आपूर्ति मन्त्री भट्टद्धारा ग्राहकको भेषमा बजार अनुगमन « Arthapath.com
१ चैत्र २०७६, शनिबार

आपूर्ति मन्त्री भट्टद्धारा ग्राहकको भेषमा बजार अनुगमन



काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री लेखराज भट्टले आफै ग्राहक बनेर बजारको छड्के अनुगमन गरेका छन । कोरोना भाइरसको संक्रमणको त्रास बढेसँगै नेपालमा दैनिक उपभोग्य वस्तुमा कालोबजारी बढेको भन्ने खबर आउन थालेपछि मन्त्री भट्टले पोखरा बजारमा रहेका पसल तथा डिपार्टमेन्टल स्टोरहरुको निरिक्षण सहित छड्के अनुगमन गरेका हुन् ।

शुक्रबार साँझ सुरक्षाकर्मीहरु पनि साथमा नलगेर बजारको आपूर्ति , भाउको बारेमा जानकारी लिनका लागि उनी त्यहा ग्राहकको भेषमा गएका थिए । पोखरामा रहेका विभिन्न औषधि पसल, किराना पसल र डिपार्टमेन्टल स्टोरमा पसेर उनले सामानको उपलब्धता, सामानको मूल्य, उत्पादन मिति र उपभोग्य मितिको निरिक्षण गरे ।

यसका साथै उनले बजारमा खाद्य सामग्री, मास्क, स्यानिटाइजर, सिटामोल, ग्याँस, नूनको बारेमा पनि जिज्ञासा राखेका थिए । मन्त्री भट्टको सचिवालयका एक सदस्यका अनुसार छड्के अनुगमनका क्रममा बढी मूल्य लिइएको बारे नोट बनाएर आवश्यक कारबाही गर्न सचिव बैकुण्ठ अर्याललाई निर्देशन दिइएको छ ।

पोखराका बजारमा अनुगमन गर्दा मास्क र स्यानिटाइजरको अभाव छिटफूट भए पनि खाद्यान्नमा कुनै समस्या नरहेको पाइएको मन्त्री भट्टको सचिवालयले जनाएको छ । मन्त्री भट्टले यसअघि काठमाडौंका औषधि पसल र खाद्य स्टोरमा पनि अनुगमन गरेका थिए ।


प्रतिक्रिया दिनुहोस्