पर्सीदेखि सानिमा र रिलयान्स लाइफको एकीकृत कारोबार, कस्तो बन्दैछ नयाँ कम्पनी ? « Arthapath.com
७ चैत्र २०७९, मंगलवार

पर्सीदेखि सानिमा र रिलयान्स लाइफको एकीकृत कारोबार, कस्तो बन्दैछ नयाँ कम्पनी ?



काठमाडौं । सानिमा लाइफ र रिलायन्स लाइफ इन्स्योरेन्सको एकीकृत कारोबार भोलि (चैत ९ गते) देखि सुरु गर्ने भएका छन् ।यी दुवै कम्पनी एक आपसमा मर्जरमा गई बिहीवारदेखि एकीकृत कारोबार थालनी गर्ने भएका हुन् ।

मर्जरपश्चात् कम्पनीको नाम ‘सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स’ रहनेछ । यी दुवै कम्पनीलाई मर्जरमा जानका लागि नेपाल बीमा प्राधिकरणले यसअघि नै अन्तिम स्वीकृति दिइसकेको छ ।

उनीहरू समान हैसियत अर्थात् १ः१ को स्वाप रेसियोमा मर्ज गर्न सहमत भएका छन् । मर्जरमा जान कम्पनीहरूले गत असार २९ गते प्रारम्भिक सम्झौता गरेका थिए । दुवै कम्पनीको गत फागुन १२ गते एकै दिन सम्पन्न वार्षिक साधारण सभाले मर्जर प्रस्ताव पारित गरेको थियो ।

मर्ज पछि बन्ने नयाँ कम्पनीको चुक्ता पुँजी ४ अर्ब १८ करोड रुपैयाँभन्दा बढी हुने छ । हाल सानिमा लाइफको चुक्ता पुँजी २ अर्ब ८ करोड ४० लाख र रिलायन्स लाइफ २ अर्ब १० करोड रुपैयाँ रहेको छ । नयाँ बन्ने कम्पनीको सञ्चालकमा भने दुवै कम्पनीको तर्फबाट ३/३ जना सञ्चालक चुनिने भएका छन् । हाल मर्जर कमिटीमा रहेका ६ जना नै नयाँ बन्ने कम्पनीको सञ्चालक हुने समझदारी बनेको छ ।

मर्जपछि बन्ने नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा भने शिवनाथ पाण्डेलाई ल्याउने तयारी भएको जनाइएको छ । राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकाश लिएका पाण्डे यसअघि सूर्या लाइफ इन्स्योरेन्सको सीईओ बनिसकेका व्यक्ति हुन् । उनलाई दुवै कम्पनीको मर्जर कमिटीले सानिमा रिलायन्सको प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने तयारी भएको हो ।


प्रतिक्रिया दिनुहोस्