आतंकवाद जोखिम समूहको व्यवसायमा ‘नेपाल रि’को एकाधिकार, कमिसनको विषयमा भएन सहमति « Arthapath.com
१८ श्रावण २०८०, बिहीबार

आतंकवाद जोखिम समूहको व्यवसायमा ‘नेपाल रि’को एकाधिकार, कमिसनको विषयमा भएन सहमति



काठमाडौं । आतंकवाद जोखिम समूहको व्यवसाय नेपाल पुनर्बीमा कम्पनीले नै पाएको छ । यो वर्ष आतंकवाद जोखिम समूहको व्यवसाय नेपाल पुनर्बीमाले मात्र पाएको हो ।

यसअघि पनि नेपाल पुनर्बीमाले मात्रै यस्तो व्यवसाय गर्दै आएको थियो । तर, तत्कालिन सरकारे निजीस्तरबाट संञ्चालन भएको हिमालयन पुनर्बीमा कम्पनीलाई पनि व्यवसाय गर्न दिएको थियो ।

तर, सरकारले उक्त निर्णयलाई खारेज गर्दै पुन: निर्जीवन बीमा कम्पनीहरुको जोखिम समूह अन्तरगतको पुल व्यवसाय यथावत रुपमा नेपाल पुनर्बीमा कम्पनीलाई नै दिन प्राधिकरणले निर्देशन दिएको थियो ।

गत असार २९ गते प्राधिकरणले निर्जीवन बीमा कम्पनीहरुलाई एक पत्र जारी गर्दै नेपाल पुनर्बीमालाई नै सो व्यवसाय उपलब्ध गराउन निर्देशन दिएको हो । प्राधिकरणले आकस्मिक बीमा कोषको शत प्रतिशत रकम नेपाल पुनर्बीमा कम्पनीलाई उपलब्ध गराउन निर्देशन दिएको थियो ।

गत आर्थिक वर्ष २०७९/८० मा भने हिमालयन रिले पनि आतंकवाद जोखिम समूहको व्यवसाय प्राप्त गरेको थियो । तर, चालु आवमा भने सो अन्तर्गतको व्यवसाय नेपाल पुनर्बीमाले मात्रै पाएको हो ।

निर्जीवन बीमकहरूको जोखिम समूहको दाबी व्यहोर्ने, पुनर्बीमाको व्यवस्था गर्न तथा सोसँग सम्बन्धित अन्य बीमा जोखिमहरूको भुक्तानी गर्ने काम २०६० असोज ३० गते सरकारले जारी गरेको आकस्मिक बीमा कोषले गर्दै आएको थियो ।

२०७१ साउन २२ गतेको सरकारको निर्णय अनुसार कोषले कोषको हक, अधिकार, सम्पत्ति तथा दायित्व नेपाल पुनर्बिमा कम्पनीमा सर्ने व्यवस्था गरिएको थियो ।

आतंकवाद जोखिम समूहको व्यवसाय कसरी संचालन गर्ने भन्ने विषयमा भने कम्पनीहरुबीच छलफल भईरहेको छ । सो विषयमा निर्जीवन बीमा कम्पनीहरुको प्रमुख कार्यकारी अधिकृत (सीइओ) हरुको छाता संगठन नेपाल बीमक संघ र नेपाल पुनर्बीमा कम्पनीका पदाधिकारीबीच बिहीबार पनि बैठकले बसेको छ ।

चालु आवका लागि पुनर्बीमा कमिसन घटेको छ । नेपाल पुनर्बीमा कम्पनी र हिमलाय रि इन्स्योरेन्स निर्जीवन बीमा कम्पनीहरुबाट प्राप्त गरिरहेको प्रत्यक्ष हिस्सा (डिरेक्ट सेसन) को पुनर्बीमा कमिसन घटाइएको हो । कम्पनीले नेपाल बीमक संघलाई १४ प्रतिशतसम्म कमिसन घटाएर सम्झौता प्रस्ताव पठाएका थिए । तर, सो प्रस्ताव संघले भने अस्वीकार गरेको थियो ।

बिहीबारको बैठकमा कमिसन कति कायम गर्ने भन्ने विषयमा सहमति हुन नसकेको बताइएको छ । घटेको कमिसनको विषयमा पनि नेपाल रिको संचालक समितिबाट निर्णय हुने भएको हो । बैठकमा सहभागि एक कम्पनीका सीइओले भने अर्थपथसंग भने,–‘यस वर्ष पुनर्बीमा कमिसन कम भएको छ । हामीले पुरानै कमिसन कायम गर्न माग राखेको छौं । तर, यो विषयमा भने संचालक समितिबाट निर्णय गर्ने भन्दै नेपाल रि फर्किएको छ ।’

गत आर्थिक वर्ष २०७९/८० मा दुई पुनर्बीमा कम्पनीले ३७.५० प्रतिशतसम्म कमिसन दिएका थिए । तर, सो कमिसनलाई चालु आव २०८०/८१ मा भने साढे १२ प्रतिशतले घटाइएको छ । चालु आवमा सम्पत्ति बीमामा २५ प्रतिशत मात्रै कमिशन दिने प्रस्ताव गरिएको छ । यस्तै, मोटर बीमाको २० प्रतिशतमा झारिएको छ । जबकि गत आवमा भने ३० प्रतिशत र २५ प्रतिशत दिइएकोे थियो ।

यता, इञ्जिनियरिङ बीमाको २५ प्रतिशत कमिसनलाई १५ प्रतिशत र कृषि बीमाको १८ देखि २५ प्रतिशतसम्मको कमिसनलाई १५ देखि २२ प्रतिशत कायम हुने गरि प्रस्ताव गरिएको छ ।


प्रतिक्रिया दिनुहोस्