मोहनकुमार डाँगीकाे अध्यक्षतामा इपानको नयाँ कार्यसमिति सर्वसम्मत चयन, कोषाध्यक्षमा मात्रै मतदान « Arthapath.com
३० जेष्ठ २०८३, शनिबार

मोहनकुमार डाँगीकाे अध्यक्षतामा इपानको नयाँ कार्यसमिति सर्वसम्मत चयन, कोषाध्यक्षमा मात्रै मतदान



काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) ले आगामी तीन वर्षका लागि नयाँ नेतृत्व पाएको छ।

संस्थाको प्रचलित विधानलाई पछ्याउँदै अध्यक्षको जिम्मेवारी मोहनकुमार डाँगीले स्वतः सम्हालेका छन् भने बाँकि अधिकांश पदहरू आपसी समझदारी र सहमतिका आधारमा टुङ्ग्याउँदै नयाँ कार्यसमिति गठन गरेको हो।

संस्थाको २४औँ वार्षिक साधारण सभा तथा आठौँ अधिवेशनले आपसी समझदारी र सहमतिका आधारमा टुङ्ग्याउँदै नयाँ कार्यसमिति बनाएकाे हो।

आन्तरिक विमर्श र आपसी मिलापपछि वरिष्ठ उपाध्यक्षको पद उत्तम भ्लोन लामाको पोल्टामा परेको छ। यस पदका प्रत्यासी बलराम खतिवडाले लामालाई समर्थन गर्दै आफ्नो दाबेदारी त्यागेपछि सहमति कायम भएको थियो।

उपाध्यक्ष पदका लागि पनि दाबेदारहरूबीच सहमति बनेको छ। भरतबहादुर खत्री र भरतप्रसाद नेपालले प्रतिस्पर्धाबाट नाम फिर्ता लिएपछि उत्तरकुमार श्रेष्ठ, सुसन कर्माचार्य, हिमप्रसाद पाठक, नरेन्द्र बल्लभ पन्त र विक्रम विष्ट निर्विरोध चुनिए।

यस्तै हासचिव पदमा प्रकाशचन्द्र दुलालले उम्मेदवारी त्यागेपछि टेकनाथ (टीएन) आचार्य र उपमहासचिवमा कविता पोखरेल सर्वसम्मत चयन भए भने सचिव पदमा कुवेरमणि नेपाल, अभिज्ञा मल्ल, सुमनकुमारी जोशी, ईशा श्रेष्ठ र विजयमोहन भट्टराई सर्वसम्मत छानिएका छन् भने कृष्णप्रसाद घिमिरे र दीपक पौडेललाई पछि मनोनयन गर्ने गरी तय गरिएको छ।

महिला सदस्यतर्फ सिर्जना खड्काले नाम फिर्ता लिएपछि ज्योति गैरे, प्रतिमा ज्ञवाली र संगिता धमला निर्विरोध भए। अन्य सदस्यहरूमा जगतबहादुर पोखरेल, अनुप आचार्य, कदम केसी, वर्णन लामिछाने, नारायण कँडेल, मिलन खड्का र जगदीश शिवाकोटी छानिए।

उम्मेदवारी फिर्ता लिएका सोमनाथ कँडेल, इन्दिरा पन्त र बाबुराम थापालाई नयाँ प्रस्तावित विधानबमोजिम कार्यसमितिमा समेटिने निर्णय भएको छ।

सबै पद सहजै टुङ्गिए पनि कोषाध्यक्ष पदका लागि भने शंकर बस्याल र मिथुन पौडेलबीच चुनावी प्रतिस्पर्धा नै भयो। अन्तिम मतपरिणाम अनुसार २६७ मत ल्याएर बस्याल विजयी बन्दा पौडेलले केवल ८२ मत मात्र प्राप्त गरे।

२७ सदस्यीय यस कार्यसमितिका बाँकी रहेका स्थानहरू आगामी दिनमा मनोनयन मार्फत पूर्ति गरिने संस्थाले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्