टाइगर ब्रुअरीबाट बाहिरिए दुर्गा प्रसाईं, ‘मार्सि’ ब्राण्ड बन्द हुने अवस्थामा « Arthapath.com
२५ श्रावण २०७८, सोमबार

टाइगर ब्रुअरीबाट बाहिरिए दुर्गा प्रसाईं, ‘मार्सि’ ब्राण्ड बन्द हुने अवस्थामा



काठमाडौं । पछिल्लो सयम आक्रमक ब्राण्डिङमा उत्रिएको टाइगर ब्रुअरी अन्ततः बन्द हुने अवस्थामा पुग्न लागेको कम्पनीसम्बद्ध स्रोतले दाबी गरेको छ । झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईँले टाइगर ब्रुअरीबाट हात झिकेपछि कम्पनी संकटमा आएको हो ।

टाइगरका संस्थापक तेजेन्द्र खड्काको मृत्यु भएसँगै प्रसाईँसँगको साझेदारी टुटेको छ । अहिले उक्त कम्पनी तेजेन्द्रका छोरा प्रेम र उनकी बहिनी ईश्वरीले हेरिरहेका छन् । बुटवलमा फ्यक्ट्रि राखेर ‘मार्सी’ ब्राण्डमा वियर उत्पादन गरिरहेको उक्त कम्पनी अहिले आर्थिक रुपमा निकै अप्ठेरोमा परिसकेको स्रोतको दाबी छ ।

कम्पनीले पछिल्लो ६ महिनादेखि कर्मचारीलाई तलब दिन नसकेको स्रोतको दाबी छ । डिलरहरुले लगातार मार्सि बेच्न छाड्दै गएका छन् । यसअघि मासिक २ लाख कार्टुन (बाक्सा) वियर बेच्ने लक्ष्य बनाएको कम्पनीले गत महिना १८ हजार कार्टुनमात्रै बेच्न सकेको कम्पनी स्रोत बताउँछ ।

आफ्नो वियर विक्न छाडेपछि कम्पनीले लगातार भाउ घटाउन थालेको छ । अहिले कम्पनीले जम्मा २६०० रुपैयाँ प्रतिकार्टुन (१२ बोत्तल)को भाउमा वियर बेच्न थालेको छ । कम्पनीकै उच्च ओहोदामा रहेका एक कर्मचारीका अनुसार प्रतिकार्टुन वियरको उत्पादन लागत नै २४०० रुपैयाँभन्दा बढी पर्छ ।

यस्तो अवस्थामा पुगेपछि कम्पनीकोे ऋण दायित्व भुक्तानीमा पनि समस्या पर्ने भएको छ । टाइगर ब्रुअरीमा नेपाल बंगलादेश बैंकले १ अर्ब २० करोड कर्जा लगानी गरेको छ । उता साझेदार दुर्गा प्रसाईँले पनि आफ्नो लगानी फिर्ता मागिरहेका छन् । ‘मैले कम्पनीमा २५ करोड लगानी गरेको छु,’ उनले भने, ‘कि मलाई पैसा फिर्ता देऊ, कि पुरै कम्पनीमा मेजर स्टेक देऊ भनेका छु’ उनले भने ।

खड्का परिवारले अहिलेसम्म पैसा फिर्ता नदिएपछि हिजोमात्रै जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गराएको प्रसाईँले बताए । उनले ‘मार्सी’ आफ्नो ब्राण्ड भएकाले उक्त ब्राण्ड पनि फिर्ता पाउनुपर्ने भन्दै मुद्दा दर्ता गरेको बताएका छन् । प्रसाईँले टाइगरबाट हटेपछि गएको २३ असारमा मार्सी ब्रुअरी नामक अर्को कम्पनी पनि दर्ता गराइसकेका छन् ।

उक्त कम्पनीले वियर, ह्वीस्कीलगायतका मदीरा उत्पादन गर्न भन्दै निजगढमा १० विगाहा जमीन खरीद गरिसकेको प्रसाईँले अर्थपथसँग बताएका छन् । उनले टाइगरबाट मार्सी ब्राण्ड खोसेर नयाँ कम्पनीमार्फत् उत्पादन गर्ने योजना अघि बढाएका छन् । उता नयाँ उद्योग राख्नुपर्ने भएपछि टाइगरसँग पैसा मागिरहेका छन् ।

टाइटरका सञ्चालक खड्का भने अहिले नगद अभावमा परेका छन् । मूल्य घटाउँदा पनि वियरले बजार लिन नसके २–३ महिनामा कम्पनी नै बन्द गर्ने अवस्थामा उनीहरु पुगेको कम्पनीमा कार्यरत एक कर्मचारीले दाबी गरे । ‘उनीहरुले यही अवस्था रहे २–३ महिनामा कम्पनी बन्द हुन्छ भनिसकेका छन्,’ ती कर्मचारीले भने, ‘साहुहरु मरेर कम्पनीको पुनरुत्थानमा लागेका छन् । तर कर्मचारी कुर्सी छोड्न चाहन्नन् ।’


प्रतिक्रिया दिनुहोस्