जेनजी आन्दोलनको धक्कापछि चन्द्रागिरि हिल्सको बलियाे कमब्याक: ४५ करोड ६० लाख आम्दानीसँगै हकप्रदको तयारी « Arthapath.com
१७ असार २०८३, बुधबार

जेनजी आन्दोलनको धक्कापछि चन्द्रागिरि हिल्सको बलियाे कमब्याक: ४५ करोड ६० लाख आम्दानीसँगै हकप्रदको तयारी



काठमाडौँ । चालु आर्थिक वर्ष २०२६ को पहिलो ९ महिना (मध्य अप्रिल २०२६ सम्म) मा प्रमुख पर्यटकीय गन्तव्य चन्द्रागिरि हिल्स लिमिटेडले ४५ करोड ६० लाख रुपैयाँ सञ्चालन आम्दानी गरेको छ।

गत वर्षको सोही अवधिको तुलनामा आम्दानी केही घटे पनि कम्पनीले सेवा पुनः सञ्चालनसँगै क्रमिक सुधारको बाटो समातेको देखिएको छ।

क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालको प्रतिवेदनअनुसार गत भदौको जेनजी आन्दोलन र विरोध प्रदर्शनका क्रममा आयोजनामा क्षति पुगेपछि केबलकार सेवा करिब तीन महिना बन्द भएको थियो। त्यसको प्रभाव पर्यटक आगमन र होटलको कोठा भरिने दरमा परेकाले नौ महिनाको आम्दानी प्रभावित भएको प्रतिवेदनमा उल्लेख छ।

तर, २०८२ मंसिर १६ गतेदेखि केबलकार सेवा पुनः सञ्चालनमा आएसँगै कम्पनीले पुनरुत्थानको गति समातेको छ। अन्तिम त्रैमासिकमा आम्दानीमा क्रमिक सुधार हुने अपेक्षा गरिएको छ।

विगतका वर्षहरूको तथ्यांकले पनि चन्द्रागिरि हिल्सको आम्दानीमा निरन्तर विस्तार भएको देखाउँछ। आर्थिक वर्ष २०२२ मा ६६ करोड ९० लाख रुपैयाँ रहेको सञ्चालन आम्दानी कोभिड–१९ को प्रभाव कम भएसँगै आर्थिक वर्ष २०२३ मा बढेर ९१ करोड ३० लाख रुपैयाँ पुगेको थियो।

त्यसपछि आर्थिक वर्ष २०२४ मा कम्पनीले पहिलो पटक १ अर्ब रुपैयाँभन्दा बढी सञ्चालन आम्दानी गर्दै अहिलेसम्मकै उच्च उपलब्धि हासिल गरेको थियो। आर्थिक वर्ष २०२५ मा सञ्चालन आम्दानी ९० करोड २० लाख रुपैयाँमा सीमित रहे पनि कम्पनीले उल्लेखनीय व्यावसायिक आकार कायम राख्न सफल भएको थियो।

यस अवधिमा कम्पनी ९० लाख रुपैयाँ खुद नोक्सानीमा रहे पनि अघिल्ला वर्षहरूमा नाफाको बलियो आधार बनाएको देखिन्छ। आर्थिक वर्ष २०२२ मा १ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीले आर्थिक वर्ष २०२३ मा ११ करोड २० लाख रुपैयाँ र आर्थिक वर्ष २०२४ मा २० करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। आर्थिक वर्ष २०२५ मा पनि कम्पनीले १८ करोड ७० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यसैबीच, इक्रा नेपालले चन्द्रागिरि हिल्सको संस्थागत साख मूल्याङ्कन ‘इक्राएनपी आईआर डबल बी प्लस’ मा यथावत राखेको छ। कम्पनीले २ अर्ब ४ करोड ४० लाख रुपैयाँ बराबरको दीर्घकालीन बैंक सुविधाका लागि यो मूल्याङ्कन गराएको हो।

चालु आर्थिक वर्षको नौ महिनामा ब्याज तिर्ने क्षमता १.८ गुणामा सीमित भए पनि सावाँ र ब्याज दुवै भुक्तानी गर्ने क्षमता देखाउने सूचक १.३ गुणामै कायम रहेको छ। बैंकहरूसँग कर्जा पुनर्तालिकीकरण गरिएकाले कम्पनीमाथि तत्काल ठूलो भुक्तानी दबाब नरहेको प्रतिवेदनमा उल्लेख छ।

कम्पनीको पूँजीगत संरचना पनि सन्तोषजनक रहेको देखिएको छ। कुल ऋण र खुद सम्पत्तिको अनुपात १.२ गुणामा कायम रहँदा सञ्चालनमा आएको अस्थायी अवरोधका कारण केही वित्तीय सूचकमा दबाब देखिए पनि सेवा पुनः सञ्चालनसँगै सुधारको सम्भावना बलियो रहेको विश्लेषण गरिएको छ।

यस्तै, कम्पनीले वित्तीय आधार अझ मजबुत बनाउन शतप्रतिशत (१ः१) हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव अघि बढाएको छ। इक्रा नेपालको विश्लेषणअनुसार यसबाट ऋणको भार घट्ने, वित्तीय लचकता बढ्ने र आगामी दिनमा कम्पनीको समग्र वित्तीय अवस्था थप सुदृढ हुने अपेक्षा गरिएको छ।


प्रतिक्रिया दिनुहोस्