‘सरकारी बैंकहरु पनि प्रतिस्पर्धी हुन सक्छन, सरकारले आवश्यक ठाने मर्जर सम्भव’ : सीईओ श्रेष्ठ [अन्तर्वार्ता] « Arthapath.com
११ माघ २०७९, बुधबार

‘सरकारी बैंकहरु पनि प्रतिस्पर्धी हुन सक्छन, सरकारले आवश्यक ठाने मर्जर सम्भव’ : सीईओ श्रेष्ठ [अन्तर्वार्ता]



काठमाडौं । सरकारी स्वामित्वमा रहेको राष्ट्रिय वाणिज्य बैंक ५८औं वर्षम प्रवेश गरेको छ । वि.स. २०२२ माघ १० गते पूर्ण सरकारी स्वामित्वको दोस्रो ठुलो बैंकको रुपमा स्थापना भएको थियो ।

बैंकले देशको वित्तीय कारोबारसम्वन्धी आवश्यकतालाई सम्वोधन गरि बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ । बैंकले उद्योग, व्यापार, प्राथमिकता प्राप्त क्षेत्र, उत्पादनशील क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गरि सरकारी नीति तथा कार्यक्रमलाई सफल बनाउन उल्लेख्य भुमिका खेलेको छ । बैंकले स्रोत साधानको प्रभावकारी व्यवस्थापनबाट आधुनिक एवम् गुणस्तरीय ग्राहकमैत्री बैंकिङ्ग सेवा प्रदान गर्न दृढताका साथ निरन्तर लागि रहेको छ । हाल बैंकको वर्तमान अवस्था, हालसम्म गरेका उपलब्धी र आगामी रणनीति के कस्ता छन् ? प्रस्तुत छ बैंकको स्मारिका ‘उपहार २०७९’ का लागि बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) किरण कुमार श्रेष्ठसंग गरिएको कुराकानीको सम्पादित अंश ।

राष्ट्रिय वाणिज्य बैंकको वर्तमान अवस्थाको बारेमा संक्षेपमा प्रकाश पारिदनुहोस् न ?

अहिलेसम्म चालु आर्थिक वर्ष २०७९.८० को महिना (पुस मसान्त) व्यतित भइसकेको छ र हामीले भर्खरै पहिलो अर्धवार्षिक खाताबन्दीको कार्य पनि समापन गरेका छौं । अघिल्लो आवमा यस बैंकले नेपालको बैंकिङ्ग क्षेत्रमा उल्लेखनीय स्थान ओगट्न सफल भएको विवरण सार्वजनिक भइसकेको छ । नेपालको बैंकिङ्ग क्षेत्रमा यस बैंकका वित्तीय तथा गैरवित्तीय सूचकहरू अग्रस्थानमा रहेका छन्। आजको दिनसम्म आइपुग्दा यस बैंकको कुल निक्षेप २ खर्व ८२ अर्ब रुपैयाँ र कुल कर्जा सापट २ खर्र्ब ४१ अर्ब रुपैयाँ रहेको छ ।

बैंकको निष्कृय कर्जा करिब २.०९ प्रतिशत, आधारदर १.२९ प्रतिशत, कर्जा निक्षेप अनुपात ८३ प्रतिशत रहेको छ । बैंकसँग कारोबार गर्ने कुल ग्राहकको संख्या करिब ३८ लाख पुगेको छ भने भौगोलिक उपस्थितिका हिसाबले ७ वटै प्रदेशका ७७ वटै जिल्ला र सबै जिल्ला सदरमुकाममा समेत गरी जम्मा २६५ शाखा कार्यालयहरू सञ्चालनमा रहेका छन्। डिजिटल बैंक क्षेत्रमा समेत बैंकले उल्लेखनीय फड्को मारेको छ । हालसम्म करिब ७ लाख एटीएम प्रयोगकर्ता, करिब १६ लाख मोबाइल वै प्रयोगकर्ता, २० हजार इन्टरनेट बैंकि प्रयोगकर्ता तथा १० हजार बिएलबी प्रयोगकर्ता रहेका छन्।

