असारपछि ब्याजदर थप घट्दै जानेछ, अब दुई महिनामा निक्षेप पनि २ खर्बले बढ्छ: अध्यक्ष केसी « Arthapath.com
८ जेष्ठ २०८०, सोमबार

असारपछि ब्याजदर थप घट्दै जानेछ, अब दुई महिनामा निक्षेप पनि २ खर्बले बढ्छ: अध्यक्ष केसी



काठमाडौं । नेपाल बैंकर्स सघंका अध्यक्ष सुनिल केसीले आगामी असारपछि ब्याजदर थप घट्ने बताएका छन् ।

सोमबार संघद्वारा आयोजित पत्रकार अन्तरक्रिया कार्यक्रममा अध्यक्ष केसीले ब्याजदर घट्दो क्रममा रहेको जानकारी गराएका हुन् ।

उनले भने,–‘बैंकको ब्याजदर अब निरन्तर घट्दै जान्छ, राष्ट्र बैंकको नीति अनुसार पनि स्प्रेडदर असारमा ४ प्रतिशतमा झार्नुपर्नेछ, असार साउनसम्म ब्याजदर घट्दै जान्छ ।’

एनएमबि बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) समेत रहेका केसीले पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम बढ्दै गएको बताए । ‘पछिल्लो समय बैंकहरुमा लगानी योग्य रकम बढ्दै छ, तर कर्जा लगानी बढेको छैन । निक्षेप बढेको अनुपात कर्जा लगानी नबढेकाले तरलता पनि सहज अवस्थामा छ ।’– केसीले भने । यस वर्ष ३०० अर्बले निक्षेप बढेको उनको भनाई थियो ।

उनका अनुसार चालु आर्थिक वर्षको अन्तिम दुई महिनामा सरकारी खर्च बढ्ने भएकाले निक्षेप थप बढ्ने बताए । जेठ र असारमा थप २ खर्ब निक्षेप बढ्ने अनुमान रहेको केसीले बताए । उनले भने,– ‘अबको दुई महिनामा बैंकहरुको निक्षेप थप २ खर्ब रुपैयाँले बढ्ने अनुमान गरेका छौं, कर्जा प्रवाह भने डेढ खर्ब हुने देखिन्छ।’

पछिल्लो समय अर्थतन्त्रका सुचकहरुमा पनि सकरात्मक सुधार देखिएको उनको भनाई थियो । यद्यपि, सरकार आन्तरिक ऋण उठाउने बाध्यतामा रहेकाले बैंकिङ्ग क्षेत्रमा केही दबाब देखिन सक्ने केसीले बताए ।


प्रतिक्रिया दिनुहोस्