सदावहार जागिरेको दशैँ « Arthapath.com
७ कार्तिक २०८०, मंगलवार

सदावहार जागिरेको दशैँ



सूर्यप्रसाद सिलवाल

यो दशैँ सामान्य किसिमले मनाउने हो । पहिले–पहिले बुवा आमा हुने बेलासम्म गाउँमै गएर मनाईने गरिन्थ्यो । बुवा आमाको मृत्यु भएपछि काठमाडौंमै मनाउन थालियो । यद्यपि, कुनै कुनै वर्ष गाउँमा पनि गइन्छ । तर, यस वर्षको दशैँ काठमाडौंमै मनाउने तयारी छ ।

दशैँ विशेषगरी केटाकेटीहरुको लागि रमाइलो पर्व हो । यद्यपि, दशैँको बेला परिवारहरु एकैठाउँमा जम्मा हुने चलन छ । आफ्ना परिवारका सदस्य र आफन्तहरुलाई पनि एकैपटक भेट्न सकिन्छ । दशैँको सबैभन्दा राम्रो पक्ष यो नै हो । म प्रायः काठमाडौंमै रहने भएकाले यतै रहनु हुने आफन्तहरुसँग रमाइलो भेटघाट हुन्छ ।

दशैँ दुई किसिमले महत्वपूर्ण छ । पहिलो कुरा त, हामी कर्मचारी–पदाधिकारीलाई यो समयमा अलि लामो बिदा हुन्छ । यो अवधिमा टाढा टाढाका आफन्त इष्टमित्र पनि भेट्ने अवसर प्राप्त हुन्छ । त्यसले यस पर्वलाई खास रुपमा मनाउने गरिएको हो ।

ठाउँठाउँका दशैँ

दशैँमा टीका लगाउने भनेको पहाडका मानिसहरुले मात्रै हो । नवरात्रसम्म सबै समुदायले मनाउने पर्व हो । तराईमा दशैँको ९ दिन असाध्यै रमाईलो हुन्छ । सबै मन्दिरहरुमा ठूला ठूला पूजा हुन्छ । दिनमा करिव १८ घण्टा पाठ पढ्ने, मानिसहरु भेला हुने तथा धार्मिक गीतहरु गाउने जस्ता अनेक गतिविधि हुन्छ ।

तराईका बिजुलीका पोलहरुमा पुरै झिलीमिली हुन्छ । यसले त्यहाँको वातावरणको रौनकता नै अर्को हुन्छ । निकै उल्लासमय ढङ्गले मनाइन्छ । नौ दिनसम्म दुर्गाको मूर्ति लगातार पूजा गर्ने र १० औं दिनमा विसर्जन गर्ने गरिन्छ ।

तर, पहाडतिर कसैकसैले नौ दिनसम्म दुर्गाको व्रत बसेर पनि दशैँ मनाउने चलन छ । कसैले खाएर मनाउँछन्, टीका लगाउँछन् । हाम्रो महत्व भनेकै टीकाको हो । जुन पहाडमा लगाइन्छ । यस्तै, आफ्नो घर परिवार, आफन्तहरु दशैँमा विशेष भेला हुने हुँदा त्यसको रमाइलो पनि फरक छ ।

हाम्रो लागि त्यो दसौं दिन अर्थात् विजया दशमीको विशेष महत्व छ । समग्रमा हिन्दु धर्मालम्वी भएका हुनाले आ–आफ्नो आस्था अनुसार गर्ने प्रचलन छ । तराई पहाड जहाँ पनि पूजा गर्ने हो । त्यसरी नै मनाउने हो । तर, दशैँका बेला काठमाडौंभन्दा तराईमा धेरै रमाइलो हुन्छ ।

परिवारमा सबै व्यक्तिले पूजा गर्ने भन्ने हुँदैन । घरमूलीले पूजापाठ गर्छन् । अष्टमी र नवमीमा नै धेरै मानिस व्रत बसेको पनि पाइन्छ । तर, हाम्रो चलन त खाने रमाइलो गर्ने नै हो । कतै कतै चाहीँ घटस्थापना सुरु भएदेखि नै मान्छेले माछा, मासु खान सुरु गरिसक्छन् । त्यो पनि ठिकै हो । कतिपय मान्छे, परिवारले दशैँकै लागि भनेर जगेडा गरेर बसेका हुन्छन् । खसी बोका पालेका हुन्छन् ।