हाल यस बैंकले बैंकिङ क्षेत्रमा निजी तथा संयुक्त लगानीका विभिन्न वाणिज्य बैंकहरूसँग प्रतिस्पर्धा गरिरहेको छ अवस्था एकातर्फ छ भने अर्कोतर्फ सरकारी बैंकका रूपमा सरकारका नीति तथा कार्यक्रमहरूको कार्यान्वयनमा प्राथमिकता समेत दिँदै आफ्ना गतिविधिहरू सञ्चालन गरिरहेको छ । यस्तो अवस्थामा समेत बैंकले नेपालको बैंकिङ क्षेत्रमा अग्रणी स्थान हासिल गर्दै आफूलाई बलियो प्रतिस्पर्धीका रूपमा प्रस्तुत गरिरहेको छ । के अब सरकारी बैंकहरु साँचो अर्थमा प्रतिस्पधी भएकै हुन् वा यी उपलब्धिहरू अन्यकालीन मात्र हुन् ? प्रस्ट पारिदिनुहोस् न ।

बैंकको ५८ वर्षको इतिहाँसमा सर्वसाधारणमा बैंकिङ बानीको विकास गराउने पुरानो बैंक तथा सरकारको स्वामित्वमा रहेको बैंक जस्ता आधारहरुलाई आत्मसात् गर्दै समय परिस्थितिअनुसार आफ्ना कार्यशैली तथा कार्यपद्धतिमा परिवर्तन गरी सेवा सुविधाहरूको आधुनिकीकरण गरेका कारण नै यो बैंक आजको स्थितिमा आइपुगेको भन्ने लागेको छ । हामी यतिबेला सरकारी स्वामित्वका निकायहरू प्रतिस्पर्धी हुन सक्दैनन्, यिनीहरुबाट सेवाग्राहीहरूको अपेक्षाअनुसारको सेवा प्रवाह हुन सक्दैन तथा यस्ता निकायका कर्मचारीहरू ग्राहकमैत्री हुन सक्दैनन् भन्ने परम्परागत सोचमा परिवर्तन गरी सबै सरकारी निकायहरू प्रतिस्पर्धी हुन सक्छन् भन्ने तथ्य प्रमाणित गर्ने प्रयासमा छौं। हाम्रो यस प्रयासको फलस्वरूप नै हाल यस बैंकको प्रतिस्पर्धी क्षमता बढेर गएको महसुस गरिएको छ । हाम्रो यो अभियान सफल भएमा बैंकले अझ धेरै उपलब्धिहरू हासिल गर्न सक्ने र यस्ता उपलब्धिहरू दीर्घकालीन रहने विश्वास लिएको छु ।

परिवर्तित सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकले आफ्नो व्यवसायमा विस्तार तथा विविधीकरण गर्नुपर्ने महसुस गरेको छ वा छैन ? यस सम्बन्धमा बैंकको के कस्तो रणनीति रहेको छ ?

अवश्य पनि परिवर्तित सन्दर्भमा हामी अहिले बैंकको व्यवसाय विस्तार र विविधीकरणका लागि बैंकले प्रदान गरिरहेका सबै सेवा सुविधाहरूको स्तरोन्नति, आधुनिकीकरण र प्रविधियुक्त बनाउँदै ग्राहकको अपेक्षा अनुकूल बनाउनुपर्ने महसुस गरी त्यसतर्फ अगाडि समेत बढिरहेका छौं। हामी अहिले सेवा सुविधाका आधारमा अन्य बैंकहरूसँग प्रतिस्पर्धात्मक क्षमताका साथ अगाडि बढिरहेका छौं । स्रोत संकलन र परिचालनका लागि बैंकको पुँजीको आधार वृद्धि गर्ने, ऋणपत्र जारी गर्ने, वैदेशिक ऋण लिने तथा संकलित स्रोतलाई राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा लगानी गर्ने जस्ता प्रकृयाहरूलाई अगाडि बढाइरहेका छौं । त्यस्तै, प्रविधिका क्षेत्रमा व्यापक परिवर्तन गर्दै डिजिटल बैंकिङ्ग कारोबारलाई उच्च प्राथमिकतामा राखेका छौं । यसका अतिरिक्त बैंकको कार्यप्रणालीमा सुधार गर्न बिजनेस प्रोसेस रि इन्जिनेरिङ्ग, बैंकको अचल सम्पतिहरूको स्याहार, सम्बर्द्धन र पूर्ण उपयोगिताका लागि ब्ककभत ग्तष्ष्शिबतष्यल एचयवभअत, बैंकको सूचना प्रविधि प्रणालीलाई समयसापेक्ष तथा सुदृढ बनाउन आईटी इनह्यासमेन्ट प्रोजेक्ट, स्वचालित हिसाबमिलानका लागि कम्प्रे जस्ता महत्त्वपूर्ण परियोजनाहरू पनि सञ्चालनमा ल्याएको छौं ।

