‘फर्च्युन ५००’मा चिनियाँ कम्पनीको बाहुल्यता, यी हुन् संसारकै ठूला कम्पनी

काठमाडौं । कारोबार रकमका आधारमा संसारका सबैभन्दा ठूला कम्पनीको सूचीमा चिनियाँ कम्पनीको बाहुल्यता देखिएको छ । गत सालदेखि चीनले यस्तो सूचीमा अग्रस्थान ओगट्न थालेको थियो । अमेरिकाका ‘फर्च्युन म्यागेजिन’ले गत सोमबार जारी गरेको एक प्रतिवेदन अनुसार संसारका सबैभन्दा ठूला ५०० कम्पनीको सूचीमा चीनका मात्रै १४३ वटा कम्पनी समेटिएका छन् ।
नेपालको विद्युत् प्राधिकरणजस्तै चीनमा विजुली बेच्ने कम्पनी ‘स्टेट ग्रीड’ संसारको दोस्रो ठूलो कम्पनी बनेको छ । विद्युत् सेवाका हिसाबले यो पृथ्वीकै सबैभन्दा ठूलो कम्पनी भएको छ । ‘फर्च्युन ५००’ भनिने उक्त सूचीको माथिल्ला १० कम्पनीमध्ये अमेरिकाका ५, चीनका ३ र जापान एवम् जर्मनीका १–१ कम्पनी परेका छन् ।
हाम्रोमा भाटभटेनीजस्तै किराना समान बेच्ने अमेरिकी कम्पनी वालमार्टले अहिले पनि संसारको सबैभन्दा ठूलो व्यवसायिक प्रतिष्ठानको गरिमा कायम राखेको छ । वालमार्ट र स्टेटग्रीडपछि अमेरिकाकै अर्को अनलाइन सपिङ प्लेटफर्म अमेजन संसारको तेस्रो ठूलो कम्पनी बनेको छ ।
पृथ्वीका चौंथो र पाँचौं दुबै स्थान दुई चिनियाँ पेट्रोलियम कम्पनीले ओगटेका छन् । चाइना नेशनल पेट्रोलियम र सिनोपेक ग्रुपले सूचीको अग्रस्थानमा उपस्थिति जनाएका छन् । आइफोन र म्याकबूक उत्पादन गर्ने अमेरिकी कम्पनी एप्पल संसारको छैटौं ठूलो कम्पनी भएको छ ।
अमेरिकामा स्वास्थ्य बीमादेखि औषधि उत्पादनसम्म गरिरहेको ‘सीभीएस हेल्थ’ सातौं ठूलो कम्पनीको रुपमा रहेको छ । आठौं कम्पनीको रुपमा अमेरिकाकै युनाइटेड हेल्थ ग्रुप रहेको छ । त्यसपछिका स्थान भने कार उत्पादकहरुले ओगटेका छन् । जापानको टोयोटा मोटर र जर्मनीको फक्सवागनले ९ र १० औं ठूलो कम्पनी बनेका छन् ।
गत वर्ष पनि चिनियाँ कम्पनीको सहभागिता उच्च थियो । अघिल्लो साल चीनका १३३ कम्पनी यो सूचीमा समेटिएका थिए । यसरी संसारका ठूला कम्पनीको सूचीमा चीनका १० कम्पनी थपिँदा अमेरिकाको भने पोहोरभन्दा एकमात्र कम्पनी थपिएर जम्मा १२२ कम्पनी पुगेको छ । जापानका भने ५३ कम्पनी यो सूचीमा समावेश भएका छन् ।
यो वर्ष कोरोना भाइरस महामारीले संसारका ठूला कम्पनीको ब्यापार ४.८ प्रतिशत घटेको देखिएको छ । महामारीका कारण संसारभर इन्धन र सवारीसाधनको ब्यापार १० प्रतिशत कम भएको विवरणहरु अन्तरराष्ट्रिय समाचार संस्थाले उल्लेख गरेका छन् ।