युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर, १४३ स्थानीय लाभान्वित « Arthapath.com
३० असार २०८३, मंगलबार

युनाइटेड सिमेन्टद्वारा धुनीबेँसीमा निःशुल्क स्वास्थ्य शिविर, १४३ स्थानीय लाभान्वित



काठमाडौं । संस्थागत सामाजिक उत्तरदायित्व (सीएसआर) अन्तर्गत युनाइटेड सिमेन्ट्सले धुनीबेँसी नगरपालिका–९ का स्थानीय बासिन्दाका लागि निःशुल्क बृहत् स्वास्थ्य शिविर सञ्चालन गरेको छ।

ललितपुरस्थित मेघा अस्पतालको सात सदस्यीय चिकित्सक टोलीले सञ्चालन गरेको शिविरमा जनरल फिजिसियन डा. जमाल अशरफ, बालरोग विशेषज्ञ डा. दीपा खनाल तथा दन्तरोग विशेषज्ञ डा. सङ्गीता कुमारीले स्वास्थ्य सेवा प्रदान गरेका थिए। अस्पतालकी संयोजक शिल्पा पोखरेलको नेतृत्वमा रहेको टोलीले स्वास्थ्य परीक्षण तथा परामर्श दिएको हो।

शिविरबाट ७ वर्षदेखि ८५ वर्ष उमेर समूहका १४३ जना लाभान्वित भएका छन्। अधिकांश सेवाग्राही धुनीबेँसी नगरपालिका–९ का स्थानीय बासिन्दा रहेका थिए भने पुरुषको तुलनामा महिलाको सहभागिता बढी रहेको कम्पनीले जनाएको छ।

स्वास्थ्य परीक्षणसँगै आवश्यक औषधिसमेत निःशुल्क वितरण गरिएको थियो। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उपस्थिति रहेको थियो। सहभागीहरूलाई फ्रुटी जुस र बिस्कुट पनि वितरण गरिएको थियो।

कार्यक्रमको समन्वय युनाइटेड सिमेन्ट्सका प्रशासन प्रमुख धनपति सापकोटाले गरेका थिए भने कम्पनीका महाप्रबन्धक हरिकुमार उप्रेती प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए।

चिकित्सकहरूका अनुसार शिविरमा आएका अधिकांश बिरामीमा ढाड, कम्मर तथा घुँडासम्बन्धी समस्या देखिएको थियो। साथै, स्थानीय बासिन्दामा नियमित स्वास्थ्य परीक्षण गर्ने बानी कम रहेको पनि चिकित्सक टोलीले औँल्याएको छ। सहभागीहरूले यस्ता स्वास्थ्य शिविर नियमित रूपमा सञ्चालन गर्न सके समुदायको स्वास्थ्य सेवामा पहुँच अझ प्रभावकारी हुने धारणा व्यक्त गरेका थिए।

कार्यक्रमको समापनमा स्थानीय बासिन्दाले समुदायको स्वास्थ्यप्रति चासो देखाउँदै निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेकोमा युनाइटेड सिमेन्ट्सप्रति आभार व्यक्त गरेका थिए। महाप्रबन्धक उप्रेतीले पनि कार्यक्रम सफल बनाउन सहयोग गर्ने स्थानीय सरकार, विद्यालय तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद व्यक्त गरेका छन्।


प्रतिक्रिया दिनुहोस्