तर, यसको महत्व भनेको के हो भने असत्य माथि सत्यको विजयी भएर नै टीका थापेको हो । धर्मको स्थापना गरेको पर्वको रुपमा मनाउने हो । हरेक चाडपर्वमा आत्मिक शुद्धीकरण सुरु गर्नुहोस्, ९÷१० दिनको अवधिमा अध्यात्मिक चेतनाको विकास गर्नुहोस् भन्नका लागि यो पर्व मनाउने हो ।

तर, यस्ता कुरालाई त्यतिधेरै लागू गरेको जस्तो देखिँदैन । हामीले खानपान र रमाइलोलाई विशेष जोड दिन्छौं । दशैँमा मीठो मसिनो खाने, नयाँ लत्ताकपडा लगाउने भन्ने थियो । तर, अहिले धेरै सहरिकरण बढेकाले पनि त्यसको महत्व खासै रहेन । अहिले वर्षभरी नभेटीएका आफन्तहरु, साथीभाईहरु पनि भट्ने अवसर पाइने भएकाले मानिसहरु यसलाई उल्लासमय तरिकाले मनाउने गर्छन । तर, मैले पूजा आजा गर्दिन ।

मैले त्यस्तो परिवार बिनाको दशैँको अनुभव गरेको छैन । सरकारी सेवामा जुन ठाउँमा भएता पनि दशैँमा आ–आफ्नै परिवारसँग मनाउने गरेको छु । अहिलेसम्म एक्लै दशैँ मनाएको छैन । यो त उमेरले पनि प्रभाव पार्ने रहेछ । रमाइलो गर्ने भनेको उमेर पनि हो ।

जब हामी केटोकेटी थियौं, त्यो बेला पैसा भन्ने हुँदैन्थ्यो । सबै सम्पत्ती भनेको खेतबारीमा फलेको अन्न नै हो । त्यो बेला अन्न बेच्ने र त्यही पैसा दशैँलाई जोहो गरेर राख्ने चलन थियो । त्यो बेला किन्ने भनेको त्यही लुगा हो, अरु हुँदैन्थ्यो । एक जोर लुगा र जुत्ता किन्यो त्यही हो । त्यती बेला यसको ‘चार्मिङ’ नै अर्कै थियो ।

कतिपय उमेर बढी भएका जेष्ठ सदस्यहरूसँग पनि साक्षत्कार गर्न पाइन्छ । त्यो पनि एउटा खुसीको पल नै हुन्छ । कहिलेकाहीँ तास पनि खेलिन्छ । तर त्यो पनि परिवारसँगै खेल्ने हुँदा अझै रमाइलो हुन्छ । म चाहीँ घर बाहिर जाने, खेल्ने गर्दिन । खानापिन पनि आवश्यकताका आधारमा गर्ने कुरा हो । धेरै जना एकैठाउँमा जम्मा भएर खाँदा आकर्षण चाहीँ बढ्छ ।

उहिलेका कुरा

हाम्रो ज्वाइन्ट फेमिली (संयुक्त परिवार) थियो । कान्छा बुवा र हाम्रो ८ जना दाजुभाइ थियौं । पाँच जना दिदी बहिनी थिए । दशैँमा नयाँ लुगा र जुत्ता पाइन्थ्यो । त्यस्तो अभाव भन्ने पनि रहेन । हरेक दशैँमा नयाँ लुगा र नयाँ जुत्ता लगायौं । अनि ३÷४ वटा खसी बोका ढाल्थे । त्यो आफैँमा निकै रमाइलो थियो ।