अहिले बैंकिङ बजारमा लगानीयोग्य रकमको अभाव रहेको भन्ने सुनिन्छ । एकातिर बैंक तथा वित्तीय संस्थाहरुले कर्जा लगानी गर्न प्रायः बन्द गरेको र अर्कोतिर लगानी भएका कर्जामा उच्च ब्याजदर भएका कारण उद्योगी व्यवसायीहरू मारमा परेका गुनासा बढिरहेका छन्। यस्तो अवस्थाले राष्ट्रिय वाणिज्य बैंकमा के कस्तो असर परेको छ ? मुलुककै बैंकिङ क्षेत्रको अग्रणी संस्था भएका नाताले यस बैंकले उल्लिखित परिस्थितिलाई सम्बोधन गर्न के कस्ता रणनीति तय गरेको छ ?

कोभिड–१९ को प्रकोप सामान्यीकरण भई आर्थिक क्रियाकलापहरूमा बढोत्तरी भएसँगै कर्जाको माग उच्च भएको र तत्कालीन अवस्थामा बैंकहरूमा अधिक तरलताको अवस्था भएका कारण न्यून ब्याजदरमा ठुलो परिमाणमा कर्जा प्रवाह भएको अवस्था थियो । तर कर्जाको तुलनामा निक्षेपमा वृद्धि हुन सकेन । आन्तरिक मात्र होइन, वैदेशिक व्यापारमा पनि उच्च वृद्धि भयो । आयातमा भएको वृद्धिका कारण विदेशी मुद्रा सञ्चितिमा दबाब पर्यो । बैंकिङ् प्रणालीमा कुल निक्षेपमा ह्रास आयो । फलस्वरूप विगत वर्षदेखि नै बैंकि बजारमा लगानीयोग्य रकमको अभाव भएको देखिन्छ। हालसम्म पनि बैंकिङ प्रणालीमा लगानीयोग्य रकमको अभाव यथावत् नै रहेको छ । निश्चित क्षेत्रमा बाहेक हाल कर्जा लगानी प्रायः बन्द रहेको अवस्था छ भने कर्जा सीमा उपभोग गरिरहेका ग्राहकहरूको कर्जाको व्याजदर केही उच्च भएको अवश्य हो । तर अहिले बैंकहरूले संकलन गरेको निक्षेपको ब्याजदर पनि उच्च नै छ । निक्षेपको ब्याजदर उच्च भएपछि बैंकको आधारदर उच्च हुने नै भयो। परिणामस्वरूप कर्जाका ग्राहकहरूले उच्च ब्याज बुझाउनुपर्ने अवस्था आएको छ । यस सम्बन्धमा उद्योगी, व्यवसायीहरूले गुनासो गरिरहेका छन्, उनीहरूसँग हामी छलफल र अन्तक्रियामा छौं । जहाँसम्म वर्तमान अवस्थाले हाम्रो बैंकलाई परेको असर सम्बन्धमा तपाईंको प्रश्न छ, यो एकदमै जायज छ । हो, वर्तमान अवस्थाले नेपालको बैंकिङ् प्रणालीमा आवद्ध सबै बैंकहरूलाई नकारात्मक असर पारेको छ । हामीले पनि ग्राहकले माग गरे बमोजिम कर्जा लगानी तथा विस्तार गर्न सकिरहेका छैनौं। यद्यपि कृषि कर्जा, सहुलितपूर्ण कर्जा, विपन्न वर्ग कर्जा तथा राष्ट्रिय प्राथमिकता प्राप्त क्षेत्रमा गरिने कर्जा लगानीलाई हामीले रोकेका छैनौ । कर्जाका ग्राहकहरूको ब्याजदरसम्बन्धी गुनासोलाई सम्बोधन गर्न हामी प्रयासरत छौ। नेपाल सरकारको स्वामित्व रहेको तथा मुलुककै अग्रणी बैंक भएका नाताले पनि बैंकिङ प्रणालीलाई स्थायित्व प्रदान गर्न यस बैंकले खेल्न सक्ने भूमिकाका सम्बन्धमा हामी सरोकारवाला निकायहरूसँग परामर्श गरिरहेका छौं ।

केही समयदेखि बैंकहरूले तरलता अभाव भन्दै उच्च व्याजदरमा लामो अवधिको निक्षेप संकलन गरिरहेका छन्। यसबाट बैंकहरूको ब्याज खर्च लामो अवधिसम्म उच्च हुने र त्यसको प्रभावले बैंकहरूको आधारदरमा समेत दबाब पर्ने देखिन्छ । यस्तो अवस्थामा के अब कर्जाको ब्याजदर सामान्यतयः २ अङ्कभन्दा कम हुने सम्भावना छैन ? यसलाई यहाँले कसरी हेर्नुभएको छ ?

