नागरिकको गुनासो नआउने गरी काम गर्न ऊर्जामन्त्री बस्नेतको निर्देशन « Arthapath.com
२४ आश्विन २०८०, बुधबार

नागरिकको गुनासो नआउने गरी काम गर्न ऊर्जामन्त्री बस्नेतको निर्देशन



काठमाडौँ । ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्री शक्तिबहादुर बस्नेतले ऊर्जा उद्यमी तथा सरोकारवालाले मन्त्रालय मातहतका केही निकायमा प्रक्रियागत रुपमा लामो समयसम्म काम अड्काएको भन्ने गुनासो आएको बताए ।

ऊर्जा उद्यमीले आफूलाई गम्भीर रुपमा विभागको कामप्रति गुनासो गरेकाले किन त्यस्तो भएको हो, भनी विभागको उच्च तहमा छलफल गरेर सुधार गर्न उनले आग्रह गरे । उनले कमजोरी सुधार गर्न, संरचनागत वा कानुनी समस्या भए आफूलाई भन्न समेत कर्मचारीलाई निर्देशन दिए ।

उनले विशेष गरी विद्युत् विकास विभागमा ऊर्जा उद्यमीले दुःख पाएको भनी गुनासो गरेको सन्दर्भ जोड्दै भने,– “ गुनासो नआउने गरी काम गर्नुस् । कमजोरी भएको भए सुधार गर्नुस् ।” मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारी रुपमा काम गर्न निर्देशन दिए । उनले सामान्य र प्रक्रियागतमुखी कामले मात्रै परिणाम हासिल नहुने भन्दै कार्यशैली सुधार गर्न आग्रह गरे ।

सिंहदरबारमा बुधबार आयोजित मन्त्रालय र मातहतका निकायका प्रमुख तथा प्रतिनिधि सम्मिलित बैठकलाई सम्बोधन गर्नुहुँदै मन्त्री बस्नेतले कुनै पनि निकायमा काम रोकिएको वा आम नागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्न आग्रह गरे ।

सामान्य एकाध दिनमा हुने काम पनि महिनौ लागेको भन्ने गुनासो आएको छ । किन त्यसो भएको हो । गुनासो आउन नदिन के गर्नुपर्छ । तत्काल कार्यशैली सुधार गर्नुस् । हुने काम तत्काल गर्नुस्, नहुने काम भए, किन हुन सकेन स्पष्टसँग बुझाइदिनुस ” । गरेको भन्दै तत्काल कार्यशैली सुधार्न निर्देशन दिए ।

यस्तै, ऊर्जा मन्त्री बस्नेतले प्रसारण लाइन निर्माणमा देखिएको समस्या र वेथिती सुधार गर्ने स्पष्ट उपायसहितको कार्ययोजना पेश गर्न नेपाल विद्युत् प्राधिकरणलाई निर्देशन दिए । कालीगण्डकी करिडोर प्रसारण लाइन निर्माण सम्पन्न भएकामा प्रसन्नता व्यक्त गर्दै मन्त्री बस्नेतले पथलैया– विरगञ्ज र ढल्केबर– इनरुवा खण्डको प्रसारण लाइन निर्माणमा देखिएको समस्या हिउँद अगावै समाधान गर्नुपर्ने बताए ।

विरगञ्ज र विराटनगरमा आगामी हिउँदमा समस्या आउने भएकाले तत्काल नै प्रसारण लाइन निर्माणको काम सम्पन्न गर्नुपर्ने वाध्यता रहेको उनको भनाइ छ । मन्त्री बस्नेतले देशका अन्य स्थानमा पनि प्रसारण लाइनको क्षमता बृद्धि गर्न, सवस्टेशनको नियमित मर्मत सम्भार गर्न समेत निर्देशन दिए ।

सिँचाईतर्फका आयोजनामा रहेको समस्या समाधानका लागि पनि सार्थक पहल थालीहाल्न उहाँले कर्मचारीलाई निर्देशन दिए । छलफलमा ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव गोपाल सिग्देल, सहसचिवद्वय नवीनराज सिंह, सन्दीपकुमार देव, सिँचाइ विभागका महानिर्देशक, विद्युत् विकास विभाग, नेपाल विद्युत् प्राधिकरणका पदाधिकारीको सहभागिता थियो ।


प्रतिक्रिया दिनुहोस्