अस्ट्रेलियाले ३ प्रतिशत बढायाे भिसा शुल्क
काठमाडौं। अस्ट्रेलिया सरकारले सन् २०२६ जुलाई १ (साउन १) देखि विभिन्न भिसा आवेदन शुल्क तथा अध्यागमनसम्बन्धी सेवाका शुल्क बढाएको छ। नयाँ शुल्क सोही मितिदेखि दर्ता हुने सबै नयाँ आवेदनमा लागू भएको छ।
वार्षिक शुल्क समायोजनअन्तर्गत अधिकांश भिसा आवेदन शुल्क करिब तीन प्रतिशतले वृद्धि गरिएको छ। यससँगै विद्यार्थी, दक्ष कामदार, परिवार तथा रोजगारदाता–प्रायोजित भिसाका लागि आवेदन दिने व्यक्तिले अघिल्लो वर्षको तुलनामा बढी शुल्क तिर्नुपर्ने भएको छ।
त्यसैगरी, रोजगारदाता–प्रायोजित दक्ष कामदार भिसाका लागि आवश्यक न्यूनतम वार्षिक आम्दानीको सीमा पनि बढाइएको छ। नयाँ व्यवस्थाअनुसार मुख्य सीप आय सीमा ७६ हजार ५१५ अष्ट्रेलियन डलरबाट बढाएर ७९ हजार ४९९ अष्ट्रेलियन डलर कायम गरिएको छ।
त्यस्तै विशेषज्ञ सीप आय सीमा १ लाख ४१ हजार २१० अष्ट्रेलियन डलरबाट बढाएर १ लाख ४६ हजार ७१७ अष्ट्रेलियन डलर पुर्याइएको छ। यो व्यवस्था रोजगारदाता–प्रायोजित उपवर्ग ४८२ र १८६ भिसामा लागू हुनेछ।
अध्यागमन विज्ञहरूका अनुसार नयाँ शुल्क र आय सीमाको वृद्धिले अस्ट्रेलियामा अध्ययन, रोजगारी वा स्थायी बसोबासको योजना बनाइरहेका विदेशी नागरिकको खर्च बढाउनेछ। त्यसैले आवेदन प्रक्रिया अन्तिम चरणमा पुगेकाहरूलाई शुल्क वृद्धि लागू हुनुअघि नै आवेदन दर्ता गर्न सुझाव दिइएको छ।
अस्ट्रेलियाको गृह मामिला विभागले प्रशासनिक खर्च, मुद्रास्फीति तथा राष्ट्रिय ज्याला वृद्धिलाई आधार मानेर हरेक वर्ष भिसा आवेदन शुल्क र आम्दानीसम्बन्धी सीमा पुनरावलोकन गर्ने गरेको जनाएको छ।













