२ अर्ब लगानीमा आइएमई ग्रुपले खोल्यो कागज उद्योग, प्रधानमन्त्री ओलीले गरे उद्घाटन

काठमाडौंँ । आइएमई ग्रुपको लगानीमा महोत्तरी जिल्लाको गौशाला नगरपालिका वडा नं. १, रामनगरमा स्थापना भएको नेपाल पल्प एण्ड पेपर इन्डष्ट्रिज सञ्चालनमा आएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार उद्योग परिसरमा रहेको ताम्रपत्र अनावरण गर्दै उद्योगको औपचारिक उद्घाटन गरेका छन्।
उद्घाटन लगत्तै प्रधानमन्त्री ओलीले कागज उत्पादन प्रकृया र उद्योगमै रहेको वातावरण मैत्री क्यालसियम कार्वोनेट उत्पादनको समेत अवलोकन गरे ।
२ अर्ब रुपैयाँ लगानीमा तयार भएको भनिएको उक्त उद्योगले अब दैनिक ७५ मेट्रिक टन कागज उत्पादन गर्ने बताइएको छ । यो कागज लेखन तथा छपाई कार्यका लागि उपयुक्त र गुणस्तरीय रहेको प्रबद्र्धक आईएमई ग्रुपले जनाएको छ ।
उद्योगले पहिलो चरणमा फोटोकपी पेपर र कापी किताबका लागि प्रयोग हुने कागज उत्पादन सुरु गरेको छ।
शैक्षिक, प्रशासनिक तथा अन्य धेरै क्षेत्रमा उच्च माग रहेको फोटोकपी पेपर र अन्य कागजको उत्पादनले आन्तरिक बजारको माग सम्बोधन गर्नेछ । विद्यालयको पाठ्यपुस्तक छपाई गर्दै आएको जनक शिक्षा सामग्री केन्द्र लगायतलाई समेत स्वदेशी उत्पादन प्रयोगका लागि ढोका खुल्ने कम्पनीको दाबी छ ।
उद्योग उद्घाटन समारोहलाई सम्बोधन गर्दै आइएमई ग्रूपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल पल्प एण्ड पेपर इण्डस्ट्रिजको सञ्चालन आइएमई ग्रुपको उत्पादनमूलक क्षेत्रमा औपचारिक प्रवेश मात्र होइन, यो नेपालको औद्योगिक यात्रामै नव जागरणको रुपमा लिएको बताए ।
उद्योगहरु बन्द हुने, लगानीकर्ताहरु पलायन हुने र अरबका खाडीमा ५० डिग्रीको तातोमा काम गर्न हाम्रा युवाहरु जानु पर्ने बाध्यतालाई कम गर्न र आयात प्रतिस्थापन गर्ने यस उद्योगले महत्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
यस उद्योगले प्रत्येक्षरुपमा ३०० हाराहारी रोजगारी सिर्जना गर्ने र त्यसमध्ये आधा रोजगारी स्थानीय महिलाले पाउने ढकालले बताएका छन् । अध्यक्ष ढकालले यो प्रयासलाई स्वदेशी उद्योग उकास्ने र प्रमुख क्षेत्रमा आत्मनिर्भरता हासिल गर्ने सरकार एवम् आम नेपाली जनताको सोच तथा सपनासँगको हातेमालोको रुपमा लिन पनि आग्रह गरे ।
ढकालले विगत कैयौं वर्षदेखि नेपाल कागज तथा कागजजन्य उत्पादनका लागि आयातमा निर्भर रहँदै आएकोमा अब त्यो अवस्था नरहने बताए ।
‘मुलुकै ठूलो उद्योगमध्येको एक भृकुटी कागज कारखाना बन्द भएसँगै हामीसँग औद्योगिकस्तरमा कागजको आन्तरिक उत्पादन छैन’, उनले भने, ‘साना तथा हाते कागजउद्योगहरुले भने हस्तकला तथा नेपाली कागजको आपूर्तिमा योगदान गरे पनि ती पर्याप्त छैनन् ।’