सत्तारुढ दलभित्रको किचलोले राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्ति अन्यौलमा

काठमाडौँ । राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदका लागि आवेदकमध्येबाट ३ जनाको नाम छनोट भएको छ । कम्पनीको सीईओ पदका लागि आवेदन दिएका ११ जना आवेदकमध्येबाट सुरेन्द्र थापा, रामबहादुर खड्का र शेखर बरालको नाम छनोट भएको हो । आवेदक मध्येबाट ३ जनाको नाम छनोट भए पनि सीईओमा कसको पल्लाभारी हुन्छ हेर्न बाँकी छ ।
कम्पनीले सीईओको लागि गत मङ्सिर १२ गते सूचना प्रकाशन गरेको थियो । लामो समयदेखि रिक्त रहेको सीईओ पदका लागि मङ्सिर २६ गतेसम्म समय दिएको थियो । उक्त पदका लागि विभिन्न ११ जनाले आवेदन दिएका थिए । सरकारले अर्थ मन्त्रालयका उपसचिव अर्जुन भण्डारीको संयोजकत्वमा छनोट समिति बनाएको थियो । भण्डारी बीमा कम्पनीमा सरकारको तर्फबाट सञ्चालक समेत रहेका छन् ।
छनोटमा परेका सुरेन्द्र थापा राष्ट्रिय बीमा संस्थानको सहायक प्रशासकमा साँढे २ वर्ष काम गरेका व्यक्ति हुन् । थापा पछिल्लो समय अजोड इन्स्योरेन्समा डेपुटी सीईओबाट केही महिना अघिमात्रै बाहिरिएका हुन् । त्यस्तै खड्का पनि ५ वर्षअघि बीमा संस्थाको सहायक प्रशासक भैसकेका व्यक्ति हुन् । खड्का र थापा माओवादी निकट हुन् । अर्को बीमा क्षेत्रमा लामो समय काम गरेका शेखर बराल पनि प्रतिस्प्रर्धामा छन् । लुम्बिनी जनरल इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्समा सीईओ भैसकेका व्यक्ति हुन् ।
सत्तारुढ दलभित्रको किचलोले राष्ट्रिय बीमा कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) नियुक्ति अन्योलमा परेको छ । सत्तारुढ नेपाली कांग्रेसले आफ्नो मान्छे राष्ट्रिय बीमा कम्पनीमा नियुक्ति गर्नु पर्ने अडानमा छ भने नेकपा माओवादीले आफू नजिकको व्यक्तिलाई सीईओ बनाउनु पर्ने जिकिर गर्दै आएको छ । सत्तापक्ष दलबीचको यही किचलोका कारण राष्ट्रिय बीमा कम्पनीको सीईओ नियुक्तिमा ढिलाइ हुँदै गएको हो ।
राष्ट्रिय बीमा कम्पनीले रिक्त रहेको सीईओको पदपूर्तिका लागि मंसिर १२ गते एक सार्वजनिक सूचना निष्काशन गरेको थियो । त्यही आह्वानका आधारमा ११ जना बरिस्मा साउद आचार्य, सुरेन्द्र थापा, बुद्ध काजी श्रेष्ठ, सुकल्याण पराजुली, तोयराज अधिकारी, शेर जङ्ग कार्की, रामबहादुर खड्का, कृष्णबहादुर कार्की, रमेश लम्साल, मनोजसिंह भण्डारी र शेखर बरालले सीईओ पदका लागि आवेदन दिएका थिए ।
तर, राष्ट्रिय बीमा कम्पनीको पदपूर्ति उपसमितिले सीईओ हुन अयोग्य भन्दै पहिलो चरणमा नै ६ जनालाई आउट’गरेको थियो । सीईओका लागि निवेदन दिएका ११ जना मध्ये ६ जनालाई आउट गर्दै ५ जनामात्रै पहिलो चरणमा छानिएका थिए । तोयराज अधिकारी, बुद्धकाजी श्रेष्ठ, रामबहादुर खड्का, सुरेन्द्र थापा र शेखर बराललाई पदपूर्ति सिफारिस उपसमितिले छनोट गरेको थियो ।
यता राष्ट्रिय बीमा कम्पनीले भने छिट्टै सीईओ पाउने बताएको छ । अबको अब एक साता वा १० दिनभित्रमा सीईओ नियुक्ति भइसक्ने राष्ट्रिय बीमा कम्पनीले जनाएको छ ।