आइक्यानद्वारा आयोजित सिएफओ सम्मेलन २०२६ सम्पन्न
काठमाडौं । आइक्यानले आयोजना गरेको सिएफओ सम्मेलन २०२६ सम्पन्न भएको छ।
‘वित्तीय नेतृत्वको सीमाभन्दा अघि, भविष्यको निर्माण’ भन्ने मूल विषयवस्तुमा आधारित सम्मेलनमा विभिन्न क्षेत्रका प्रमुख वित्त अधिकृत (सिएफओ), उद्योगी–व्यवसायी, नीतिनिर्माता, वित्त तथा व्यवस्थापन विज्ञ, चार्टर्ड एकाउन्टेन्ट तथा पेशागत प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
सम्मेलनमा बदलिँदो आर्थिक परिवेशमा वित्तीय नेतृत्वको भूमिका, संस्थागत सुशासन, डिजिटल रूपान्तरण, जोखिम व्यवस्थापन, नवप्रवर्तन तथा दिगो व्यावसायिक विकासका विषयमा छलफल गरिएको थियो। सहभागी वक्ताहरूले भविष्यका चुनौती सामना गर्न तथ्यमा आधारित निर्णय, प्रविधिको प्रभावकारी प्रयोग तथा अन्तर्राष्ट्रिय अभ्याससँग तालमेल आवश्यक रहेकोमा जोड दिएका थिए।
कार्यक्रममा बोल्दै आइक्यानका अध्यक्ष सीए निलबहादुर सारु मगरले नेपालको आर्थिक समृद्धिमा प्रमुख वित्त अधिकृतका रूपमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरूको भूमिका महत्वपूर्ण रहेको बताए। विभिन्न संस्था तथा संगठनमा कार्यरत चार्टर्ड एकाउन्टेन्टहरूले उल्लेखनीय योगदान पुर्याएको उल्लेख गर्दै उनले उनीहरूको क्षमता अभिवृद्धिका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न आइक्यान प्रतिबद्ध रहेको बताए।
त्यस्तै, सीए रत्नराज बज्राचार्यले आफ्नो व्यावसायिक अनुभव साझा गर्दै बदलिँदो परिवेशअनुसार चार्टर्ड एकाउन्टेन्टहरूले निरन्तर आफ्नो ज्ञान, सीप र क्षमता अभिवृद्धि गर्नुपर्ने आवश्यकता औंल्याए।
कार्यक्रममा Nabil Bank का प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले पछिल्ला वर्षहरूमा प्रमुख वित्त अधिकृतको भूमिका उल्लेखनीय रूपमा परिवर्तन भएकाले उनीहरू प्राविधिक रूपमा दक्ष हुनुपर्ने बताए। उनले प्रमुख वित्त अधिकृतहरूले लेखा व्यवस्थापनमा मात्र सीमित नभई संस्थाको दीर्घकालीन रणनीति, विकास र प्रगतिमा पनि नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने धारणा राखे।
सम्मेलनअन्तर्गत ‘वित्तीय पूर्वाधार निर्माणः प्रमुख वित्त अधिकृतहरू परिवर्तनको मोडमा, अन्तरहरूलाई जोड्दै’ विषयमा प्यानल छलफलसमेत आयोजना गरिएको थियो।













