लगानीकर्ताले बल्ल जलविद्युत्को सेयरको महत्व बुझ्न थालेका छन् « Arthapath.com
८ कार्तिक २०७८, सोमबार

लगानीकर्ताले बल्ल जलविद्युत्को सेयरको महत्व बुझ्न थालेका छन्



नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा ड्याम बनाएर पञ्चकन्या गाउँपालिकामा विद्युत् उत्पादन गर्ने गरी सन् २००७ सालमा दर्ता भएको बुद्धभूमि हाइड्रोपावर कम्पनीले गत साउन ३२ गतेदेखि भदौ १४ गतेसम्म स्थानीय प्रभावित नुवाकोटवासीलाई चार लाख कित्ता सेयर निष्कासन गरेको थियो । कम्पनीले गत असोज ११ गतेदेखि १४ गतेसम्म सर्वसाधारणका लागि आठ लाख कित्ता सेयर निष्कासन गरिसकेको छ । सर्वसाधारणका लागि निष्कासन गरेको आठ लाख कित्तामध्ये सात लाख ४४ हजार सेयर कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था थियो । आगामी वर्ष विद्युत् उत्पादन गरी बत्ती बाल्ने गरी काम भइरहेको बुद्धभूमिको ९० प्रतिशतभन्दा बढी निर्माणको काम सकिएको छ । उक्त कम्पनीका अध्यक्ष रहेका पूर्णलाल श्रेष्ठसँग विद्युत् आयोजनाको निर्माणबारे गत हप्ता उषा रेग्मीले गरेको कुराकानीको सारसङ्क्षेप ः

सन् २००७ सालमा दर्ता भएको कम्पनीले विद्युत् आयोजना निर्माण गर्न र सेयर निष्कासन गर्न ढिलाइ भयो नि ?

नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको हिसाबले हेर्दा धेरै चाँडो हो । हामीले विभिन्न समस्या झेल्दै अगाडि बढ्दा आइपिओ जारी गर्न ढिलाइचाहिँ पक्कै भएको हो । विगतमा भएका सरकारी नीति, नियमको कारणले पनि आयोजना निर्माण गर्न अवरोधको सामना गर्नुप¥यो ।

किन स्थानीय र सर्वसाधारणमा आकर्षण बढी नै देखियो नि ?

नुवाकोटका स्थानीयले पहिले जलविद्युत्को सेयरको महत्व नै बुझेका थिएनन् । अहिले बुझेका छन् । त्यही भएर नुवाकोटवासीले यसअघि माउन्टेन इनर्जीको सेयर बढेको देखेपछि बुद्धभूमिमा लगानी गर्न उत्साहित देखिनुभयो । सेयर खुलेकै दिनमा सर्वसाधारणले निष्कासन भएकोभन्दा बढी आवेदन दिनुभयो । सर्वसाधारणले आवेदन दिने अन्तिम दिन मात्रै २५–२६ करोडको आवेदन प¥यो । अहिले नुवाकोटवासी जलविद्युत्को सेयर खरिद गर्न लालायित देखिन्छन् ।

आयोजना सानो, तर चर्चा त ठूलो भयो नि बुद्धभूमिको ?

हाम्रो आयोजनाको गाउँपालिकासँग विवाद भएको होइन । कुलोको विषयमा स्थानीयसँग कुरा नमिलेको हो । स्थानीय किसानको सबै पानी ड्याम बाँधेर लग्यो भने कुलो सुक्छ भन्ने भनाइ थियो । किसानको माग सम्बोधन गरेर आयोजना अघि बढाएका हौँ । यो आयोजना सरकारले तोकेको मापदण्ड क्यु फोर्टीमा डिजाइन हुनुपर्ने हामीले क्यु ५३ मा बनाउन लागेका छौँ । यो आयोजनाले पाँच मेगावाटको भए पनि ६ मेगावाटभन्दा बढीको रेभिन्यु दिन्छ । आयोजनाको चर्चा विविध कारणले गर्दा धेरै भयो । अहिले यो आयोजनाप्रति स्थानीयवासीले सकारात्मक भएर सहयोग गरिरहनुभएको छ ।

यस आयोजनाको लागत सरकारले तोकेभन्दा झन्डै दोब्बर भयो, किन ?

कुनै पनि प्रोजेक्ट १५–१६ करोडमा बनेको छैन । त्यसैले यो लागत धेरै होइन । हाम्रो आफ्नै लगानीमा भएको हुँदा जतिसक्दो कम लागत गर्ने सोच छ । निर्माण केही ढिलाइ हुँदा प्रस्ताव गरेको लागतमा बढेको हो ।

आयोजना निर्माण कार्य कहाँ पुग्यो, बत्ती कहिले बल्छ ?

