सरकारले कर छुट गरेमा पाँच रुपैयाँमा माक्स बिक्री गर्ने « Arthapath.com
२६ फाल्गुन २०७६, सोमबार

सरकारले कर छुट गरेमा पाँच रुपैयाँमा माक्स बिक्री गर्ने



काठमाडौं । नेपाल चेम्वर अफ कमर्सले चेम्वरका उपाध्यक्ष दीपक मल्होत्राको संयोजकत्वमा भोली देखी बजारमा सर्वसुलभ मूल्यमा माक्सहरु बिक्री हुने भएको छ । दैनिक १५ हजार माक्स उत्पादन गर्ने र विस्तारै उत्पादनदरलाई बढाउँदै लैजाने भएको छ ।

सरकारले उत्पादन गर्दा लाग्ने कस्टमा कर छुट गरेमा पाँच रुपैयाँ र छुट नगरेमा ८ रुपैयाँमा माक्स बजारमा बिक्री गर्ने संयोजक मल्होत्राले बताए । कोरोना भाईरसको संक्रमण दर विश्वमा बढिरहेको र नेपाल पनि उच्च जोखीममा रहेकोले भाइरस भित्रीन नदिन चेम्वरले यो पहल चालेको हो ।

नेपाल चेम्बर अफ कमर्सले आईतवार देशमा कोरोना भाइरस नियन्त्रणका लागि सुरक्षाका सामाग्री सरकारलाई हस्तान्तरण गरेको हो । मल्होत्राले मास्क उत्पादनका लागि आवश्यक मेसिनरीदेखि कच्चा पदार्थ समेत आयात गरिसकेको बताएका छन । उनले उत्पादन गरेको माक्स बजारमा सर्वसुलभ मूल्यमा बिक्री हुने छ ।

चेम्बरमा आइतबार भएको कार्यक्रममा अध्यक्ष राजेशकाजी श्रेष्ठले त्रिभुवन विमानस्थलका कर्मचारी तथा यात्रुलाई रेक्टिफाइड स्प्रीट, चेकजाँच गर्ने मेसिन, स्यानिटाइजर, एप्रोन, पेपर मास्क, एप्रोन क्यापलागायतका सामग्री स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. महेन्द्रप्रसाद श्रेष्ठलाई हस्तान्तरण गरे। चेम्बरले आफ्ना सदस्यहरुमार्फत संकलित उक्त उपकरण सरकारलाई हस्तान्तरण गरेको हो ।

हाल आफुहरुसँग सीमित मास्क, रेक्टिफाइड स्प्रीट, एप्रोन, ज्वरो तथा कोरोना जाँच गर्ने मेशिन भएको र आगामी दिनमा थप संकलन गरेर सरकारका सम्बन्धित निकायलाई हस्तान्तरण गरिने चेम्बर अध्यक्ष श्रेष्ठले जानकारी दिए । नेपालमै मास्क उत्पादन गरेर जनतालाई बिक्री गर्ने योजनामा चेम्बर छ ।


प्रतिक्रिया दिनुहोस्