निर्जीवन बीमा: सबैभन्दा धेरै हिस्सा ओगट्ने मोटर बीमाकै व्यवसाय किन खुम्चियो ? « Arthapath.com
२२ फाल्गुन २०८०, मंगलवार

निर्जीवन बीमा: सबैभन्दा धेरै हिस्सा ओगट्ने मोटर बीमाकै व्यवसाय किन खुम्चियो ?



काठमाडौं । निर्जीवन बीमा सबैभन्दा धेरै बजार हिस्सा भएको मोटर बीमा व्यवसायमा गिरावट देखिएको छ । नेपाल बीमा प्राधिकरणबाट प्राप्त तथ्यांकले यस्तो देखाएको हो ।

चालु आर्थिक बर्ष २०८०/८१ को ७ महिनामा मोटर बीमाको व्यवसाय ३.२० प्रतिशत घटेको छ । हाल संचालनमा रहेका १४ वटा निर्जीवन बीमा कम्पनीहरुले मोटर बीमा मार्फत ७ महिनामा कुल ७ अर्ब २९ करोड ६९ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । यो गत आवको सोही अवधिको तुलनामा भने २४ करोडले कमी हो । गत वर्षको माघ मसान्तसम्ममा भने कम्पनीहरुले कुल ७ अर्ब ५३ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

बीमालेख संख्याको आधारमा भने यो ३.४४ प्रतिशत घटेको हो । गत आवको ७ महिनामा १० लाख ४० हजार ५१२ वटा मोटर बीमा पोलिसी जारी भएको थियो । तर, यो वर्षको माघ मसान्तसम्ममा भने १० लाख ४ हजार ६६८ वटा मात्रै मोटर बीमा पोलिसी जारी भएको छ । गत वर्षको तुलनामा ३५ हजार ८४४ वटा मोटर बीमालेख कम बिक्री भएको हो ।

७ महिनामा कुल निर्जीवन बीमाशुल्क २२ अर्ब ४६ करोड २८ लाख रुपैया छ, त्यसमा यसको हिस्सा ३२.४८ प्रतिशत छ । जुन इन्जीनियरीङ, सामुन्द्रिक जस्ता अन्य निर्जीवन बीमा व्यवसायको भन्दा धेरै हो ।

बिशेषगरि पछिल्लो समय देखिएको आर्थिक शिथिलताले गर्दा सवारी साधानहरुको खरिदबिक्री घटेको छ । त्यसको असरले मोटर बीमा व्यवसाय पनि घटेको हो । नेपालमा सवारी साधानको बीमा अनिवार्य गर्नुपर्छ । त्यसले निर्जीवन बीमा व्यवसाय बढाउन ठुलो सहयोग गर्छ । तर, अहिले सवारी साधानको खरिद बिक्रीमा कमी आएपछि बीमा व्यवसाय प्रभावित भएको कम्पनीहरु बताउछन् । विदेशी मुद्रा सञ्चितीमा परेको चापलाई दृष्टिगत गर्दै सरकारले २०७९ बैशाख देखि २०७९ मंसिरसम्म महंगो सवारी साधानको आयातमा प्रतिवन्ध नै लगाएको थियो । पछि प्रतिवन्ध हटाएपनि आर्थिक शिथिलताका कारण अटो व्यवसायमा सुधार आएको छैन । यस्ता कारण नै मोटर बीमामा सुधार आउन नसकेको हो ।

समिक्षा अवधिमा निर्जीवन बीमा कम्पनीहरुले सम्पत्ति बीमा मार्फत ५ अर्ब ५० करोड ८९ लाख रुपैयाँ बीमा शुल्क आर्जन भएको छ । जुन गत वर्षको माघ मसान्तसम्मको तुलनामा भने ७.०३ प्रतिशत बढी हो । गत वर्षको सोही अवधिमा कम्पनीहरुल कुल ५ अर्ब १४ करोड ७० लाख रुपैयाँ बराबरको सम्पत्ति बीमा शुल्क आर्जन गरेका थिए । यस्तै, हवाई बीमा पनि ९.८१ प्रतिशत वृद्धि १ अर्ब २८ करोड ११ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । समिक्षा अवधिमा कम्पनीहरुले ८१ वटा हवाई बीमालेख बिक्री गरेका छन् ।

सामून्द्रिक बीमा पनि सामान्य (१.०६ प्रतिशत) घटेर १ अर्ब १८ करोड ३४ लाख रुपैयाँ कायम भएको छ । ७ महिनामा कम्पनीहरुले १ लाख ६९ ३८१ वटा सामून्द्रिक बीमालेख बिक्री गरेका छन् ।

यता इन्जिनियरिङ तथा ठेक्क जोखिम बीमामा पनि भारी गिरावट आएको छ । कम्पनीहरुले यस्तो बीमा मार्फत आर्जन गर्ने बीमा शुल्क २१.०७ प्रतिशतले घटेको छ । विशेषगरि जलविद्युत आयोजना, पुल, सडक लगायतका ठुला पूर्वाधार निर्माणले गति लिन नसक्दा नै इन्जिनियरिङ् बीमाको व्यापार घटनको हो । चालु आवको ७ महिनामा कम्पनीहरुले यस्तो बीमा मार्फत ३ अर्ब २० करोड २८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन् । तर, गत आवको माघ मसान्तसम्ममा भने कम्पनीहरुले ४ अर्ब ५ करोड ७८ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए ।

यस्तै, कृषि तथा बाली बीमाको व्यापार पनि १२.८६ प्रतिशत घटेको छ । गत वर्षको माघसम्म कम्पनीहरुले कृषि तथा बाली बीमाबाट १ अर्ब २६ करोड ८२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका थिए । तर, यो वर्षको सोही अवधिमा भने १ अर्ब १० करोड ५० लाख रुपैयाँ मात्रै संकलन गरेका छन् ।

यस्तै, लघुबीमा मार्फत पनि कम्पनीहरुले ८ करोड २३ लाख र विविध बीमा मार्फत २ अर्ब ६७ करोड ६२ लाख रुपैयाँ बीमा शुल्क आर्जन गरेका छन्।


प्रतिक्रिया दिनुहोस्