लघुबीमा लाइसेन्सका लागि अन्तिम समयमा तातिए कम्पनीहरु, हालसम्म कतिले दिए आवेदन ? « Arthapath.com
११ आश्विन २०७९, मंगलवार

लघुबीमा लाइसेन्सका लागि अन्तिम समयमा तातिए कम्पनीहरु, हालसम्म कतिले दिए आवेदन ?



काठमाडौं । लघुबीमा लाइसेन्सका लागि आवेदन दिने अन्तिम मिति नजिकिएको छ । बीमा समितिले लघुबीमा लाइसेन्सका लागि भदौ १० गते ३५ दिने प्रस्ताव आह्वान गरेको थियो ।

लाइसेन्सका लागि अब दुई दिनभित्र (असोज १३ गतेसम्म) आवेदन दिन सकिने बीमा समितिले जनाएको छ । लाइसेन्सका लागि लामो समय आवेदन परेको थिएन । तर, अन्तिम समयमा भने आधा दर्जन कम्पनीहरुले आवेदन पेश गरेको समितिले जनाएको छ ।

समितिका अनुसार हालसम्म लघुबीमा लाइसेन्सका लागि ७ वटा कम्पनीहरुले समितिमा आवेदन दिएका छन् । जसमध्ये नियो लाइट माइक्रो (जनरल) इन्स्योरेन्स, स्वदेशी लघु जीवन बीमा, जानकी जीवन बीमा, नेपाल माइक्रो इन्स्योरेन्स, गार्डेन माइक्रो लाइफ, कर्णाली माइक्रो इन्स्योरेन्स र एभरेष्ट माइक्रो इन्स्योरेन्स कम्पनीले लघुबीमाका लागि आवेदन दिएका हुन् ।

लघुबीमाको लागि पुँजी कम्तीमा ७५ करोड रुपैयाँ तोकिएको छ । प्रस्तावकर्ताले ७५ करोड चुक्तापुँजीमध्ये ५१ प्रतिशत सेयर संस्थापकले धारण गर्न पाउने छन् भने कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिनुपर्नेछ । तर, अहिले ५२ करोड ५० लाख रुपैयाँ चुक्ता पूँजी राखेर समितिमा प्रस्ताव पेश गर्न सकिने समितिले जनाएको छ ।

सरकारले बजेटमार्फत लघुबीमा संचालनको प्रस्ताव गरेको थियो । बीमा समितिले ३ जीवन, ४ वटा निर्जीवन गरि कुल ७ वटा लघुबीमा कम्पनीलाई लाइसेन्स दिनेछ । हालसम्मको आवेदन अनुसार ७ वटै कम्पनीले पाउने पक्का देखिएको छ ।

तर, लाइसेन्स पाउनका लागि राजनैतिक पहुँचका आधारमा प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्माको मन जीत्न सक्नछन् उनीहरुले नै पाउने बजारमा चर्चासमेत हुने गरेको छ ।


प्रतिक्रिया दिनुहोस्