अभिकर्ता खुसी पार्न सूर्यज्योति, सानिमा रिलायन्स र प्रभु महालक्ष्मी सीपालु, कुनले कति बढाए कमिसन ? « Arthapath.com
७ फाल्गुन २०८०, सोमबार

अभिकर्ता खुसी पार्न सूर्यज्योति, सानिमा रिलायन्स र प्रभु महालक्ष्मी सीपालु, कुनले कति बढाए कमिसन ?



काठमाडौं । जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्ता कमिसनका लागि ६ महिनामा ६ अर्ब खर्चिएका छन् । कम्पनीहरुले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०८०/८१ को दोस्रो त्रैमासिक वित्तीय विवरणले यस्तो देखाएको हो ।

समिक्षा अवधिमा हाल संचालनमा रहेका १४ वटा जीवन बीमा कम्पनीहरुले आफ्ना अभिकर्ताहरुका लागि ५ अर्ब ९७ करोड ४२ लाख ४२ हजार रुपैयाँ खर्चिएका छन् । तर, गत वर्षको दोस्रो त्रैमासको तुलनामा भने झिनो (१.१० प्रतिश) मात्रै बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुले अभिकर्ता कमिसनमा ५ अर्ब ९० करोड ९५ लाख ३० हजार रुपैयाँ खर्चेका थिए ।

अधिकांश कम्पनीहरुको अभिकर्ताको लागि खर्चिने कमिसनमा भने गिरावट देखिएको छ । नेपाल लाइफ, एलआइसी नेपाल लगायतका ९ वटा कम्पनीहरुको अभिकर्ता कमिसन घटेको छ । अन्य पाँच वटाको भने वृद्धि भएको छ ।

अभिकर्ता खुसी पार्न अर्थात् उनीहरुको कमिसन वृदिदरको पहिलो सूचीमा सानिमा रिलायन्स लाइफ छ । कम्पनीले ६ महिनामा २८ करोड ७९ लाख रुपैयाँ अभिकर्ता कमिसनका लागि खर्चिएको छ । यो गत आवको दोस्रो त्रैमासको तुलनामा भने ९७.०५ प्रतिशत बढी हो । गत आवको सोही अवधिमा कम्पनीले १४ करोड ६१ लाख ८ हजार रुपैयाँ मात्रै खर्च गरेको थियो । कमिसन खर्च वृदिका आधारमा भने सानिमा रिलायन्स अभिकर्ता खुसी पार्न अगाडि देखिएको हो ।

अभिकर्ता खुसी बनाउनेको दोस्रो सूचीमा प्रभु महालक्ष्मी लाइफ छ । कम्पनीले ६ महिनामा अभिकर्ता कमिसनका लागि २३ करोड ८ लाख रुपैयाँ खर्चिएको छ । जुन गत आवको दोस्रो त्रैमासको तुलनामा ५६.९३ प्रतिशत बढी हो । यस्तै तेस्रो स्थानमा सूर्यज्योति लाइफ रहेको छ । कम्पनीले अभिकर्ता कमिसन खर्च ४६.८६ प्रतिशत बढाएर ३७ करोड ८५ लाख ३७ हजार रुपैयाँ पुर्याएको छ ।

यता, नेशनल लाइफको अभिकर्ता कमिसन खर्च पनि ३.७९ प्रतिशत बढेर ७६ करोड ७४ लाख र मेट लाइफको ३.२९ प्रतिशत बढेर २३ करोड ९३ लाख रुपैयाँ पुगेको छ ।

बीमा अभिकर्ताले बीमालेख बिक्री गरेबापत कमिसन प्राप्त गर्दछन् । अभिकर्तालाई जीवन बीमामा पहिलो वर्ष प्रिमियमको २५ प्रतिशत, दोस्रो वर्ष १५ प्रतिशत, त्यसपछि ८ वर्षसम्म प्रिमियमको ५ प्रतिशतका दरले कमिसन दिने गरिन्छ । अभिकर्ताले पाउने कमिसन बिक्री गरेको पोलिसीको प्रकार र त्यसको सङ्ख्याको आधारमा निर्धारण हुने गर्दछ ।

समिक्षा अवधिमा अभिकर्ता कमिसनका लागि नेपाल लाइफले १ अर्ब ४९ करोड २२ लाख, एलआइसी नेपालले ६६ करोड ९ लाख, हिमालयनले ६५ करोड ६३ लाख, एशियनले ३२ करोड २१ लाख, सिटिजनले २७ करोड ५५ लाख, रिलायवल नेपालले २१ करोड ८६ लाख, आइएमईले २० करोड ४४ लाख, सन नेपालले १४ करोड ९० लाख र राष्ट्रिय जीवन बीमा कम्पनीले ९ करोड ९ लाख रुपैयाँ खर्चिएका छन् ।

कुन कम्पनीको अभिकर्ता कमिसन खर्च कति ?


प्रतिक्रिया दिनुहोस्