नयाँ बीमा कम्पनीको लाइसेन्स दिने नीति छैनः प्राधिकरण « Arthapath.com
२५ असार २०८२, बुधबार

नयाँ बीमा कम्पनीको लाइसेन्स दिने नीति छैनः प्राधिकरण



काठमाडौँ । नेपाल बीमा प्राधिकरणले आगामी आर्थिक वर्षभित्र कुनै पनि नयाँ बीमा कम्पनीको लाइसेन्स जारी गर्ने आफूहरुको ‘नीतिमा नभएको’ बताएको छ ।

प्राधिकरणले मंगलबार आगामी सालको नीति तथा कार्यक्रम सार्वजनिक गर्न आयोजना गरेको पत्रकार सम्मेलनमा अध्यक्ष शरद ओझाले यस्तो बताएका हुन् ।

‘नयाँ लाइसेन्स दिने विषय हाम्रो वार्षिक नीति तथा कार्यक्रममा समावेश छैन’ उनले भने ।

विगतमा बीमा प्राधिकरण (तत्कालिन बीमा समिति)मा नयाँ नेतृत्व आएपछि नयाँ लाइसेन्स दिने सिलसिला चलेको थियो । यस अघिका अध्यक्षहरु चिरञ्जीवी चापागाइँले जीवन तथा निर्जीवन बीमा कम्पनीहरुलाई लाइसेन्स दिएका थिए भने अर्का अध्यक्ष सूर्य सिलवालले पुनर्बीमा र लघुबीमा कम्पनीहरुको लाइसेन्स बाँडेका थिए ।

तर ओझा अध्यक्ष बन्नु अघि नै बीमा क्षेत्रमा पनि ‘एकीकरण’ अर्थात् मर्जर गर्नुपर्ने माग उठ्न थालिसकेको थियो । यस्तो अवस्थामा पत्रकारहरुले नयाँ लाइसेन्स दिने योजनाबारे अध्यक्षलाई प्रश्न गरेका थिए ।

अध्यक्ष ओझाले नयाँ लाइसेन्स दिने नीति नभएको प्रष्टमात्रै पारेनन्, उनले नयाँ लघु बीमा कम्पनीहरु सञ्चालनमा आइसकेपछि पुराना बीमा कम्पनीले पनि लघु बीमा गराउनु पर्ने नीतिलाई पुनर्विचार गर्न आफूहरु तत्पर रहेको पनि बताए ।

लघु बीमा कम्पनीहरुको लाइसेन्स दिइएपछि बीमा कम्पनीहरुबीच व्यावसायिक क्षेत्राधिकारको विषयलाई लिएर विवाद उत्पन्न हुँदै आएको थियो । यसलाई सल्टाउन प्राधिकरणले गृहकार्य गरिरहेको ओझाले बताएका छन् ।


प्रतिक्रिया दिनुहोस्