नेपालको बैंकिङ प्रणालीमा उच्च ब्याजदरसहितको लामो अवधिको निक्षेपको परिमाण बढ्दै गएको छ । यसले दीर्घकालसम्म बैंकहरूको ब्याज खर्च बढाउने निश्चित छ । यसको असर प्रत्यक्ष रूपमा बैंकहरूको आधारदरमा पर्ने र यस्तो आधारदर उच्च हुन गई कर्जाको ब्याजदर पनि उच्च हुने देखिन्छ । मेरो विचारमा बैंकहरूले तत्काल महँगो दरको निक्षेप संकलन कार्यमा सुधार गर्नुपर्दछ । आवधिक निक्षेपभन्दा बचत निक्षेप सङ्कलनलाई जोड दिनुपर्दछ। सङ्कलित निक्षेपलाई उच्च प्रतिफल आउने क्षेत्रको पहिचान गरी लगानी गर्नुपर्दछ । कर्जाको ब्याजदरमा लगाउने प्रिमियममा कटौती गरी कर्जा ग्राहकहरूको गुनासो सम्बोधन गर्ने वातावरण बनाउनुपर्दछ । मुलुकको उद्योग तथा व्यापार व्यवसायको विकास र विस्तारमा लगानी गरी सहयोग पुयाउनु बैंकहरूको कर्तव्य पनि हो। यस कारणले पनि अबका दिनमा कर्जाको ब्याजदर विगतमा जस्तो ५–६ प्रतिशतसम्म त नहोला तर कम्तीमा पनि १ अंकमा झर्ने र केही हदसम्म स्थिर रहने अनुमान गर्न सकिन्छ ।

अहिले राष्ट्रिय वाणिज्य बैंकमा ठूलो संख्यामा नयाँ कर्मचारीहरू भर्ना भइरहेको भन्ने सुनिन्छ एकैपटक यति ठूलो संख्यामा कर्मचारी पदपूर्ति गर्नुपर्ने कारण के हो ? नयाँ कर्मचारीहरूको भर्नाले आगामी दिनमा बैंकको सेवा प्रवाहमा के–कस्तो परिवर्तन आउने अपेक्षा गर्नुभएको छ ?

गत आर्थिक वर्षमा प्रकाशित विज्ञापन बमोजिम यस पटक बैंकमा ८३६ जना नयाँ कर्मचारीको भर्ना प्रकृया चालु अवस्थामा रहेको छ । ४६३ जना अधिकृत र सहायक कर्मचारीहरूको भर्ना प्रकृया सम्पन्नभई पदस्थापन भइसकेको छ भने बाँकी पदहरू पनि निकट भविष्यमा पदस्थापन हुने गरी प्रकृया अगाडि बढिरहेको छ। विगतमा भएका विज्ञापन अदालतको आदेशबाट बदर भएपछि अघिल्लो वर्ष मात्र एकैपटक यति धेरै संख्यामा कर्मचारीहरू भर्ना गर्नुपर्ने अवस्था सिर्जना भयो र सो बमोजिम लोकसेवा आयोगबाट विज्ञापन प्रकाशन भई हाल पदपूर्तिको प्रक्रिया चलिरहेको छ । नयाँ नियुक्त कर्मचारीहरू भर्खरै विश्वविद्यालयीय अध्ययन पूरा गरी वा अन्य बैंकिङ संस्थामा काम गरिरहेका कर्मचारीहरू नै लोकसेवा आयोगको परीक्षा पास गरेर यस बैंकमा प्रवेश गरेका छन् । उनीहरू नयाँ पाठ्यक्रम अध्ययन गरेका, प्रविधिमा दख्खल भएका र बैंकिङ् संस्कृति बुझेका हुनाले आगामी दिनमा बैंकको सेवा प्रवाह र कार्यकुशलतामा सुधार हुने विश्वास गरेको छु। पुराना कर्मचारीहरूको अनुभव र नयाँ कर्मचारीहरूको क्षमता, जोस, जाँगर तथा उत्साहको सम्मिश्रणबाट बैंकले आफ्नो प्रतिस्पर्धी क्षमतामा अझै अभिवृद्धि गर्ने अपेक्षा गरेको छु ।

निजी बैंकहरू एकआपसमा मर्ज भई ठुला बैकहरू बनिरहेको वर्तमान परिप्रेक्ष्यमा राष्ट्रिय वाणिज्य बैंकलाई कस्तो असर पुग्ने देख्नुभएको छ ? सरकारी स्वामित्वका बैंकहरू पनि एकआपसमा मर्ज भई वित्तीय प्रणालीमा सरकारी स्वामित्वको ठूलो बैंक बन्ने कुनै सम्भावना छ ?

