कुखुराभन्दा आलु महंगो, प्रतिकिलो ५० रुपैयाँ « Arthapath.com
२२ चैत्र २०७६, शनिबार

कुखुराभन्दा आलु महंगो, प्रतिकिलो ५० रुपैयाँ



कञ्चनपुर । कोरोना संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनको मारमा कञ्चनपुरका कुखुरा पालक कृषक परेका छन् । लकडाउनका कारण बजार नपाउँदा तयारी अवस्थामा रहेका कुखुरा बेच्न नपाउँदा कृषक मारमा परेका छन् । जिल्लामा ५ सयभन्दा बढी किसान कुखुरा पालन व्यावसायमा आवद्ध छन् ।

कुखुरा तथा अण्डा उत्पादन संघका अध्यक्ष विक्रम नाथका अनुसार अहिले ३ लाख ८० हजार कुखुरा तयारी अवस्थामा छन् । उनले भने, “सरकारले ढुवानी रोकेको छैन भनिरहेको छ । तर हामीले कुखुरालाई खुवाउने दाना लगायतका सामाग्री पाउन सकिरहेका छैनौं । ३०/३५ दिन कटेपछि कुखुरा बजारमा जान तयार हुन्छ । दानाको अभावमा पोल्ट्री फार्म भित्रै मर्ने अवस्था छ ।”

उनले यसअघि १० हजार तयारी कुखुरा नष्ट गरिएको समेत बताए । सरकारले किसानका लागि राहत प्याकेज घोषणा नगरे सयौं कृषक मारमा पर्ने उनी बताउँछन् । आफूहरुलाई घुम्ती सेवामार्फत निश्चित समय तोकेर भए पनि उत्पादित कुखुरा बेच्ने अवस्था सिर्जना भए थोरै भए पनि राहत हुने उनले बताए ।

अध्यक्ष नाथले भने, “आलुको मुल्य ५० देखि ७० रुपैयाँ प्रतिकेजी छ । हामीले भने पोल्टी फार्ममा आउनेलाई ५०/६० रुपैयाँ प्रतिकिलोमा बोइलर कुखुरा बेचिरहेका छौं । तर बजार नपाउने हो भने सबै कुखुरा नष्ट गर्नुको विकल्प छैन ।”

कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नुरहरि खतिवडा कुखुरा पालक किसानका गुनासो आइरहेको स्वीकार गरे । तर उनीहरुका बारेमा के गर्ने भन्नेबारे स्पष्ट नीति बन्न नसकेको उनले बाह्रखरीसँग केही दिनअघि बताएका थिए । बाह्रखरी


प्रतिक्रिया दिनुहोस्