महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ को उपाधि प्राइम कमर्सियल बैंकलाई « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ को उपाधि प्राइम कमर्सियल बैंकलाई



काठमाडौं । महालक्ष्मी विकास बैंकको ३२ औँ वार्षिकोत्सवको अवसरमा आयोजित ‘महालक्ष्मी कर्पोरेट क्रिकेट लिग २०२६ (संस्करण ५) सफलतापूर्वक सम्पन्न भएको छ। चार दिनसम्म सञ्चालन भएको प्रतियोगिताको उपाधि प्राइम कमर्सियल बैंक लिमिटेडले जितेको छ भने माछापुच्छ्रे बैंक लिमिटेड उपविजेता बनेको छ।

जेठ १७ गतेदेखि २० गतेसम्म काठमाडौंमा आयोजित प्रतियोगितामा ९ वाणिज्य बैंक, ७ विकास बैंक, ३ वित्त कम्पनी, १ लघुवित्त संस्था, ३ बीमा कम्पनी र १ मर्चेन्ट बैंकसहित कुल २४ टोलीको सहभागिता रहेको थियो। प्रतियोगिताका विजेता तथा उपविजेतालाई पुरस्कार वितरण कार्यक्रम शुक्रबार सम्पन्न गरिएको बैंकले जनाएको छ।

पूर्व राष्ट्रिय क्रिकेट खेलाडी तथा नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्लको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा विजेता प्राइम कमर्सियल बैंकलाई ट्रफी प्रदान गरिएको थियो। साथै उपविजेता माछापुच्छ्रे बैंकलाई पनि ट्रफी हस्तान्तरण गरिएको थियो।

प्रतियोगितामा लुम्बिनी विकास बैंकका लक्ष्मण प्रधान उत्कृष्ट फिल्डर, सानिमा जीआईसी इन्स्योरेन्सका अनिल भुजेल उत्कृष्ट विकेटकिपर, नेपाल बैंकका मोहनकुमार श्रेष्ठ उत्कृष्ट बलर तथा माछापुच्छ्रे बैंकका स्रिजन सुवेदी उत्कृष्ट ब्याट्सम्यान घोषित भए। त्यस्तै प्राइम कमर्सियल बैंकका कृतार्थ शाक्य प्रतियोगिताको उत्कृष्ट खेलाडी चुनिए। फेयर प्ले अवार्ड सानिमा जीआईसी इन्स्योरेन्सले प्राप्त गरेको छ।

महालक्ष्मी विकास बैंकले प्रतियोगिता सफल बनाउन सहयोग गर्ने सम्पूर्ण प्रायोजक, सहभागी टोली तथा प्रत्यक्ष अप्रत्यक्ष रूपमा सहयोग पुर्‍याउने व्यक्ति एवं संस्थाप्रति आभार व्यक्त गरेको छ।


प्रतिक्रिया दिनुहोस्