मुलुककै पहिलो बीमा कम्पनीले चार वर्षमै पायो पुनर्जीवन « Arthapath.com
८ श्रावण २०७८, शुक्रबार

मुलुककै पहिलो बीमा कम्पनीले चार वर्षमै पायो पुनर्जीवन



काठमाडौं । गएको असार मसान्तसम्म नेपालका निर्जीवन बीमा कम्पनीहरुको व्यापार अनुसार १३ औं नम्बरमा पर्छ, नेपाल इन्स्योरेन्स । जम्मा २० वटा कम्पनी भएको बजारमा १३ औं बरियतामा पर्नु सामान्य अवस्थामा कुनै ठूलो उपलब्धी होइन । तर यो कम्पनीका लागि भने पछिल्लो परिणाम निकै उत्साहजनक हो ।

यहाँ उक्त कम्पनीको प्रसंग कोट्याउनुको पछाडी एक महत्वपूर्ण इतिहास छ । नेपालमा प्रजातन्त्र आउनुअघि नै २००४ सालमा नेपाल बैंकको ५१ प्रतिशत लगानीमा ‘नेपाल माल चलानी तथा बीमा कम्पनी’ स्थापना भएको थियो । यसलाई २०१६ सालमा ‘नेपाल इन्स्योरेन्स एण्ड ट्रान्सपोर्ट कम्पनी’मा रुपान्तरण गरियो । पछि ६ पुस २०५१ मा कम्पनी ऐनअन्तरगत लगियो भने १७ जेठ २०५३ मा ‘बीमा ऐन २०४९’ को छाताभित्र छिराइएको थियो ।

यसरी निकै पछिमात्र बीमा ऐनको क्षेत्राधिकारमा प्रवेश पाए पनि यो कम्पनी नेपालमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने पहिलो कम्पनी हो । हाल नेपाल इन्स्योरेन्सको रुपमा सञ्चालित यो कम्पनीले पछिल्ला चार वर्षमा अभूतपूर्व छलाङ मारेको छ ।

चार वर्षअघि २९ करोड रुपैयाँ चुक्ता पूँजिमा चलिरहेको यो कम्पनी अहिले १ अर्ब २४ करोड पूँजीमा सञ्चालित छ । यही बीचमा ऋणात्मक नेटवर्थलाई उल्ट्याएर कम्पनीले १ अर्ब रुपैयाँ बराबरको नेटवर्थ हासिल गरिसकेको छ । पछिल्लो विवरण अनुसार गत वर्षमात्रै ३५ करोड रुपैयाँभन्दा बढी खुद नाफा आर्जन गर्ने अनुमान कम्पनीको छ ।

पूँजी आधारमात्र होइन, कम्पनीको व्यवसायिक सञ्जाल पनि यसबीचमा त्यसरी नै बढेको छ । यो चार वर्षमा १९ वटा शाखाबाट विस्तार भएर ५० शाखा पुगेका छन् । कम्पनीको लगानी ३ अर्ब नाघेको छ । विश्वका उत्कृष्ठ पुनर्बीमा कम्पनी र पुनर्बीमा ब्रोकर कम्पनीसँग जोडिएका छन् । कर्मचारीको संख्या १३९ बाट बढेर २७५ पुगेको छ ।

यो स्तरमा छलाङ मार्ने अभियानको नेतृत्व गरेका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहलाई सञ्चालक समितिले हिजोमात्रै विदाइ गरेको छ । उनको ४ वर्षे कार्यकाल भोलि शनिबार सकिँदै छ । बाणिज्य शास्त्रमा स्नातकोत्तर र चार्टर्ड एकाउण्टेण्ट शाह विकासशील देशहरुको बीमक तथा पुनर्बीमक संघको अध्यक्ष समेत छन्, जसको मुख्यालय फिलिपिन्सको मनिलामा छ ।

३५ वर्षे व्यवसायिक जीवनमा उनी यसअघि एनएलजी इन्स्योरेन्सको दुई कार्यकाल प्रमुख कार्यकारी अधिकृत भइसकेका छन् । त्यस्तै नेपाल बीमक संघलाई संस्थागत गर्नमा पनि उनको उत्तिकै भूमिका छ । यसअघि संघको दुई कार्यकाल अध्यक्ष रहिसकेका उनी बीमासम्बन्धी अन्तरराष्ट्रिय संघसंस्थालाई परामर्श सेवा समेत दिँदै आएका छन् ।

शाहको यो पृष्ठभूमिबारे चर्चा गर्नुको एउटै कारण हो, उनले निकै खराब अवस्थामा रुमल्लिएको मुलुककै पुरानो बीमा कम्पनीलाई पुनरर्जीवन दिनमा पुर्याएको योगदान । ‘देशकै एक महत्वपूर्ण इतिहास बोकेको कम्पनीबाट बाहिरिँदै गर्दा मलाई गर्व छ,’ उनी भन्छन्, ‘यो कम्पनी अब लयमा आएको छ । व्यवसायिक र प्रतिस्पर्धी भएको छ ।’


प्रतिक्रिया दिनुहोस्