नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि त्रिकोणात्मक भिडन्त, यस्तो छ सुरुवाती परिदृश्य « Arthapath.com
१६ चैत्र २०७९, बिहीबार

नेपाल उद्योग वाणिज्य महासंघको भावी नेतृत्वका लागि त्रिकोणात्मक भिडन्त, यस्तो छ सुरुवाती परिदृश्य



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आसन्न निर्वाचन नजिकिएसँगै व्यावसायिक वृत्तमा चुनावी माहौल बढेको छ । हालसम्मको अवस्थामा तीन प्यानलमार्फत व्यवसायीहरू चुनावी प्रतिस्पर्धामा होमिने देखिन्छ ।

उमेशलाल श्रेष्ठ, अञ्जन श्रेष्ठ र रामचन्द्र सांघाईले महासंघको वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी दिने तयारी गरेका छन् । यसअघि वरिष्ठ उपाध्यक्षका लागि उम्मेदवारी घोषणा गरिसकेका दिनेश श्रेष्ठले उमेशको प्यानलमा उपाध्यक्षको उम्मेदवारी दिने भएका छन् ।

हालसम्म उमेशले आफ्नो प्यानलका करिब सबै उम्मेदवारको सूची तयार पारिसकेका छन् भने अञ्जन र सांघाईमध्ये एक जना मात्रै उठ्ने की दुवै जना उठ्ने भन्ने बहस पनि भइरहेको छ । यद्यपि दुवैले उम्मेदवारी दिने तयारी अघि बढाएका छन् । उनीहरूले आफ्नो प्यानल पनि तयार पारिरहेका छन् ।

अघिल्ला चुनावमा जस्तै पूर्व अध्यक्षहरू पनि विभिन्न उम्मेदवारको सहयोगमा उत्रिएका छन् । महासंघको वरिष्ठ उपाध्यक्ष जित्नु भनेको भावी अध्यक्ष बन्नु हो । अहिलेको विधान अनुसार वरिष्ठ उपाध्यक्ष नै अर्को कार्यकालमा स्वतः अध्यक्ष हुने भएकाले वरिष्ठ उपाध्यक्षको नेतृत्वमा चुनावी प्यानल बन्ने गरेको छ ।

उमेशको समूहबाट जिल्ला–नगर उपाध्यक्षमा दिनेश श्रेष्ठ उठ्ने भएका छन् । वस्तुगत उपाध्यक्षमा हेमराज ढकाल उम्मेदवार बन्ने भएका छन् । महासंघका ‘वेटिङ प्रेसिडेन्ट’ चन्द्र ढकालका भाइको नाम पनि हेमराज (उनी नेपाल उद्योग परिसंघमा आबद्ध छन्) नै भए पनि यी चाहिँ महासंघका पूर्व अध्यक्ष चण्डीराज ढकालका भाइ हुन् । एसोसिएट उपाध्यक्षमा भरत आचार्य उठ्ने टुङ्गो लागेको छ ।

हालसम्मको अवस्थामा महासंघको भावी नेतृत्व सम्हाल्न उमेशको सम्भावना बलियो बन्दै गएको देखिएको छ । उनको पक्षमा महासंघका पूर्व अध्यक्ष र केही शक्तिशाली पूर्वपदाधिकारी खुलेर लागिसकेका छन् । नेपालमा कम्युनिस्टका संस्थापकमध्येका अग्रणी नेता पुष्पलाल श्रेष्ठका छोरा हुन् उमेश । प्रजातन्त्र स्थापनाका लागि लडेका धेरै नेताका सन्तति पनि राजनीतिमा लागेको बेला उनी भने उद्योगमा लागेका छन् ।

उमेशको नेपालमा मूलतः औषधि उद्योगमा लगानी छ । महासंघमा उद्योगीभन्दा व्यापारीको मात्रै नेतृत्व स्थापित हुँदा उनीहरूले उद्योगीका मर्का नबुझ्ने र व्यापारीका चासोलाई मात्रै लबिङ गर्ने गरेको भनेर लामो समयदेखि विरोध हुँदै आएको थियो । यसले पनि धेरैजसो उद्योगीको उनमाथि बढी अपेक्षा देखिन्छ ।

अहिले पूर्व अध्यक्षहरू चण्डीराज ढकाल, विनोदबहादुर श्रेष्ठ, रविभक्त श्रेष्ठ, पद्म ज्योति, प्रदीपकुमार श्रेष्ठ लगायतको समर्थन उमेशले पाउने भएका छन् । यसको अर्थ बहुमत नेवार समुदायले उमेशलाई समर्थन गर्ने देखिएको छ । कतिपय शक्तिशाली नेताका आफन्तलाई आफ्नो पक्षबाट उम्मेदवार बनाएका उमेशले यसबाट पनि ठुलो समर्थन र भोट बटुल्ने देखिएको छ ।

रविभक्तकी बुहारी जुना माथेमा, प्रदीपकुमार श्रेष्ठको भतिजो उदिन श्रेष्ठ र भावी अध्यक्ष चन्द्र ढकालका ज्वाइँ मनोज पौडेल समेत उमेशको प्यानलबाट महासंघको सदस्य उम्मेदवार बनेका छन् । महासंघ राजनीतिमा सानो टोलीको नेतृत्व गर्ने भास्करराज राजकर्णिकार र किशोर प्रधानजस्ता व्यवसायीको समर्थन पनि उमेशले पाएका छन् । पूर्व अध्यक्ष प्रदीपजंग पाण्डेका ३ भाइ छोरामध्ये दुई भाइ प्रतापजंग र प्रज्वलजंगले अञ्जनलाई समर्थन गरेका छन् ।

