पोखरा विमान दुर्घटनामा कति होला बीमा दाबी ? डेढ अर्ब हाराहारी तिर्नुपर्ने अनुमान

काठमाडौं । गत आइतबार पोखरामा भएको बिमान दुर्घटनामा करीब डेढ अर्ब रुपैयाँ बीमा दाबी आउन सक्ने सुरुआति आनुमान गरिएको छ । यति एयरको ‘९एन–एएनसी’ विमान र त्यहाँ सवार मानिसहरुको बीमा एभरेस्ट हिमालयन इन्स्योरेन्सले गरेको थियो । संसारकै सबैभन्दा ठूलो एयरक्राफ्ट उत्पादक फ्रान्सेली कम्पनी एयरबस र इटलीको एयरक्राफ्ट उत्पादक कम्पनी लियोनार्दोको ज्वाइण्ट भेञ्चर कम्पनी ‘एटीआर’ले साढे १५ वर्षअघि बनाएको उक्त विमान दुर्घटनामा परेको हो ।
उक्त ‘एटीआर–७२, ५००’ विमानमा चालक दलका ४ जनासहित ७२ जना सवार थिए । विमानमा कुल ६८ जना यात्रुमध्ये ५३ जना नेपाली र बाँकी १५ जना विदेशी नागरिक सवार रहेको नागरिक उड्डयन प्राधिकरणले जनाएको छ । उक्त जहाजको बीमा नेपालमा एभरेस्ट हिमालयन इन्स्योरेन्सले गरे पनि क्षतिको १ प्रतिशतमात्रै स्वदेशी कम्पनीले बहन गर्ने छ ।
यसले डेढ अर्ब दायित्व भुक्तानी गर्नु पर्ने भयो भने १ करोड ५० लाख रुपैयाँ नेपाली बीमा कम्पनीले तिर्नुपर्ने छ । बाँकी दायित्व पुनर्बीमाबाट भुक्तानी हुने छ । एभरेस्ट हिमालयनले उक्त बीमालेखको पुनर्बीमा भने बेलायतको लयड्स सिण्डिकेटले गरेको छ । यो संसारका ७ ठूला पुनर्बिमा समूहमध्येमा पर्छ । लयड्सको टोलि पनि नेपाल आइसकेको र उसले दुर्घटनास्थलको अनुगमन गरिरहेको छ ।
विमानमा सवार यात्रु र चालक दलको समते अलग अलग दरमा बीमालेख जारी गरिएको हुन्छ । पाइलट र विमान परिचारिकाहरुको बीमालेख भिन्न दरका हुन्छन् । यात्रुमा पनि स्वदेशी र विदेशी यात्रुको बीमालेख पनि फरक दरका हुन्छन् । आन्तरिक क्यारियरबाट टिकट काटेकाहरुले २० हजार अमेरिकी डलरमात्रै बीमा पाउँछन् । तर विदेशबाटै हवाई टिकट काटेका विदेशशी नागरिकले १ लाख अमेरिकी डलर पाउँछन् ।
यस्ता बीमालेखहरु कम्पनीको नियम अनुसार पनि फरक पर्छन् । जहाजको आकार र कम्पनीको नियम अनुसार पाइलट र विमान परिचारिकाहरुको बीमालेखको रकम भिन्नभिन्न हुनसक्छ । यति एयरलाइन्सका एक अधिकारीले दुर्घटनामा परेको उक्त जहाजका पाइटहरुको प्रतिव्यक्ति १ लाख अमेरिकी डलर र विमान परिचारिकाहरुको प्रतिव्यक्ति ४० हजार अमेरिकी डलरको बीमालेख रहेको बताएका छन् । तर बीमा कम्पनीले यसबारे कुनै जानकारी दिन नसक्ने भनेको छ ।
‘बीमालेखका बारेमा केमा कति भनेर सार्वजनिक जानकारी दिन मिल्दैन’, एभरेस्ट हिमालयन इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले भने, ‘एक अर्बभन्दा बढी दायित्व आउन सक्ने अनुमान गरिएको छ ।’ उनले यसबारे आफूले प्रधानमन्त्री सहितको विपत व्यवस्थापन समितिमा जानकारी गराइसकेको र प्राविधिक एवम् कानूनी परामर्शमा रहेको बताएका छन् ।
बिमान दुर्घटना भएपछि दमकलदेखि उद्धार टोलीले गरेको खर्च, उद्धारका क्रममा भएका हेलिकप्टरका भाडादेखि अस्पताहरुले लासको पोस्टमार्टम गर्दा लिने पैसासम्म बीमाले नै तिनुएपर्ने हुन्छ । किरिया खर्च पनि बीमाले दिनुपर्छ । शव विदेश पुर्याउने हो भने त्यसको लागत पनि बीमाबाटै भुक्तानी हुन्छ । यस्ता काममा कति खर्च हुन्छ भन्ने तय भइसकेको छैन । सरकारले बील नपठाएसम्म ठ्याक्कै कति दायित्व आउँछ भन्ने अनुमान गर्न कठीन हुने एभरेस्ट हिमालयका अधिकारीहरु बताउँछन् ।
एयरक्राफ्टको मात्रै पनि ७० देखि ८० करोड रुपैयाँ तिर्नुपर्ने हुनसक्ने कम्पनी स्रोतले जनाएको छ । यसबाहेक यात्रुले लगेका सामानको पनि बीमा दाबी आउन सक्छ । यसको प्रमाणिकरणमा भने समस्या हुन सक्ने देखिएको छ । अन्तरराष्ट्रिय अभ्यासलाई हेरेर बीमा दाबि भुक्तानी गर्ने कम्पनीले जनाएको छ ।