किन खुम्चियो नेपाल टेलिकमको नाफा र आम्दानी ?

काठमाडौं । नेपाल टेलिकमले ९ महिनामा पौने ३ अर्ब नाफा कमाएको छ । सोमबार टेलिकमले प्रकाशन गरेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।
चालु आवको साउनदेखि चैत मसान्तसम्म आइपुग्दा टेलिमकले २ अर्ब ८४ करोड २२ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ ।
यद्यपि, गत आवको तुलनामा भने नाफा आधा घटेको छ । गत आवको तेस्रो त्रैमासमा टेलिकमले ५ अर्ब ५३ करोड ७५ लाख रुपैयाँ नाफा गरेको थियो । तर, चालु आवको सोही अवधिमा आइपुग्दा भने ४८.६७ प्रतिशत घटेको हो ।
कम्पनीले गत वर्ष जीएसएम अनुमति पत्र नविकरणका लागि २० अर्ब एकमुष्ठ भुक्तानी गरेकाले नाफा प्रभावित बनेको हो ।
राष्ट्रको सञ्चार भएकोले बढी लागत तथा कम प्रतिफल प्राप्त हुने विकट तथा दुर्गम स्थानमा समेत सेवा विस्तार र गुणस्तर सुधारको कार्यमा निरन्तर लागिरहेको र लागत समेत बढिरहेकाले नाफा प्रभावित भएको जनाएको छ ।
यस्तै, सेवाको दररेट निर्धारण सम्बन्धि नीति तथा नियमहरु परिवर्तन भएको कारणले सेवाको दररेटमा कटौती भई राजश्वमा प्रतिकुल असर परेको टेलिकमले जनाएको छ ।
कम्पनीको आम्दानी पनि घटेको देखिन्छ । ९ महिनामा टेलिकमले २५ अर्ब ३१ करोड ७६ लाख रुपैयाँ आम्दानी गरेको छ । जबकि, गत आवको सोही अवधिमा पनि २५ अर्ब ४८ करोड १२ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
समिक्षा अवधिमा कम्पनीको वित्तीय आम्दानी ४६.०२ प्रतिशत घटेर २ अर्ब ८० करोड ३५ लाख रुपैयाँ कायम भएको छ । यता, कुल आम्दानी पनि ८.८९ प्रतिशत घटेर २८ अर्ब ४३ करोड १५ लाख रुपैयाँ कायम भएको छ ।
ओटीटी सेवाहरुको व्यापक प्रयोगका कारण विदेशबाट हुने आगमन कलको परिमाणमा असर परेका कारण अन्तरआवद्धता आयमा २२.३७ प्रतिशत कम भएको छ । ओटीटी सेवाले कम्पनीको समग्र भ्वाइस तथा एसएमएस सेवाको आयमा नकारात्मक प्रभाव परिरहेको टेलिकमले जनाएको छ ।
यस्तै, प्रतिस्पर्धी आइएसपिहरुले मोबिलीटि गरि वाईफाई सेवा दिईरहेकाले मोबाइलको डाटा प्रयोगमा उल्लेखनीय कमी आएको जनाएको छ ।
हाल टेलिकमको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ छ । जगेडा कोषमा भने ७२ अर्ब ७० करोड ७२ लाख रुपैयाँ राखेको छ ।
हाल कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) २१.०५ रुपैयाँ छ । प्रतिसेयर नेटवर्थ भने ५०३.९३ रुपैयाँ छ ।