स्वाभाविक रूपमा अन्य बैंकहरूको आकार र उपस्थितिमा भएको परिवर्तनले यस बैंकको स्थानलाई असर त पार्छ नै । तथापि हाम्रो यो बैंक ५८ वर्षको लामो इतिहाँस बोकेको, नेपाल सरकारको अधिकांश स्वामित्व रहेको तथा देशका मुख्य सहरदेखि दूरदराजका ग्रामीण बस्तीहरूसम्म सञ्जाल रहेको बैंक हो । यसप्रति ग्राहकहरूको छुट्ट विश्वास र भरोसा छ यति हुँदाहुँदै पनि बैंकले वर्तमानमा बैकिङ क्षेत्रमा आफूलाई प्रतिस्पर्धी तुल्याउन यसको पुँजीगत आधार लगायत प्रविधि र जनशक्ति व्यवस्थापनमा समयानुकूल परिमार्जन गर्नुपर्ने आवश्यकता महसुस गरी योजनाबद्ध रूपमा कार्यक्रमहरू सञ्चालन गरिरहेको छ । जहाँसम्म सरकारी स्वामित्वका बैंकहरुविचको मर्जरको सम्भावनाको कुरा छ, यो नेपाल सरकारको नीति तथा निर्देशनमा भर पर्ने विषय हो । सरकारले विग मर्जर आवश्यक ठान्यो भने सरकारी स्वामित्वका बैंकहरुविचको मर्जर सम्भव छ ।

पछिल्लो समयमा नेपाली अर्थतन्त्रमा रेमिट्यान्सको योगदान बढ्दो स्थितिमा देखिन्छ । यस सन्दर्भमा राष्ट्रिय वाणिज्य बैंकले रेमिट्यान्सलाई सरकारी बैंकमार्फत भित्र्याउन विदेशमा सम्पर्क प्रणाली विकास गर्ने कुनै योजना बनाएको छ ?

पछिल्लो समयमा औपचारिक माध्यमबाट स्वदेश भित्रिने रेमिट्यान्समा वृद्धि भएको छ । राष्ट्र बैंकबाट प्रकाशित पछिल्लो तथ्याङ्क अनुसार गत आवको प्रथम त्रैमासको तुलनामा चालु आवको सोही अवधिमा रेमिट्यान्स १६.८ प्रतिशतले बढेको छ । अझै पनि अनौपचारिक माध्यमबाट नेपाल भित्रिने विदेशी रकमको परिमाण ठुलै रहेको आशङ्का गरिएको छ । ठूलो संख्यामा नेपाली कामदार रहेका मुलुकहरुबाट बैंकिङ प्रणालीमार्फत रेमिट्यान्स भित्र्याउन यस बैंकले त्यस्ता मुलुकहरूमा सम्पर्क कार्यालय खोली कर्मचारीको व्यवस्था गर्ने योजना अगाडि सारेको छ । विशेष गरी अहिले हामीले दुबई, कतार, मलेसिया, जापान, कोरिया तथा भारतमा रेमिट्यान्स प्रतिनिधि ने कार्यलाई अगाडि बढाएका छौं ।

वर्षको अवधिमा बैंकले के–कस्ता महत्त्वपूर्ण उपलब्धिहरू हासिल गर्न सफल भयो र बाँकी अवधिमा बैंक सुधारका के कस्ता योजना रहेका छन् ?

