आईएमई लाइफको मूल्यांकन स्तरोन्नति, ‘बीबीबी प्लस’ बाट ‘ए माइनस’ मा उक्लियो
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स लिमिटेड ले आफ्नो जारीकर्ता मूल्यांकनमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ । केयर रेटिङ्स नेपाल लिमिटेड ले कम्पनीको मूल्यांकन ‘केयर एनपी बीबीबी प्लस’ बाट स्तरोन्नति गर्दै ‘केयर एनपी ए माइनस’ प्रदान गरेको हो ।
कम्पनीका अनुसार उक्त स्तरोन्नतिले सुदृढ वित्तीय अवस्था, प्रभावकारी जोखिम व्यवस्थापन, सुधारोन्मुख व्यावसायिक कार्यसम्पादन तथा सुशासनप्रतिको प्रतिबद्धतालाई प्रतिबिम्बित गरेको छ । साथै, बीमित तथा सरोकारवालाप्रति कम्पनीले कायम गरेको विश्वासलाई पनि यसले पुष्टि गरेको जनाएको छ ।
‘केयर–एनपी ए माइनस’ मूल्यांकनले कम्पनीसँग आफ्नो वित्तीय दायित्व समयमै पूरा गर्ने पर्याप्त क्षमता रहेको संकेत गर्ने बताइएको छ । अघिल्लो मूल्यांकनको तुलनामा कम्पनी अझ सक्षम र विश्वसनीय संस्थाका रूपमा स्थापित भएको मूल्यांकनमा उल्लेख छ ।
कम्पनी व्यवस्थापनले यो उपलब्धिलाई ग्राहक, अभिकर्ता, कर्मचारी, लगानीकर्ता तथा सम्पूर्ण सरोकारवालाको विश्वास र सहयोगको प्रतिफल भएको जनाएको छ । आगामी दिनमा ग्राहक सेवा, संस्थागत सुशासन, नवप्रवर्तन तथा दीर्घकालीन वित्तीय स्थायित्वलाई थप सुदृढ बनाउँदै लैजाने प्रतिबद्धता पनि कम्पनीले व्यक्त गरेको छ ।
‘भविष्य सुनिश्चितता’ भन्ने मूल नारासहित सञ्चालनमा रहेको आईएमई लाइफ इन्स्योरेन्स लिमिटेड नेपालका अग्रणी जीवन बीमा कम्पनीमध्ये एक हो । कम्पनीले जीवन बीमामार्फत व्यक्ति तथा परिवारको आर्थिक सुरक्षा, बचत तथा भविष्य सुनिश्चित गर्ने उद्देश्यका साथ विभिन्न जीवन बीमा योजनाहरू सञ्चालन गर्दै आएको छ ।
देशभर शाखा सञ्जाल, उपशाखा तथा हजारौं अभिकर्तामार्फत सेवा विस्तार गरेको कम्पनीले जीवन बीमाको पहुँच विभिन्न समुदायसम्म पुर्याउँदै आएको जनाएको छ । ग्राहककेन्द्रित सेवा, डिजिटल प्रविधिको प्रयोग, जिम्मेवार लगानी व्यवस्थापन तथा नवीन बीमा समाधानमार्फत कम्पनीले नेपाली बीमा क्षेत्रमा छुट्टै पहिचान बनाएको दाबी गरेको छ ।
व्यावसायिक गतिविधिसँगै कम्पनीले स्वास्थ्य, शिक्षा, वित्तीय साक्षरता, सामुदायिक विकास तथा सामाजिक उत्थानका क्षेत्रमा विभिन्न सामाजिक उत्तरदायित्व कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ । कम्पनीले समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यका साथ विभिन्न सामाजिक अभियानमा सक्रिय सहभागिता जनाउँदै आएको पनि उल्लेख गरेको छ ।














