कोरोना भाइरसको कारण विश्व नै सङ्कटमा, नेपालीले सावधानी अपनाउन थाले « Arthapath.com
६ चैत्र २०७६, बिहीबार

कोरोना भाइरसको कारण विश्व नै सङ्कटमा, नेपालीले सावधानी अपनाउन थाले



कोरोना भाइरसको कारण विश्व नै सङ्कटमा फसेको छ । अहिले विश्वकै अर्थतन्त्र सङ्कटतर्फ धकेलिएको छ । आर्थिक गतिविधि ठप्प हुँदा यसको असर दीर्घकालीन पर्ने देखिएको छ । साना र कमजोर मात्र होइन सबल र सक्षम भनिएका देश पनि कोरोनाको कारण तहस–नहसको अवस्थामा पुगेको छ । आर्थिक विकासले रूखको टुप्पोमा पुगेका देश एकैपटक भुइँमा बजारिने अवस्थामा आएको छ । कोरोना भाइरस शुरु हुँदा चिनियाँ नागरिकलाई मात्र त्यस्तो रोग लाग्ने प्रचार अमेरिकामा गरिए पनि अहिले युरोप र अमेरिकामै सङ्कटकाल लगाइएको छ । कोरोना नियन्त्रणमा नआउने हो भने यसले विश्वको अर्थतन्त्रलाई एक महिनाभित्रमै महासङ्कटतर्फ धकेलिदिनेछ । नेपालजस्तो आयातमा निर्भर अर्थतन्त्र भएको देश त झनै महासङ्कटमा पर्ने देखिन्छ । नेपालको करको भर नै आयात आधारित छ भन्दा हुन्छ । अर्थात् भन्सारबाट उठ्ने करलाई सरकारले महत्वपूर्ण अंशको रूपमा राखेको छ ।

कोरोनाको डरले विश्वको साथै नेपालमा सबै राजनीतिक दलका कार्यक्रम स्थगित भएका छन् । नेपाल सरकारले भेला, छलफललगायतका मानिस भिड हुने कार्यक्रम स्थगित गर्न आह्वान गरेपछि सबै राजनीतिक दलले आफ्नो भेला, छलफल तथा जमघट कार्यक्रम स्थगित गरेका हुन् । कोरोनाको प्रवेश नेपालमा भएको अहिलेसम्म पुष्टि भएको छैन । तर, त्रास भने यति धेरै छ कि, जुनसुकै दिन जहाँबाट पनि कोरोना भाइरस नेपाल प्रवेश गरेर सबैलाई सखाप पार्छ भनेर सबै त्रसित भएका हुन् । सबैले जबर्जस्ती सावधानी अपनाउन थालेका छन् । महामारीको रूपमा कोरोना भाइरस नेपाल प्रवेश गरेमा यहाँ नागरिकलाई जोगाउन सकिने अवस्था छैन । किनकि नेपालको स्वास्थ्य संस्था महामारी नियन्त्रण गर्ने हैसियतमा छैनन् ।

कोरोनाको त्रासको कारण भेला, सभा, सम्मेलनजस्ता ठूला कार्यक्रम बन्द हुँदा देश राजनीतिक रूपमा शून्यजस्तै देखिएको छ । सबै राजनीतिक दलका चिन्ता र चासो कोरोना भाइरस प्रवेश गर्न नदिने र प्रवेश भइहालेमा त्यसलाई चाँडो नियन्त्रण गर्ने भन्नैमै केन्द्रित छ । दलका नेता तथा कार्यकर्ता अहिले राजनीतिक बोलीभन्दा पनि कोराना नियन्त्रणकारीजस्तै भएका छन् । जाने पनि नजाने पनि कोरोना नियन्त्रणमै उनीहरूले समय बिताउने गरेका छन् ।

कोरोनाको कारण विश्व बजारमै पेट्रोलियम पदार्थको माग ३५ प्रतिशतले घटेको तथ्याङ्कले देखाएको छ । त्यस्तै, अन्य आर्थिक गतिविधि पनि कोरानाले प्रभावित बनेको छ । पेट्रोलियम पदार्थको माग बढ्नु भनेको आर्थिक गतिविधि बढ्नु हो । तर, पछिल्लो एक महिनामा आर्थिक गतिविधि बढ्नुको सट्टा घट्दै गएको छ । नेपालमा त त्यस्तो अवस्था छ भने अन्य कोरोना प्रभावित देशको अवस्था झनै भयावह बनेको छ । विश्वका विभिन्न देशमा आर्थिक गतिविधि ठप्प हुन पुग्दा पेट्रोलियम पदार्थको माग घट्न गई मूल्य पनि घटेको हो । चीनको वुहानबाट सुरु भएको कोरोना भाइरसको प्रकोपले अहिले युरोपलाई आक्रान्त पारेको छ । युरोपपछि सबैभन्दा बढी त्रसित अमेरिका बनेको छ । युरोप र अमेरिकामा तेलको माग नै नभएपछि विश्व बजार नै प्रभावित बन्न पुगेको छ । चीनमा पनि पेट्रोलियम पदार्थको माग ह्वात्तै घटेको छ ।

विश्वका १ सय ४५ भन्दा बढी देशमा कोरोना भाइरस देखापरेपछि उद्योग, कलकारखाना बन्दजस्तै छ । मानिसको आवत–जावत विश्वभर कम भएको छ । विश्वभर बाह्य र आन्तरिक दुईतर्फको हवाई उडान झन्डै ७० प्रतिशतले कटौती भएको छ । एक देशले अर्को देशबाट आउने नागरिकका लागि भिसा बन्द गरिदिएको छ । कोरोनाको कारण विश्वका विभिन्न देशका नागरिक आफ्नै देशमा नजरबन्द जस्तै अवस्था छन् ।

नेपालले विदेशीलाई भिसा बन्द गरेको छ । नेपालमा पनि आर्थिक गतिविधि कम हुन थालेको छ । विश्वभर पेट्रोलिमय पदार्थको मूल्य घटेकोकारण बजार मूल्य पनि घट्न थालेको छ । नेपालीको प्रमुख श्रम गन्तव्य मलेसिया, कतार, साउदी अरब, दुबईजस्ता देशमा काम ठप्प भएका छन् । यसले नेपालको अर्थतन्त्रलाई थप कमजोर बनाउने भएको छ । नेपालले पनि अन्य देशको जस्तै आवत–जावत बन्द गर्ने तयारी गरेको छ । यसले अवस्थालाई थप जटिल बनाउनेछ ।
त्रिशुली प्रवाहबाट


प्रतिक्रिया दिनुहोस्