गत असोजको अन्तिमसम्म बत्ती बाल्ने लक्ष्यका साथ काम भइरहेको थियो । विविध कारणले त्यो मितिमा बत्ती बाल्न सकेनौँ । अब मङ्सिरको पहिलो हप्ताभित्रै टेस्टिङ हुन्छ । यसले पाँच मेगावाटको बिजुली उत्पादन गर्छ । विद्युत् आयोजनाको भौतिक निर्माण कार्य सम्पन्न भइसकेको छ । प्राविधिक केही कार्य कात्तिक महिनाभित्र सक्छौँ । अहिले आयोजनाको बाँकी काम दिनरात भइरहेको छ ।

यो आयोजना सम्पन्न भइसकेको छ । अर्को कुनै आयोजनाको सोच बनाउनुभएको छ कि ?

खासै प्रोजेक्ट त छैन । तर, यसै प्रोजेक्टको लगानी डेभलप गर्दै त्योभन्दा माथि अर्को घ्याङफेदी आठ मेगावाटको र अर्को २२ मेगावाटको पनि बनाउने योजना रहेको छ ।

निजी क्षेत्रको लगानीमा नुवाकोट जिल्लामा जलविद्युत् आयोजना खासै बनेका छैनन्, सम्भावना कस्तो देख्नुहुन्छ ?

नुवाकोटमा धेरै खोला छन् । हाम्रो आयोजनाभन्दा माथि ६ वटा जति प्रोजेक्ट छन् । सबै लाइसेन्स लिइसकेको छ । तिनीहरू बनेका छैनन् । डेभलपरले नबनाएको हो कि, प्राविधिक कारणले नबनाएको हो । स्थानीयको कारणले नबनाएको पनि हुन सक्छ । आयोजना बन्न स्थानीय सरकारले ठूलो सहयोग र समन्वय गरिदिनुपर्छ । स्थानीय सरकारको सहयोगबिना विद्युत् आयोजना सम्पन्न हुन सक्दैन ।

प्रायः जलविद्युत् आयोजनालाई स्थानीयको अवरोध किन हुन्छ ?

हामीले पनि स्थानीयको अवरोध धेरै भोग्नुप¥यो । किनभने त्यो क्षेत्रमा जनघनत्व बढी भएको ठाउँमा हामीले सुरु गरेको हो । स्थानीय आफैँ विरोधमा आउने होइन । स्थानीय अगुवाहरूको उक्साहट र चलखेलको कारण अवरोध हुने गर्छ । स्थानीयलाई यथार्थ बुझाउन सकियो भने सहयोग मिल्छ । त्यसका बाबजुद पनि सरकारका कतिपय निर्णय कमजोर छन् । जस्तै, जग्गा दिने कुरा, अकुपाई गर्ने, त्यो सरकारबाट सहयोग भएको छैन । यदि भोलिका दिनमा सरकारले सहयोग ग¥यो भने स्थानीयलाई कन्भिन्स गर्न सकिन्छ । स्थानीयले यथार्थ नबुझ्दा जलविद्युत् आयोजनाले अवरोधको सामना गर्नुपरेको छ ।

यो आयोजनाले लगानीकर्तालाई अर्को वर्ष कति प्रतिफल दिन सक्छ ?

पहिलो वर्ष नै बोनस बाँड्ने भन्ने हुँदैन । बैंकको ब्याज १२ करोड तिर्नुपर्छ । हाम्रो डाटाअनुसार पहिलो वर्ष नै बिजुली बेचेर १८ करोड रुपैयाँ आउँछ । मेसिन पनि राम्रो छ । दोस्रो–तेस्रो वर्ष ११ प्रतिशत बाँड्न सकिन्छ । यो आयोजनाले अन्य आयोजनाले भन्दा कुनै भवितव्य नभएमा राम्रो प्रतिफल दिनेछ ।

तपाईंलाई व्यवसायी, सहकारीकर्मी के भन्ने ? तपाईंको परिचय के हो ?

म व्यापारी नै हो । राजनीतिक रूपमा म एमाले पार्टीमा आबद्ध भएर लागिरहेको छु । राजनीतिमा लाग्दा म राजनीतिकर्मी हो र व्यापारमा बस्दा म व्यापारी हो ।


प्रतिक्रिया दिनुहोस्