मेरो पहिलो कार्यकालमा बैंकमा धेरै पक्षहरूमा सुधार तथा परिवर्तन भए जस्तो लाग्छ, जसको श्रेय बैंक व्यवस्थापन लगायत सम्पूर्ण कर्मचारीलाई पनि जान्छ । यस कार्यकालमा हामीले क्लिन एण्ड स्मार्ट आरविवि नारासहित बैंकका महत्वपूर्ण पक्षहरूमा सुधारका काम गर्यौं । हामीले बैंकको फिजिकल र फाइनान्सीयल क्लिनलाइन्स र बैंकलाई निजी बैंकहरू सरह प्रतिस्पर्धी बनाउन विभिन्न कदमहरू उठायौं । सर्वप्रथम त हामीले बैंकको अधिकतम स्रोत परिचालन र व्यवसाय विस्तारमा जोड दियौं। फलस्वरूप बैकको ५५ प्रतिशतको हाराहारीमा रहेको कर्जा निक्षेप अनुपात बढेर ८० प्रतिशत माथि पुग्न सफल भयो । कार्यकालको सुरुमा रहेको रु. १.३० खर्बको निक्षेप तथा ७९ अर्बको कर्जा अहिले आएर क्रमशः रु. २ खर्ब ८२ अर्ब र रु. २ खर्ब ४१ अर्ब पुगेको छ भने ४.२५ प्रतिशतको खराब कर्जा २.० ९ प्रतिशतको हाराहारीमा झरेको छ । बैंकलाई क्लिन एण्ड स्मार्ट बनाउन पुराना कागज धुल्याउने, पुराना सामानहरूको लिलामविक्री गर्ने तथा धेरै समयदेखि बाँकी रहेका हिसाब मिलान फस्र्योट गर्ने जस्ता कार्यहरू अगाडि बढायौँ। हामीले बैंकका शाखा सञ्जाल विस्तारमा पनि जोड दियौं र देशका ७ वटै प्रदेश र ७७ वटै जिल्लामा पुग्न सफल भयौं, जसलाई दोस्रो कार्यालयमा थप विस्तार गरी ७७ वटै जिल्ला सदरमुकाममा समेत पुर्यायौं । विगत ७ वर्षमा करिब १०० भन्दा बढी शाखा थपिएका छन् । पहिलो कार्यकालमै हामीले एनआईडीएससँग मर्जरको कार्य सम्पन्न गरी बैंकको आकार वृद्धि गर्यो । साथै सहायक कम्पनी आरविवि मर्चेन्टको पनि स्थापना गयौं । पहिलो कार्यकालमै हामीले बैंकको पञ्चवर्षीय रणनीतिक योजना पनि तयार गर्यौं । साथै म्यानेजमेन्ट अडिट, एचआर अडिट, आईएस अडिट, सक्सेन प्लान तयार गर्ने लगायतका कार्यहरू पनि सम्पन्न भयो ।

हामीले संस्थाभित्रको सङ्गठनात्मक संस्कृति र व्यवहार, संस्थागत सुशासन, कर्मचारी आचरणहरूमा समेत सराकात्मक परिवर्तन ल्याउन धेरै कदमहरू चाल्यौं र धेरै हदसम्म सफल पनि भयौं । बैंकलाई सेवा प्रदान गर्ने कुरामा मात्र नभई भौतिक पूर्वाधारको विकासका कुरामा पनि त्यत्तिकै जोड दिई हरेक पक्षमा निजी बैंकहरूसँग उत्तिकै प्रतिस्पर्धी बनायौँ । बैंकले देशका विभिन्न ठाउँहरूमा आफ्नै भवन निर्माणको कार्यलाई पनि अगाडि बढायो र वर्तमान अवस्थामा बैंकका १८ वटा नयाँ भवनहरू निर्माणाधीन रहेका छन् । जसमध्ये ५ वटाको निर्माण कार्य लगभग सम्पन्न भइसकेको छ भने ३ वटा निर्माणकै प्रक्रियामा छन् । त्यसै गरी हामीले आफ्नो मार्केटिङ र पुनः ब्रान्डिङ्का विषयमा धेरै जोड दियौं । साथै पुराना म्यानुअलहरूको पुनरावलोकन तथा पुनर्लेखनलाई प्रभावकारी ढङ्गले अगाडि लिई हालसम्म करिब २८ वटा म्यानुअल/कार्यविधि/नियमावली आदि पुनरावलोकन गरी आवश्यक संशोधन तथा पुनर्लेखनको कार्य सम्पन्न भएका छन्, जसमध्ये २० वटा पुराना र ८ वटा बिल्कुलै नयाँ म्यानुअलहरू छन् र अन्य बाँकी रहेका म्यानुअलहरू भने पुनरावलोकनको प्रक्रियामा छन् । कर्मचारी अभावले असहजता निम्त्याएको समयमा नयाँ कर्मचारी भर्नाको प्रक्रिया थालनी गरी पहिलो कार्यकालमा १०३९ जना नयाँ कर्मचारी भर्ना सम्पन्न भइसकेका छन् भने दोस्रो कार्यकालमा हालसम्म ८३६ जनाको भर्ना प्रक्रिया थालिएकोमा ४६३ जना नयाँ कर्मचारी भर्ना गरिसकिएको छ । हामीले सूचना प्रविधिको महत्तम प्रयोगतर्फ पनि उत्तिकै जोड दिँदै आईटी अपग्रेडश्न, पुमोरी सेन्ट्रालाईजेशन जस्ता कार्यहरूलाई पनि अगाडि बढायौँ । त्यसै गरी बैंकको जोखिम व्यवस्थापन तथा कम्प्लायन्सका क्षेत्रहरूमा पनि उल्लेखनीय सुधारका कार्यहरू सम्पन्न गर्यो र कर्मचारीको सिप विकासका लागि व्यावक रूपमा तालिमहरू सञ्चालन गरी कर्मचारीहरूलाई हरेक रूपमा सक्षम बनायौं । फलस्वरूप, बैंक धेरैजसो वित्तीय परिसूचकहरूमा अब्बल हुन पुग्यो । आ.व. २०७४/७५, २०७५/७६ र २०७६/७७ मा सबैभन्दा बढी नाफा कमाउने वाणिज्य बैंक र २०७४/७५ मा सबैभन्दा बढी कर तिर्ने वाणिज्य बैंक बन्न सफल भयो । बैंकले इतिहाँसमै सम्भवतः पहिलो पटक सरकारलाई लाभांश दिन पनि सक्षम भएको थियो । अहिले लगातार ४ वर्षदेखि बैंकले लाभांश वितरण गर्दै आएको छ । साथै धेरै समयदेखि रोकिएको कर्मचारी बोनस पनि वितरण गर्न बैंक सफल भएको छ । बैंकले वित्तीय साक्षरता तथा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गतका क्षेत्रहरूमा पनि निकै उल्लेखनीय कार्यहरू गरेको छ । दोस्रो कार्यकालमा सबैभन्दा ठुलो चुनौतीका रूपमा रहेको थियो कोभिड–१९ महामारी । सो समयमा पनि कर्मचारीहरूको स्वास्थ्यको उचित संरक्षणमा प्रतिबद्ध रही बैंकको सेवामा पनि कुनै किसिमको ह्रास आउन नदिई बैंकले त्यस कठिन घडीको सामना गर्न सफल भएको थियो ।

