सानिमा र रिलायन्स लाइफको चैत ९ गतेदेखि एकीकृत कारोबार, पाण्डे सीईओ बन्दै « Arthapath.com
२ चैत्र २०७९, बिहीबार

सानिमा र रिलायन्स लाइफको चैत ९ गतेदेखि एकीकृत कारोबार, पाण्डे सीईओ बन्दै



काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्स गाभिएर अर्को सातादेखि एकीकृत कारोबार थाल्ने भएका छन् ।

आगामी चैत ९ गतेदेखि एकीकृत कारोबार थालनी गर्ने कम्पनीका अधिकारीहरूले जनाएका छन् । कारोबार शुभारम्भको लागि बीमा प्राधिकरणलाई जानकारी गराइसकिएको कम्पनीका एक कर्मचारीले बताए । मर्जरपश्चात् कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ रहनेछ । 

यी दुवै कम्पनीलाई मर्जरमा जानका लागि नेपाल बीमा प्राधिकरणले यसअघि नै अन्तिम स्वीकृति दिइसकेको छ । उनीहरू समान हैसियत अर्थात् १ः१ को स्वाप रेसियोमा मर्ज गर्न सहमत भएका छन् । मर्जरमा जान कम्पनीहरूले गत असार २९ गते प्रारम्भिक सम्झौता गरेका थिए । दुवै कम्पनीको गत फागुन १२ गते एकै दिन सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो । 

मर्ज पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी हुने छ । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख र रिलायन्स लाइफ २ अर्ब १० करोड रुपैयाँ रहेको छ । नयाँ बन्ने कम्पनीको सञ्चालकमा भने दुवै कम्पनीको तर्फबाट ३–३ जना सञ्चालक चुनिने भएका छन् । हाल मर्जर कमिटीमा रहेका ६ जना नै नयाँ बन्ने कम्पनीको सञ्चालक हुने समझदारी बनेको छ । 

मर्ज पछि बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने शिवनाथ पाण्डेलाई ल्याउने तयारी भएको जनाइएको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका पाण्डे यसअघि सूर्या लाइफ इन्स्योरेन्सको सीईओ बनिसकेका व्यक्ति हुन् । उनलाई दुवै कम्पनीको मर्जर कमिटीले सानिमा रिलायन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने तयारी भएको हो । 

स्रोतले भन्यो, ‘मर्ज पछि बन्ने सानिमा रिलायन्स लाइफको प्रमुख कार्यकारी अधिकृतमा पाण्डेलाई ल्याउन दुवै कम्पनीका सञ्चालकहरू सकारात्मक छन्, हालका दुवै कम्पनीका सीईओहरु भने  डेपुटी सीईओको रूपमा रहने छन् ।’ हाल रिलायन्स लाइफ इन्स्योरेन्स राकेश पोखरेलले र सानिमा लाइफ इन्स्योरेन्स अगम मुखियाले हाँकिरहेका छन् । यद्यपि, सानिमा लाइफका सीईओ अगम मुखियाले भने नयाँ बन्ने कम्पनीमा दोस्रो श्रेणी (सेकेन्ड पोजिशन) मा बस्न अनिच्छुक रहेको तर्क गर्दै आएका छन् । 

दुई वर्षपछि बीमा क्षेत्रमा फर्किँदै पाण्डे

दुई वर्षभन्दा लामो समयपछि शिवनाथ पाण्डे बीमा क्षेत्रमा फर्किने तयारीमा छन् । साबिकको सूर्य लाइफ इन्स्योरेन्सको सीईओबाट राजिनामा दिएपछि खाली बसेका उनी अहिले फेरि बीमा क्षेत्रमै फर्किन लागेका हुन् । पाण्डेले यस बिचमा प्रभु बैंकसँग मर्जर भएको सेन्चुरी बैंकको सीईओ बन्न खोजेका थिए । 

चाटर्ड एकाउन्टेन रहेका पाण्डे नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश पाएपछि सूर्या लाइफमा नियुक्त भएका थिए । राष्ट्र बैंकमा डेपुटी गभर्नरको दौडमा रहेका पाण्डेले त्यहाँ बाजी मार्न सकेनन् । तत्कालीन गभर्नर चिरञ्जीवी नेपालले उनलाई डेपुटी गभर्नर बनाउन भनेर राष्ट्र बैंकमा साबिकको १६ वटा विभागलाई बढाएर १७ बनाएका थिए । कार्यकारी निर्देशकमध्येबाट मात्रै डेपुटी गभर्नर बन्न पाइने भएकाले पाण्डेलाई बढुवा गर्नकै निम्ति भुक्तानी व्यवस्थापन विभाग गठन भएको थियो । 

पाण्डेले सूर्या लाइफमा कार्यकाल सकिन तीन महिना बाँकी छँदै राजीनामा दिएका थिए । पाण्डे जीवन बीमा कम्पनीहरूको छाता सङ्गठन जीवन बिमक सङ्घका संस्थापक अध्यक्ष समेत हुन् । त्यसअघि जीवन र निर्जीवन बीमा कम्पनीका सीईओहरुको एउटै मात्र क्लब भएकोमा पाण्डेले जीवन बीमा कम्पनीका सीईओको अलग्गै संस्था बनाउने नेतृत्व लिएका थिए । त्यसो त, पुरानो एकीकृत संस्थाको अध्यक्ष शिखर इन्स्योरेन्सका सीईओ दीपप्रकाश पाण्डे भएकाले पनि जीवन बीमा कम्पनीका सीईओहरुको अलग्गै संस्था जन्मिएको हो । 


प्रतिक्रिया दिनुहोस्