बीमा दाबी भुक्तानीमा समस्या भए प्राधिकरणमा उजुरी दिन आह्वान
काठमाडौं । नेपाल बीमा प्राधिकरणले बीमा दाबी भुक्तानीका क्रममा कुनै समस्या, अनियमितता वा कानुनविपरीत कार्य भएको भए प्रमाणसहित उजुरी दिन सबै सरोकारवालालाई आह्वान गरेको छ।
प्राधिकरणले असार २९ गते जारी गरेको सूचनाअनुसार बीमाको दायित्व निर्धारण तथा दाबी भुक्तानीका क्रममा केही बीमक, बीमकका कर्मचारी तथा बीमा सर्भेयरले बीमा सम्बन्धी प्रचलित कानुन, नियामकीय व्यवस्था र व्यावसायिक आचारसंहिताविपरीत कार्य गरेको भन्ने गुनासो प्राप्त भइरहेकाले उजुरी आह्वान गरिएको हो।
सूचनामा कुनै बीमक, बीमकका कर्मचारी, बीमा सर्भेयर वा अन्य कुनै पक्षले दुःख दिएको, गलत विवरण तयार गरेको, तथ्य लुकाएको वा तोडमोड गरेको, पक्षपातपूर्ण मूल्याङ्कन गरेको, अनुचित लाभ लिएको वा अन्य कुनै कानुनविपरीत कार्य गरेको पाइएमा त्यस्ता व्यक्तिविरुद्ध बीमा ऐन, २०७९ बमोजिम कारबाहीका लागि प्रमाणसहित उजुरी पेश गर्न आग्रह गरिएको छ।
उजुरी दर्ता गर्दा उजुरीकर्ताको नाम, ठेगाना, सम्पर्क नम्बर, सम्बन्धित बीमा कम्पनीको नाम, समस्याको विवरण, बीमा दाबी नम्बर, बीमालेख नम्बर तथा घटनालाई पुष्टि गर्ने कागजात, फोटो, भिडियो वा अन्य प्रमाण संलग्न गर्नुपर्ने प्राधिकरणले जनाएको छ।
प्राधिकरणका अनुसार उजुरी प्रत्यक्ष रूपमा दर्ता शाखामा बुझाउन सकिनेछ। साथै इमेलमार्फत वा हुलाकमार्फत नेपाल बीमा प्राधिकरण, केन्द्रीय कार्यालय, ललितपुर महानगरपालिका–१०, कुपण्डोल, ललितपुरमा समेत उजुरी पठाउन सकिने व्यवस्था गरिएको छ।
प्राधिकरणले प्राप्त हुने उजुरी तथा प्रमाणको गोपनीयता कायम राखी बीमा ऐन, २०७९ तथा अन्य प्रचलित कानुनबमोजिम अनुसन्धान गरी आवश्यक कारबाही प्रक्रिया अघि बढाइने जनाएको छ।













