मोरंग व्यापार संघको ३३औं कार्यसमिति गठन, अध्यक्षमा रिजाल सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित « Arthapath.com
१४ माघ २०७८, शुक्रबार

मोरंग व्यापार संघको ३३औं कार्यसमिति गठन, अध्यक्षमा रिजाल सहित पदाधिकारीहरु निर्विरोध निर्वाचित



काठमाडौं । माघ १४ गते बिहीबार मोरंग व्यापार संघको ३३औं कार्यकारिणी समितिको पदाधिकारी निर्वाचन एवं कार्यसमिति गठन कार्य सफलतापूर्वक सम्पन्न भएको छ ।

३२औं कार्यसमितिका अध्यक्ष प्रकाश मून्दडाको अध्यक्षतामा संघमा आयोजित सो पदाधिकारी निर्वाचनबाट संघको ३३औं का.का. समितिको अध्यक्ष पदमा नवीन रिजाल निर्विरोध निर्वाचित भएका छन् भने वरिष्ठ उपाध्यक्षमा अनुपम राठी, उपाध्यक्ष (वाणिज्य)मा अनिल कुमार साह, उपाध्यक्ष (उद्योग)मा विकाश कुमार बेगवानी, महासचिवमा अनिल सारडा, सचिवमा संजय श्रेष्ठ, कोषाध्यक्षमा राजेश अग्रवाल र प्रवक्तामा विनित सिंघानियां समेत निर्विरोध निर्वाचित भएका हुन् । त्यस्तै, कार्यसमिति सदस्य पदमा क्रमशः आशिष जाजू, दिपेश सुवेदी, अमित सारडा, पवन राठी, देवाशिष गोल्छा, मनिष मारु, श्याम राठी र सुशिल सुराना रहेका छन् । त्यस्तै, संघको नियमावलीको व्यवस्था अनुरुप ३३औं कार्यसमितिले सम्बद्ध (वस्तुगत) क्षेत्रबाट अरविन्द अग्रवाल र गोपाल अग्रवाललाई र संघका शाखाहरुबाट चन्द्र बहादुर भट्टराई लाई मनोनित गरेको छ । त्यसै गरी नवनिर्वाचित अध्यक्ष श्री नवीन रिजालज्यूले श्री अमित राठी र विवेक अग्रवाललाई का.का. सदस्यको रुपमा मनोनित गरेको छ भने संघको महिला उद्यम समितिको अध्यक्ष एवं ३३औं कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा बन्दना जैनलाई र युवा उद्यमी समितिको अध्यक्ष एवं ३३औं कार्यसमितिको आमन्त्रित सदस्यको रुपमा ओम प्रकाश शर्मालाई नियुक्त गरेको छ ।

संघको ३३औं कार्यकारिणी समितिको गठन पश्चात् अध्यक्ष नवीन रिजाल सहित नवनिर्वाचित पदाधिकारीहरुले आ–आफ्नो पदभार ग्रहण गरी पूर्व अध्यक्षहरु र सञ्चारकर्मीहरु समक्ष आफ्नो कार्यसमितिका भावी योजनाहरु प्रस्तुत गरेको थियो जस अन्तरगत अध्यक्ष रिजालले आफ्नो कार्यकालमा सरकार समक्ष विकास निर्माणका कार्यहरुलाई त्रैमासिक रुपमा खर्च गर्ने नीतिका लागि पहल गर्ने, मौद्रिक नीतिको स्वस्फूर्त कार्यान्वयनका लागि पहल गर्ने, तिव्र औद्योगिकरणका लागि जोड दिँदै तरलता अभाव, अस्थिर व्याजदर, चर्को विद्युत महशुल, ढुवानी खर्च आदि न्यूनिकरण गर्न पहल गर्ने तथा अस्वभाविक नीतिहरुको निराकरणका लागि पहल/पैरवी गर्ने बताएको थियो ।

त्यस्तै अध्यक्ष रिजालले संघद्वारा संचालित ‘मेरो देश, मेरै उत्पादन’ अभियान अन्तर्गत व्यापार घाटा न्यूनिकरण तथा रोजगारी अभिवृद्धि सम्बन्धी कार्य योजना अघि बढाउने, विराटनगर नाका जोड्ने भारतको मीरगंज पुलका समस्याहरु यथाशिघ्र निराकरण गर्न जोडदार पहल गर्नुका साथै प्रदेशस्तरीय प्रदर्शन स्थल निर्माण कार्य थालनी गर्न पहल गरिने बताएको थियो । त्यस्तै, औद्योगिक क्षेत्रको स्थापनाका लागि संघबाट समन्वयात्मक भूमिका निर्वाह हुने, क्षेत्रीय विमानस्थल निर्माणका लागि पहल गरिने, प्रदेश नं. १मा धार्मिक, मेडिकल एवं खेलकुद पर्यटन तथा कृषि क्षेत्रको प्रवद्र्धनका लागि प्रदेश सरकारसँग पहल गरिने, ऐतिहासिक विराटनगर शहरमा शान्ति सुरक्षाको प्रत्याभूति गराउन सिसिटिभीको समुचित व्यवस्थापन तथा शहरको सौन्दर्यीकरण एवं ग्रिन कन्सेप्टका लागि पहल गर्ने, स्थानीय बजार प्रवद्र्धनका लागि विभिन्न कार्यक्रमहरु संचालन तथा स्टार्टअप प्रवद्र्धनार्थ कार्यहरु गर्ने अध्यक्ष रिजालले बताएको थियो ।

त्यसै गरी, सीमा क्षेत्र सहित अन्तर्राष्ट्रिय उद्योग वाणिज्य संघहरुसँग समन्वय गर्नुका साथै कोभिड खोपको सहज उपलब्धता एवम् निरन्तरताका लागि पहल गर्ने, संघका शाखाहरुको सुदृढिकरण गर्दै क्रियाशिल बनाउने, संचार माध्यमसँग सहकार्य गरी औद्योगिक प्रवद्र्धन तथा नीतिगत सुधारका लागि विशेष कार्यक्रमहरु ल्याउने, केन्द्रीय एवं प्रदेश सरकारका सम्बन्धित मन्त्रालयका मन्त्री तथा उच्च पदाधिकारीसँग मासिक रुपमा भेटवार्ता गरी समसामयिक समस्याहरुको तत्कालिक एवं दीर्घकालिन समाधानको बाटो खोज्ने आदि कार्य गर्ने बताउनु हुँदै अध्यक्ष रिजालले मुलुककै पहिलो उद्योग वाणिज्य संघ एवं नेपाल उद्योग वाणिज्य महासंघको संस्थापक सदस्यको रुपमा स्थापित मोरंग व्यापार संघले विगतमा प्राप्त गरेका गरिमा र उचाईलाई आगामी दिनमा अझ उच्च बनाउन आफ्नो ३३औं कार्यसमितिले संघको परिधि अग्रजहरुको मार्ग निर्देशनलाई अनुशरण गर्दै तदारुकताका साथ अघि बढ्ने बताएको थियो ।


प्रतिक्रिया दिनुहोस्