७ हजार वर्षको अर्थतन्त्र बराबर लगानी गर्नेगरी दर्ता भए कम्पनी, तर वास्तविक लगानी जीडीपीको आधामात्रै ! « Arthapath.com
२१ श्रावण २०७८, बिहीबार

७ हजार वर्षको अर्थतन्त्र बराबर लगानी गर्नेगरी दर्ता भए कम्पनी, तर वास्तविक लगानी जीडीपीको आधामात्रै !



काठमाडौं । विश्व समुदायले नेपाललाई संसारको सबैभन्दा तन्नम गरीबहरुको मुलुक मान्छ । भलै यहाँ चरम भोकमरी कम होस्, पश्चिमाहरुले तयार पारेको गणितीय सूत्रले नेपाललाई हरिकंगाल नै देखाउँछ । यही कारण हामीलाई तेस्रो विश्व मान्छन् ।

तर रमाइलो कुरा के छ भने, यस्तो मुलुकमा पनि अर्थतन्त्रको ७ हजार गुणाभन्दा बढी पूँजी लगानी गर्ने गरी कम्पनी दर्ता भइसकेका रहेछन् । अर्थात् नेपालको अर्थतन्त्र गएको आर्थिक वर्षकै अवस्थामा रहने हो भने अबको ७ हजार ३३ वर्षसम्म नेपालभित्र हुने सम्पूर्ण उत्पादनको कुल मूल्य बराबर हो ।

कम्पनी रजिस्ट्रारको कार्यालयको तथ्यांक अनुसार नेपालमा हालसम्म दर्ता भएका २ लाख ६३ हजार ६०६ वटा कम्पनीले यति धेरै पूँजी जुटाउने आँकलन गरेका छन् । यी कम्पनीको मात्रै अधिकृत पूँजी जोड्ने हो भने १७ अंकको आँकडा बन्छ । अर्थात् ३० पद्म ५९ खर्ब ६० अर्ब ४९ करोड ३२ लाख ८६ हजार ७६८ रुपैयाँ ।

नेपाली अखबारहरुमा दश खर्बभन्दा बढीको आँकडालाई खासै उल्लेख गर्ने अभ्यास बनिसकेको छैन । किन की, यति ठूलो अंक हामीलाई गन्नु आवस्यक नै छैन । नेपाली गणनामा खर्बपछि नील, पद्म र शंख गरी १९ अंकसम्म गणना गरिन्छ । कतिपयले १०० शंकलाई महाशंख भनेर २० अंकको गणना गर्छन् ।

कम्पनी खोल्दा भविष्यमा उच्चतम पूँजी कतिसम्म हुनसक्छ भन्ने लक्ष्यित सीमा हो, अधिकृत पूँजी । यो रकमका आधारमा सकारलाई राजश्व त तिर्नुपर्छ, तर साँच्चै यतिधेरै पैसा जुटाउनु चाहीँ पर्दैन । व्यवसायिहरुले कारोबारको सीमा बढाउनका लागि कम चुक्ता पूँजी भए पनि अधिकृत पूँजी भने बढी राख्ने प्रबृत्तिका कारण यस्तो आँकडा निस्किएको कम्पनी रजिस्ट्रार कार्यालयका एक अधिकृत बताउँछन् ।

तर साँच्चैको लगानी भने योभन्दा ज्यादै कम छ । उदाहरणका लागि १ लाख लगानी गर्ने लक्ष्य राखेका कम्पनीले जम्मा ७ रुपैयाँ ९७ पैसामात्रै चुक्ता पूँजी जुटाउन सकेका छन् । ‘चुक्ता पूँजी’ चाहीँ कम्पनीमा शेयरधनीहरुले तिरेको वास्तविक लगानी हो । त्यस्तै, भविष्यमा लगानी थपेर कति पुर्याउने भन्ने योजना वा प्रतिबद्धताको अंक पनि लक्ष्यभन्दा ज्यादै कम छ ।

तथ्यांकका अनुसार १ लाख रुपैयाँ अधिकृत पूँजी जुटाउने लक्ष्य राखेको कम्पनीले केवल ८४५ रुपैयाँमात्रै लगानी जुटाउने प्रतिबद्धता जनाएका छन् । यसरी योजना वा प्रतिबद्धता जनाएको रकमलाई ‘जारी पूँजी’ भनिन्छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयका अनुसार देशभरका प्राइभेट लिमिटेड कम्पनीमा ६ लाख ८८ हजार र मुनाफा वितरण नगर्ने कम्पनीमा २३ हजार सदस्य शेयरधनी छन् । यसमा ठूला बैंक, बीमा र जलविद्युत्, होटेल, टेलिकमजस्ता नेप्सेमा सूचीकृत भएका पब्लिक कम्पनीका शेयरधनीको अंक जोडिएको छैन ।


प्रतिक्रिया दिनुहोस्