आगामी लक्ष्यका विषयमा अझ विस्तृतमा भनिदिनुहोस् न ?

अहिले म मेरो कार्यकालको ७ औं वर्षमा छु र अहिलेसम्म आइपुग्दा पनि मैले बैंकका केही पक्षमा अझै धेरै सुधारका काम गर्न बाँकी छन् जस्तो लाग्छ । पहिलो कार्यकालमा पूर्ण गर्न नसकिएका वा कमजोर देखिएका पक्षहरू, जस्तैः उच्च गुणस्तरीय सेवा, सम्पत्ति व्यवस्थापन, स्रोत परिचालन, कर्मचारी भर्ना, खराब कर्जा व्यवस्थापन, उच्चतम प्रविधिको प्रयोग आदिमा आगामी दिनमा आमूल परिवर्तन गर्ने महत्वाकांक्ष राखेको छु। बैंकको पुँजी वृद्धि योजनाअनुसार पुँजी २६ अर्ब पुयाउने (जसमध्ये ३ अर्ब नेपाल सरकारबाट प्राप्त भइसकेको छ), बैंकको मुख्य समस्याका रूपमा रहेको जनशक्ति अभावको पूर्ति गर्ने, नयाँ तथा समयसापेक्षी प्रविधिहरू भित्र्याउने र बैंकको सूचना प्रविधि प्रणालीलाई समयसापेक्ष तथा सुदृढ बनाउने योजनाबमोजिम सुरु गरिएको आईटी इन्ह्यासमेन्ट रोडम्याप को कार्यलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने, बैंकका सम्पूर्ण प्रक्रियाहरू, कार्यविधि एवम् पद्धतिलाई सुधार गरी बैंकलाई हरेक पक्षबाट सुदृढ बनाउन बिजनेश प्रोसेस रि इन्जिनेयरिङ्ग को कार्यलाई अगाडि लाने, बैंकको अचल सम्पत्तिको उचित व्यवस्थापन गर्न एससेट युटिलाइजेशन प्रोजेक्ट, बैंकको हिसाब मिलानको कार्यलाई प्रभावकारी बनाउन रिकोनाईजेशन प्रोजेक्ट तथा अनावश्यक खर्च कटौती तथा नियन्त्रणका लागि कष्ट कन्ट्रोल प्रोजेक्ट जस्ता प्रोजेक्टहरूलाई कार्यान्वयन गर्ने आदि मुख्य प्राथमिकताका विषय रहेका छन् । त्यसबाहेक बैंकको ग्राहक सेवामा पनि अझ सुधार ल्याउने र सरकारी स्वामित्वका संस्थाहरूप्रतिको जनमानसमा रहेको नकारात्मक छवि र सरकारी पाराको आरोपलाई हदैसम्म हटाई बैंकलाई हरेक पक्षबाट सुदृढ, सबल र ग्राहकमैत्री बनाउने योजना र प्रतिबद्धता रहेको छ ।

