तीन जीवन बीमा कम्पनीलाई मर्जरमा जान बीमा समितिले दियो सैद्धान्तिक सहमति « Arthapath.com
३ जेष्ठ २०७९, मंगलवार

तीन जीवन बीमा कम्पनीलाई मर्जरमा जान बीमा समितिले दियो सैद्धान्तिक सहमति



काठमाडौं । बीमा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम तीन जीवन बीमा कम्पनीलाई बीमा समितिले सैद्धान्तिम सहमति दिएको छ । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड, गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र युनियन लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेडलाई एक आपसमा गाभ्न र गाभिन आज सैद्धान्तिक सहमति दिएको छ ।

साथै सोही निर्देशिकाको दफा ७ बमोजिम मूल्याङ्कनकर्ता नियुक्त गरी समितिमा विवरण पेश गर्न समेत निर्देशन दिइएको छ । ती कम्पनीहरुले आफूहरुबीच आपसमा गाभ्ने, गाभिने र प्राप्ति गर्ने सहमति भएको जानकारी दिँदै त्यसका लागि संयुक्तरुपमा निवेदन दिई सहमति माग गरेकाले समितिले त्यस सम्बन्धमा आज (जेठ ३ गते) सैद्धान्तिक सहमति प्रदान गरेको हो । उक्त तीन बीमा कम्पनीहरुले बैशाख २९ गते मर्जरमा जाने सहमति पत्रमा हस्ताक्षर गरेसँगै आज बीमा समितिमा संयुक्त पत्र बुझाएको थिए ।

यसअघि, बैशाख २३ मा समितिले “बीमक गाभ्ने, गाभिने तथा प्राप्ति गर्ने सम्बन्धी निर्देशिका, २०७६” को दफा ६ बमोजिम हिमालयन जनरल इन्स्योरेन्स कम्पनी लिमिटेड र एभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडलाई एक आपसमा गाभ्न र गाभिन सैद्धान्तिक सहमति प्रदान गरेको थियो ।

ती दुई कम्पनीले आफूहरुबीच एक आपसमा गाभ्ने र गाभिने सम्बन्धमा सहमति गरी त्यसका लागि सहमति पाउन संयुक्तरुपमा समितिमा निवेदन दिएका थिए ।


प्रतिक्रिया दिनुहोस्