ह्याम्स अस्पतालबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले नियमित सेवा दिने « Arthapath.com
२० कार्तिक २०८०, सोमबार

ह्याम्स अस्पतालबाट वरिष्ठ मुटुरोग विशेषज्ञ डा. कोइरालाले नियमित सेवा दिने



काठमाडौँ । वरिष्ठ मुटुरोग विशेषज्ञ प्रा.डा. भगवान कोइरालाले ह्याम्स अस्पतालमा पुनः सेवा दिने छन् । डा. कोइरालालाई अस्पतालका अध्यक्ष आरएस भण्डारी, कार्यकारी निर्देशक डा. ज्योतिन्द्र शर्मा लगायतले आइतबार एक कार्यक्रमका बीच अस्पतालमा स्वागत गरेका छन् ।

नेपाल मेडिकल काउन्सिलको अध्यक्ष हुनुपूर्व अस्पतालको प्रमुख सल्लाहकार रहेका डा. कोइरालाले काउन्सिलको जिम्मेवारी सम्हालेलगत्तै ह्याम्सबाट सेवा बन्द गरेका थिए । काउन्सिलमा आफ्नो ४ वर्षे कार्यकाल पूरा गरिसकेपछि डा. कोइराला पुनः ह्याम्समा फर्किएका हुन् ।

अब उनले ह्याम्समा प्रत्येक दिन २ बजेदेखि सेवा दिने छन् । कार्यक्रममा बोल्दै अध्यक्ष भण्डारीले डा. कोइरालालाई अस्पतालमा पाउँदा हर्षित हुनुका साथै कार्डियाक विभाग अझ प्रभावशाली हुने विश्वास गरेका छन् ।

डा. कोइरालालाई अस्पतालमा स्वागत गर्दै अध्यक्ष आरएस भण्डारीले ह्याम्स अस्पताल सम्पुर्ण मुटु उपचारको उत्कृष्ट केन्द्रका रुपमा सञ्चालन भएको बताए । उनले मुटुको सबै विधाका दक्ष र अनुभवी चिकित्सकहरूको टिम ह्याम्स अस्पतालमा रहेको बताए ।

डा. कोइरालाले आफू जहाँ रहे पनि विरामीको उपचार पहिलो प्राथमिकता भएको भन्दै राम्रो टिम भएको ह्याम्समा फेरि जोडिन पाउँदा खुशी लागेको बताए । गत साउन ९ गतेबाट त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानबाट उमेरका कारण अवकाश पाएका डा। कोइराला अवकासपछि अहिले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान न्याम्सको शैक्षिक कार्यक्रममा भिजिटिङ प्रोफेसरका रुपमा समेत आवद्ध छन् ।

त्यसैगरी अस्पतालले डा। रोशन राउतको नेतृत्वमा यस अस्पतालमा ४ वर्ष देखि मुटु उपचारको एउटा विधा ईलेक्टोफिजियोलोजी अन्तर्गत ‘थ्रिडी म्यापिङ’ को सेवा नेपालमा अत्याधुनिक प्रविधिसहित दिइरहेको जानकारी उनले जानकारी दिए । हाल ह्याम्स अस्पतालमा कार्डियाक सर्जन डा. कोइराला सहित कार्यकारी निर्देशक समेत रहेका वरिष्ठ कार्डियाक सर्जन डा. ज्योतिन्द्र शर्मा, वरिष्ठ मुटुरोग विशेषज्ञ डा. यादव देव भट्ट, डा. मान बहादुर केसी, डा. रोशन राउत तथा डा. दिवाकर शर्मा लगायतको टिमले मुटुरोग विभागबाट सम्पुर्ण सेवा दिइरहेका छन्।

विगत २६ वर्षदेखि स्वास्थ्य सेवा प्रवाह गर्दै आईरहेको यस अस्पतालमा प्रो.डा. अर्जुन कार्की तथा डा. सबिन कोइरालाको नेतृत्वमा अत्याधुनिक आइसीयू सेवा संचालनमा रहेको छ ।


प्रतिक्रिया दिनुहोस्