिसाल बताउनुभयो ।

अस्थायी क्वारेन्टाइन सन्चालनका लागि युवा व्यावसायी विदुर नेपालले स्वास्थ्यकर्मी सुरक्षाका लागि ५ सेट पीपीइ गाउन, ५०० थान मास्क निशुल्क उपलब्ध गराउनुभएको थियो । त्यस्तै कल्याणकारी स्वयमसेवक संघ नेपालले ५ सय थान मास्क निशुल्क प्रदान गरेको छ । रेडियो नेपाल


प्रतिक्रिया दिनुहोस्