अहिले ह्युण्डाई कम्पनीका गाडी नेपालमा ल्याएर बेचिरहेका अञ्जन श्रेष्ठ पनि वरिष्ठ उपाध्यक्षको दौडमा छन् । उनले जिल्ला–नगर तर्फको उपाध्यक्षमा अरुणराज सुमार्गी, वस्तुगत उपाध्यक्षमा मनिषलाल प्रधान तथा एसोशिएट उपाध्यक्षमा ज्योत्सना सुब्बा श्रेष्ठलाई उम्मेदवार बनाउने भएका छन् । उमेशले अहिलेसम्म पूर्ण प्यानलको सूची बनाउन सकेका छैनन् । उनी पूर्व अध्यक्षहरूको समर्थन पाउन पनि प्रयासरत छन् ।

अञ्जनको पक्षमा महासङ्घको वर्तमान अध्यक्ष शेखर गोल्छा, पूर्व अध्यक्ष पशुपति मुरारका, महेशलाल प्रधानलगायतको समर्थन छ । प्रदीपजंग पाण्डेका जेठा छोरा प्रज्वलजंग पाण्डे पनि अञ्जनकै टोलीबाट उम्मेदवार बन्ने भएका छन् । उनी महासङ्घको पूर्व अध्यक्ष भवानी राणाका इमानदार कार्यकर्ता हुन् । राणा अहिलेसम्म नखुले पनि पशुपति मुरारकादेखि प्रज्वलसम्म यही टिमलाई समर्थनमा जुटेका कारण उनको पनि समर्थन अञ्जनले पाउने सम्भावना छ ।

तर वरिष्ठ उपाध्यक्षका अर्का प्रत्याशी रामचन्द्र सांघाई चुनावी मैदानमा उत्रिएमा अञ्जनको भोट प्रभावित हुन सक्ने जोखिम बढेको छ । एकातिर दिनेश श्रेष्ठ आफैँ उम्मेदवार बनेर जानु र त्यसमाथि जिल्ला–नगरमा ज्यादै राम्रो पकड भएका चण्डी ढकालले उमेशलाई समर्थन गर्दा धेरै भोट प्रभावित हुने जोखिम बढेकै छ । त्यसमा पनि सांघाई चुनाव उठेमा शेखर गोल्छा र उनका व्यावसायिक साझेदारहरू सांघाइको पक्षमा उभिन सक्ने जोखिम बढेको छ । त्यसो हुँदा शङ्कर समूहदेखि उनीहरूको नयाँ व्यावसायिक गठबन्धनको समर्थन अञ्जनबाट सांघाईतर्फ मोडिने खतरा बढेको छ ।

अहिलेसम्म पूर्वअध्यक्षहरु कुशकुमार जोशी र सुरज वैद्य कतै पनि खुलेका छैनन् । महासंघभित्रै एउटै गठबन्धनमा रहेका यी दुई पूर्व अध्यक्षसँग धेरै ठुलो जङ्क भोट नभए पनि उनीहरूका कारण केही भोट प्रभावित हुन सक्छ । तीन वटै टोलीले उनीहरूलाई आफ्नो पक्षमा उभ्याउने जमर्को गर्दै आएको छ ।

तर अञ्जनले जसरी पनि सांघाईलाई चुनावी मैदानमा उत्रिन नदिएर आफ्नो सम्भावना बलियो पार्ने कोसिस गरिरहेका छन् । सांघाई भने यस पटक आफूलाई छोड्न आग्रह गरिरहेका छन् । सांघाईको त्रिवेणी समूह नेपालको व्यापारिक क्षेत्रमा चिनिएको घराना हो । अहिले धेरैजसो अन्तर्राष्ट्रिय व्यापारमा विशाल र सांघाई समूहको बाहुल्यता छ । यसो हुँदा सांघाई नउठेमा मारवाडी समुदायको भोट आफ्नो पोल्टामा आउने देखेर अञ्जनले सांघाईलाई रोक्ने कोसिस गरेका हुन् ।

सांघाई पनि उठेको अवस्थामा कस्तो रणनीति लिने भनेर अञ्जन अहिले अलमलमा देखिन्छन् । त्यसै कारण गत सातासम्म आफ्नो प्रचारमा लाग्न सबैलाई आग्रह गर्दै हिँडेका उनी अहिले भित्री खेलो फड्कोमा मात्रै केन्द्रित भएका छन् । सांघाईले बस्तुगत उपाध्यक्षमा कुन्तललाल हिराचनलाई उठाउने तयारी गरेका छन् । जिल्ला–नगर उपाध्यक्षको टुङ्गो लाग्न बाँकी नै छ । एसोसिएट उपाध्यक्षमा सञ्जीव अग्रवाल केडियाले उम्मेदवारी दिने तयारी भएको छ ।

यदि सञ्जीव सांघाईको प्यानलबाट चुनावी मैदानमा होमिएमा एसोसियट तर्फबाट अञ्जनले ठुलो सङ्ख्यामा भोट गुमाउन सक्ने देखिएको एक व्यवसायीले बताए । यसरी स्वयम् सांघाईमात्र होइन, उनको टीममा भएका अरू उम्मेदवारले पनि अञ्जनलाई अप्ठेरो पार्ने भए पनि अहिले अञ्जन स्वयम् असहज अवस्थामा पुगेका छन् । उमेशले उम्मेदवारी दिने निश्चित भए पनि बाँकी दुई उम्मेदवार अन्तिम घडीसम्म मिलेर जान सक्ने सम्भावनालाई नकार्न नसकिने कतिपय व्यवसायीले बताएका छन् । उनीहरू दुई जना मिलेरै जाँदा पनि चुनाव रोमाञ्चक हुने देखिएको छ ।


प्रतिक्रिया दिनुहोस्