कोरोनाविरुद्ध लकडाउन प्रभावकारी « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

कोरोनाविरुद्ध लकडाउन प्रभावकारी



काठमाडौँ। काठमाडौँ उपत्यका लगायत देशभर नै कोरोना भाइरस (कोभिड–१९) लकडाउन कार्यक्रम प्रभावकारी बन्दै गएको पाइएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन उल्लङ्घन गरेको भन्दै शनिबार १३१ सवारी नियन्त्रणमा लिएको छ ।
महामारी नियन्त्रणका लागि नेपाल सरकारले घोषणा गरेको लक डाउनको पाँचौँ दिन शनिबार मुलुकभरको जनजीवन शान्त र सामान्य रहेको गृह मन्त्रालयले स्पष्ट पारेको छ । पश्चिम नेपालका धनगढी, महेन्द्रनगर, अत्तरिया, नेपालगञ्ज, पोखरा र बुटवल बजार विगतका दिनभन्दा शनिबार झन् ठप्प छन् । धनगढी र बाग्लुङमा कोरोना भाइरसका नयाँ सङ्क्रमित फेला परेपछि लकडाउन थप प्रभावकारी बनेको हो ।
गृह मन्त्रालयले दैनिक उपभोग्य वस्तु ढुवानीका सवारी साधन नरोक्न निर्देशन दिए पनि सञ्चालनमा आउन सकेनन् । त्यस्तै खाद्यस्टोर, किराना र तरकारी पसलहरू पनि खुलेनन् । व्यापारीहरू आफैँ डराउँदा यस्तो समस्या आएको हो । प्रहरी अधिकारीका अनुसार स्टोर पसल सञ्चालन गर्न र आवश्यक खाद्य सामग्री डेलिभरी गर्न आग्रह गर्दा पनि व्यापारीले स्वास्थ्य सुरक्षाको समस्या देखाएका छन् ।
औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपक्षी, माछाको दाना र कुखुराजन्य वस्तु ढुवानी गर्ने र फर्किने सवारी साधनलाई सञ्चालन हुन दिने निर्णय भएको थियो । टोल फ्री नम्बर ११४९ मा कालोबजारी, ठगी र मूल्य वृद्धिभन्दा खाद्य सामग्रीको सहज उपलब्धताका लागि गुनासो गर्नेहरूको सङ्ख्या धेरै रहेको गृह मन्त्रालयले जनाएको छ ।

उपभोग्य वस्तु ढुवानी सहज
औषधि, खाद्यवस्तु, पानी, दूध, फलफूल, तरकारी, पशुपक्षी, माछाको दाना र कुखुराजन्य वस्तु ढुवानी गर्ने र फर्किने सवारी साधनलाई सञ्चालन गर्न आग्रह गरिएको छ । सर्वसाधारणको दैनिकीलाई सहज र उपभोग्य सामग्रीको आपूर्ति व्यवस्था गर्न मालवाहक सवारी साधनको सञ्चालनमा समस्या देखिएकाले यस्तो आग्रह गरिएको गृह प्रवक्ता केदारनाथ शर्माले बत(ाउनुभयो ।
सर्वसाधारण यात्रु बोक्न नपाउने गरी यस्ता सवारीलाई आवश्यक खाद्य सामग्री ढुवानी कार्यमा सहजीकरण र सुरक्षा प्रदान गर्न प्रहरीलाई निर्देशन दिइएको छ । कहीँ कतै कुनै अप्ठ्यारो परेमा वा आवश्यक गुनासो, उजुरी, सुझाव र सल्लाहका लागि टोल फ्री नम्बर ११४९ मा सम्पर्क गर्न आग्रह गरिएको छ । लकडाउन अवधिभर जो जहाँ हुनुहुन्छ, सोही अवस्थामा बसिदिन मन्त्रालयले सर्वसाधारणमा अनुरोध गरेको उहाँले बताउनुभयो ।गोरखापत्र अनलाइन


प्रतिक्रिया दिनुहोस्