प्राइम लाइफमा अबैध डीसीईओ, बीमा क्षेत्रको अनुभव शुन्य ! « Arthapath.com
१४ असार २०७९, मंगलवार

प्राइम लाइफमा अबैध डीसीईओ, बीमा क्षेत्रको अनुभव शुन्य !



काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) निर्मल दाहाल नियम विपरित कम्पनीमा नियुक्त भएको खुलासा भएको छ । बीमा क्षेत्रमा काम गर्ने योग्यता बिना प्राइम लाइफको सिनियर डीसीईओमा दाहाल नियुक्त भएको खुलासा भएको हो । 

सिनियर डीसीईओ दाहालविरुद्ध योग्यता नपुगी प्राइम लाइफमा काम गरिरहेको भन्दै बीमा समितिमा उजुरी परेपछि यस्तो खुलासा भएको हो । बीमा कम्पनीको विभागीय पदभन्दा माथिल्लो तहमा नियुक्त हुँदा बीमा क्षेत्रमा कम्तिमा २ वर्ष काम गरेको अनुभव हुनुपर्ने ब्यवस्था छ । तर दाहालसँग बीमा क्षेत्रमा काम गरेको कुनै अनुभव छैन् । सोही नियम विपरित उनी कम्पनीको डीसीईओमा नियुक्त भई काम गरिरहेका छन् । 

विभागीय प्रमुख नियुक्त हुनलाई बीमा क्षेत्रमा कम्तिमा पनि दुई वर्षको अनुभव हुनुपर्ने ब्यवस्था रहेको बीमा समिति नै बताउँदै आएको छ । बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३१ को उपदफा २ मा समेत विभागीय प्रमुख भन्दा माथिल्लो तहमा नियुक्त गर्नु परेमा उपदफा (१) मा उल्लेखित योग्यताका अतिरिक्त बीमा वा बैंकिङ क्षेत्रमा थप एक वर्ष व्यवस्थापकीय पदमा रही कार्य गरेको हुनु पर्ने उल्लेख छ । 

विभागीय तहमा काम गर्न एक वर्ष बीमा क्षेत्रमा काम गरेको हुनुपर्छ । यदि त्योभन्दा माथिको पदका लागि नियुक्त गर्ने हो भने अतिरिक्त एक वर्ष हुनुपर्ने छ । त्यसैले डीसीईओ हुनका लागि स्वतः २ वर्षको अनुभव चाहिन्छ । यसो हुँदा दाहाल डीसीईओमा नियुक्त हुनका लागि २ वर्ष बीमा क्षेत्रमा काम गरेको अनुभव आवश्यक पर्ने उक्त व्यवस्थाले प्रष्ट देखाउँछ ।

बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका २०७५ को दफा ३१ को उपदफा (१) मा भने विभागीय प्रमुख नियुक्त गर्दा आवश्यक पर्ने शैक्षिक योग्यताका बारेमा उल्लेख छ । प्राइममा डीसीईओ रहेका दाहालसँग बीमा क्षेत्रमा काम गरेको कुनै पनि अनुभव छैन् ।

यता बीमा समितिले भने डीसीईओ दाहालको योग्यता र अनुभवका बारेमा अनुसन्धान भइरहेको बताएको छ । उजुरी पर्ने बित्तीकै कारवाही नहुने बताउँदै थप अनुसन्धान भइरहेको बीमा समितिले अर्थपथलाई बताएको हो । उनको योग्यता तथा अनुभव र शैक्षिक योग्यताका बारेमा बीमा समितिले पत्र पठाएर जानकारी लिएर थप अनुसन्धान भइरहेको बताएको हो । 

तर दाहालले पठाएको स्पष्टीकरणमा भने कुनै फाइनान्स संस्थामा बीमा सम्बन्धी काम गरेको अनुभवलाई बीमा क्षेत्रमा काम गरेको अनुभव भएको दाबी गरेको समितिले बताएको छ । प्राइम लाइफमा आउनुभन्दा अघि उनले यूकेएडले सपोर्ट गरेको गैर सरकारी संस्था सक्षम एक्सेस टु फाइनान्समा काम गरेका थिए । 

दाहालले बीमा समितिलाई पठाएको स्पष्टीकरण सोही संस्थामा काम गर्दा बीमा सेक्टरमा रहेर काम गरेको अनुभव पठाएको बीमा समिति स्रोतले बताएको छ । ‘सक्षम एक्सेस टु फाइनान्समा हुँदा बीमा सम्बन्धी विभाग हेरेको भनेको छ ।’ बीमा समिति स्रोतले अर्थपथलाई भन्यो, ‘अनुसन्धान गरिरहेका छौं । त्यसलाई मान्यता दिने वा नदिने भनेर माथिल्लो तहले निर्णय गर्छ ।’ 

बीमा कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृतमा नियुक्त हुनका लागि बीमा क्षेत्रमा कम्तिमा २ वर्षको अनुभव हुनुपर्ने व्यवस्था रहेको एक बीमा कम्पनीका सीईओ अर्थपथसँग बताउँछन् । कुनै संस्थामा रहेर बीमा सम्बन्धी काम गरेको अनुभवलाई देखाएर बीमाको अनुभव भएको दाबी गर्नु गलत भएको उनको बुझाई छ । सीईओले भने, ‘व्यवस्थापक तह हुनका लागि म्यानेजरका रुपमा एक वर्ष काम गर्नुपर्ने हुन्छ । त्यो भन्दा माथिको पदका लागि नियुक्त गर्न भने अतिरिक्त एक वर्ष भनेको २ वर्ष स्वतः हुन्छ ।’ 

बीमा समिति स्रोतका अनुसार बीमा क्षेत्रको अनुभव बिना नियुक्त गर्न नमिल्ने बताउँछ । यदि कानुन विपरित भएको प्रमाणित भएमा कारवाही गर्ने स्रोतले बताएको छ । 


प्रतिक्रिया दिनुहोस्