जोखिममा आधारित पूँजी तथा बीमालेख नियमन प्रक्रियाबारे बीमाङ्की विज्ञानका विद्यार्थीसँग अन्तर्क्रिया « Arthapath.com
२८ जेष्ठ २०८३, बिहिबार

जोखिममा आधारित पूँजी तथा बीमालेख नियमन प्रक्रियाबारे बीमाङ्की विज्ञानका विद्यार्थीसँग अन्तर्क्रिया



काठमाडौं । नेपाल बीमा प्राधिकरणले जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र तथा बीमालेख नियमन प्रक्रियाबारे बीमाङ्की विज्ञान अध्ययनरत विद्यार्थीहरूसँग अन्तर्क्रिया कार्यक्रम आयोजना गरेको छ ।

प्राधिकरणको केन्द्रीय कार्यालय कुपण्डोलमा आयोजित कार्यक्रममा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको स्कूल अफ म्याथमेटिकल साइन्समा स्नातक तहको छैटौं र आठौं सेमेस्टरमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्य जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र, यसको कार्यान्वयन अवस्था, समयसीमा, प्रभावकारिता, अन्तर्राष्ट्रिय अभ्यास तथा बीमालेख विकासका चरण र स्वीकृति प्रक्रियाबारे विद्यार्थीलाई विस्तृत जानकारी गराउनु रहेको प्राधिकरणले जनाएको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल बीमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदीले बीमाङ्की विज्ञानको अध्ययन तथा अनुसन्धानमा प्राधिकरणले त्रिभुवन विश्वविद्यालयसँग सहकार्य गर्दै आएको बताए । उनले बीमाङ्की विज्ञान अध्ययनको गुणस्तर अभिवृद्धिका लागि नीतिगत व्यवस्था र स्रोत परिचालनमा समेत प्राधिकरण सहकार्य गर्न तयार रहेको उल्लेख गरें ।

उनले स्वदेशमा बीमाङ्की तथा बीमाङ्कीय विश्लेषकको माग बढ्दै गएको भन्दै प्रत्येक बीमा कम्पनीले बीमाङ्की तथा बीमाङ्कीय विश्लेषक नियुक्त गर्नुपर्ने व्यवस्था गरिएकाले बीमाङ्की विज्ञानका विद्यार्थीका लागि नेपालमै रोजगारीको राम्रो अवसर सिर्जना भएको जानकारी दिए ।

प्राधिकरणका निर्देशक ध्रुव तिमिल्सिनाले बीमा क्षेत्रको विकास, स्थायित्व तथा व्यावसायिक सुदृढीकरणमा बीमाङ्की तथा बीमाङ्कीय विश्लेषकहरूको भूमिका महत्वपूर्ण हुने बताए ।

कार्यक्रममा प्राधिकरणकी उपनिर्देशक निर्मला मल्ल ले जोखिममा आधारित पूँजी सम्बन्धी मार्गचित्र, कार्यान्वयनको समयसीमा र प्रभावकारितासहित बीमाङ्कीको भूमिकाबारे प्रस्तुति दिइन् । त्यसैगरी सहायक निर्देशक सुधा काफ्लेले बीमालेख विकासका चरण तथा नियामकीय प्रक्रियासम्बन्धी प्रस्तुति दिइन् ।

अन्तरक्रियामा सहभागी विद्यार्थीहरूले बीमा क्षेत्रमा बीमाङ्कीको आवश्यकता, जोखिम व्यवस्थापनमा जोखिममा आधारित पूँजीको भूमिका, यसको कार्यान्वयन अवस्था, बीमालेख विकासमा बीमाङ्कीको योगदान तथा रोजगारीका अवसरबारे जिज्ञासा राखेका थिए ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालय स्कूल अफ म्याथमेटिकल साइन्सका निर्देशक नवराज पौडेल, कार्यक्रम संयोजक केशव राज फुलारा लगायत विद्यार्थीहरूको सहभागिता रहेको थियो ।


प्रतिक्रिया दिनुहोस्