पहिलेको दशैँको प्रतिष्ठा अर्कै थियो । बुवा आउनुहुन्छ लुगा किनिदिनुहुन्छ भन्ने हुन्थ्यो । १५ दिन अघिदेखि नै छुट्टै रमाइलो हुन्थ्यो । खुशी र खसी एकैपटक आउथ्यो । हामी आठै जना दाजुभाई लुगा सिलाउन गइन्थ्यो । मामाघर जाने उत्साह उस्तै गजब हुन्थ्यो । झनै दक्षिणा आउने हुँदा दशैँमा मामाघर जाँदा अझ बढी रौनक थपिन्थ्यो ।

त्योबेला एक सुका दक्षिणा पाउँदा अत्यन्तै खुशी भइन्थ्यो । मेरो बुवा वन विभागका जागिरे हुनुहुन्थ्यो । बिहानै उठ्यो नुहायो, मन्दिर गयो । भजन कीर्तनमा सहभागि भयो । अनि दिनभर केके रमाइलोमै भुलिन्थ्यो । ऊ बेलाको दशैँको रौनक नै बेग्लै थियो ।

खर्चपर्च

हाम्रो घरमा सबै जागिरे भएका कारण कसले खर्च गर्ने भन्ने समस्या हुँदैन । सरकारले दिएको पैसकै बरारब हुने गरी दशैँमा खर्च हुन्छ । मैले घरमा खसी बोका काट्दिन । अन्तैबाट मासु किनेर ल्याउने हो । दशैँको दिनलाई ७–८ केजी मासु ल्याएपछि हाम्रो परिवारलाई पुगिहाल्छ । टीका लगाउँदामा पनि खासै धेरै खर्च हुँदैन ।

दशैँ भनेको प्रत्येकले आफ्नो परिवारभित्र मनाउने चार्ड हो । अरुको घरमा गएर मनाउने होइन । पदमा हुँदा वा नहुँदा दशैँलाई केही फरक पर्दैन । यो पर्व त आफ्नो परिवारसँग बसेर रमाइलो भेटघाट गर्ने अवसर हो । बीमा प्राधिकरण आउनुभन्दा अघि पनि म पदमै थिएँ । ८–१० दिनको बिदा हुन्छ, त्यो बेला आफ्नो परिवारसँग बसेर उल्लासमय तरिकाले समय बिताउन आवश्यक छ । दशैँलाई अनावस्यक खर्चिलो बनाएर अर्थ हुँदैन ।

आत्मा शुद्धीको मौका

यो त आत्मा शुद्धताको लागि आएको पर्व हो । हामीले पो माछा मासु खान्छौं । तर, सोह्र श्राद्धको बेला कसैले मासु खाँदैन । यद्यपि मैले पनि खाएको छैन । नवरात्रीमा ९ दिनसम्म त व्रत बस्नु पर्ने हो । मेरै श्रीमती पनि अष्टमीमा व्रत बस्नुहुन्छ । त्यसैले यो चाडलाई आत्मिक शुद्धताको पर्वका रुपमा मनाऊँ भन्छु ।

दशैँको चलन नै असत्य माथि सत्यको जीत भएका कारण चलेको हो । त्यसलाई हामी मान्नुपर्छ । ‘तिमीले गरेको पाप अधर्मलाई हटाएर सत्यमा जाऊ’ भनिन्छ । यो चार्डको महत्व पनि त्यही हो । अध्यात्मिक चिन्तन गर्ने कारण पनि त्यही हो ।

सबैको मनाशय पनि आध्यात्मिक चिन्तनलाई बढाउने भन्ने नै हो । यसले आफूमा आएको अहङ्कार र असुर प्रबृत्तीलाई हटाएर राम्रा गुणहरुलाई मात्रै माथि ल्याऊ भन्ने नै यो पर्वको खास सन्देश हो । मैले त त्यसै गर्छु । ध्यान गर्छु । दया, माया, स्नेह, करुणा गर्न कसैले कसैलाई सिकाउनु पर्दैन । अध्यात्मिक चिन्तन सुरु गरेपछि आफँै हुन्छ । त्यस कारण दशैँलाई हामी सबैले आफ्नो चेतनालाई माथि ल्याउने अवसरको रुपमा प्रयोग गर्नुपर्छ ।

अध्यक्ष, नेपाल बीमा प्राधिकरण


प्रतिक्रिया दिनुहोस्