कनै पनि संस्थाको सफलतामा व्यवस्थापन र क्रियाशील ट्रेड युनियनबिचको सुमधुर सम्बन्धले महत्पवूर्ण भूमिका खेलेको हुन्छ । राष्ट्रिय वाणिज्य बैंकको सन्दर्भमा पछिल्लो समय बैंकमा क्रियाशील ट्रेड युनियन र बैंक व्यवस्थापनविच के–कस्तो सम्बन्ध रहेको ठान्नुहुन्छ ?

संस्थाको सफलतामा व्यवस्थापन र क्रियाशील ट्रेड युनियनबिच सम्बन्ध सुमधुर हुनुपर्छ भन्ने कुरामा म सहमत छु । व्यवस्थापनले कर्मचारीका सेवा सुविधा तथा समस्याहरूका विषयमा ट्रेड युनियनसँगको अन्तरिक्रिया र सहकार्यलाई महत्व दिनुपर्छ भने ट्रेड युनियनले पनि व्यावसायिक रूपमा कर्मचारीहरूको हकहित र संस्थाको समृद्धि तथा उन्नतिका खातिर सिर्जनात्मक सल्लाह सुझाव प्रदान गर्नुपर्दछ । दुवै पक्षले आ–आफ्नो जिम्मेवारी बोध गरी कर्तव्य निर्वाह गर्न सकेको खण्डमा संस्थामा सुमधुर सम्बन्ध कायम हुने र यसले व्यवस्थापन तथा कर्मचारी वर्गका लागि असल कार्यवातावरण सिर्जना गर्दछ । राष्ट्रिय वाणिज्य बैंकले विगतदेखि नै ट्रेड युनियनको अस्तित्व र भूमिकालाई महत्त्वका साथ लिने र प्राप्त सुझाव तथा सल्लाहहरूलाई मनन गर्दै व्यवस्थापकीय निर्णयहरू गर्ने गरेको छ । यसको फलस्वरूपमा बैंकमा ट्रेड युनियन र व्यवस्थापनकबिच पहिलेदेखि अहिलेसम्म पनि सुमधुर र मित्रवत सम्बन्ध रहेको ठान्छु ।

अन्त्यमा, बैंकको ५८ औं वार्षिकोत्सवका अवसरमा बैंकका समस्त ग्राहक वर्ग, नेपाल सरकार, बैंकका सेयरधनी, नियामक निकाय, कर्मचारी वर्ग तथा अन्य सरोकारवाला पक्षहरूलाई केही सन्देश दिन चाहनुहुन्छ ?

अन्त्यमा, राष्ट्रिय वाणिज्य बैंक ५७ वर्ष पुरा ५८औं वर्षमा प्रवेश गरेको छ । यस सुखद् अवसरमा म बैंकका समस्त ग्राहक वर्ग, बैंकको अभिभावकका रूपमा रहेको नेपाल सरकार, बैंकका सेयरधनीहरू, नेपाल राष्ट्र बैंक लगायत अन्य नियामक निकाय, कर्मठ एवम् लगनशील कर्मचारी वर्ग, बैंकमा क्रियाशील ट्रेड युनियन लगायत अन्य सरोकारवाला सङ्घ संस्था, निकाय, व्यक्ति सबैमा हार्दिक आभार एवम् शुभकामना व्यक्त गर्न चाहन्छु । यहाँहरूको साथ, सहयोग, निर्देशन, सल्लाह, सुझाव एवम् शुभेच्छाका कारण आज नेपालको बैंकिङ प्रणालीमा अग्रणी बैंकका रूपमा स्थापित भएको छ र बैंक आगामी दिनहरूमा पनि यहाँहरूबाट यस्तै साथ र सहयोग प्राप्त हुने छ भन्ने विश्वास लिएको छ। साथै, बदलिँदो समयसँगै यस बैंकका सेवा सुविधाहरूमा समयानुकूल परिमार्जन गर्दै देशको आर्थिक विकासको पथमा दरिलो सारथीको भूमिका निर्वाह गर्ने प्रतिबद्धता समेत व्यक्त गर्न चाहन्छु ।


प्रतिक्रिया दिनुहोस्