कोरोनाको कहर : चेतनास्तर नै कमजोर, सुरक्षित रहन आग्रह गर्दा असहयोग « Arthapath.com
१६ चैत्र २०७६, आईतवार

कोरोनाको कहर : चेतनास्तर नै कमजोर, सुरक्षित रहन आग्रह गर्दा असहयोग



जाजरकोट। कोरोनाको जोखिम बढेसँगै वैदेशिक रोजगारीबाट घर फर्कनेदेखि अन्य कामले घर बाहिर भएकाहरु धमाधम चोरबाटो फर्कँदा स्वास्थ्य परीक्षण हुन नसकेको पाइएको छ ।
गाउँ–गाउँमा सुरक्षितरूपमा बस्न आग्रह गर्दा पनि कसैले नमानेको स्थानीय सरकारले बताएका छन् । बाटोमा स्वास्थ्य जाँच भइरहेको ठाउँमा सुरक्षाकर्मीसहितको स्वास्थ्यकर्मी टोली खटिएको भए पनि अर्को बाटो प्रयोग गरेर गाउँमा छिर्नेको सङ्ख्या ठूलो रहेको बारेकोट गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्दबहादुर सिंहले जानकारी दिनुभयो । जिल्लाका सबै पालिकामा यही समस्या देखिएको छ ।

प्रहरी, कर्मचारी र स्वास्थ्यकर्मी लगातार गाउँगाउँमा माइकिङ गरिरहेको भए पनि कसैले वास्ता नगरेको उहाँको भनाइ छ । गाउँहरुले स्थानीय सरकारले प्रवाह गरेको सन्देशभन्दा देवीदेवतालाई बलि दिन देवीदेवताका मन्दिर तथा थानमा पुगेको उहाँको भनाइ छ । नलगाड नगरपालिकाको एैरारी तीन बोकाको बलि दिइएको छ ।

बारेकोट गाँउपालिका–२ देवीदेउता र धामीझाँक्रीमा विश्वास गर्ने ठूलो जमात भएकाले कोरोना महामारी गाउँमा आउन नदिन बलि चढाएको वडा नं १ का वडाध्यक्ष द्वारिका बुढाले बताउनुभयो । अझै आफ्ना जहान केटाकेटी बचाइदिन माग गर्दै देउतालाई पछि बलि दिने भन्दै धेरैले भाकल गरेको उहाँले बताउनुभयो । जुनिचाँदे गाउँपालिकामा भारत तथा अन्य मुलुकमा आएका स्थानीयवासीको खोजीकार्य जारी रहेको स्थानीय पत्रकार रेशमबहादुर खड्का बताउनुभयो । जुम्लाको सिमानासँग जोडिएको कुशे गाउँपालिकामा जनप्रतिनिधि आफैँ माइकिङ गर्दै गाउँगाउँमा पुगेको पाइएको छ । वडा नं १ का अध्यक्ष गोपाल नेपाली आफैँ गाउँगाउँमा पुगेको बताएका छन् ।

उता नलगाड नगरपालिका वडा नं का शिक्षक बखतबहादुर केसीले आफ्नो वडामा कसैले पनि जनचेतना तथा विदेशबाट आएका व्यक्तिको खोजी नगरेको सामाजिक सञ्जालमा लेख्नुभएको छ । उहाँले भन्नुभएको छ, “जताततै जनचेतना फैलाएको मिडियामा सुनिन्छ तर हाम्रो गाउँमा अत्तोपत्तो केही छैन त रु” जिल्ला सदरमुकामलगायत स्थानीय तहका मुकाममा लकडाउनको प्रभाव परे पनि गाउँमा लकडाउनको प्रभाव शून्य रहेको छ । स्थानीयवासी खुलेआम काममा हिँडिरहेको पाइएको छ ।

भारतमा कोरोना भाइरसको जोखिम बढेपछि मजदुरीका लागि गएकाहरु धमाधम घर फर्किएका छन् । उनीहरु आफूलाई केही नभएको भन्दै निर्वाध घरपरिवार र साथीभाइसँग घुलमिल गरिरहेका छन् ।

सङ्क्रमण भए पनि तत्काल लक्षण नदेखिँदा जोखिम बढ्ने स्वास्थ्यकर्मीको भनाइ छ । अहिलेसम्म भारतबाट कति मानिस फर्किए भन्ने कसैले तथ्याङ्क राखेका छैनन् । ठूलो सङ्ख्यामा भारतबाट मजदुर फर्के पनि केही सीमित सङ्ख्याबाहेक क्वारेन्टाइनमा राखिएको छैन । घरको मूलढोका खनेर कोइला भेटिएको भन्दै तेलमा राखेमा मात्र कोरोनाबाट बच्न सकिन्छ भन्ने अन्धविश्वासका कारण सबैले ढोकामा खन्ने गरेको पाइएको छ ।

भेरी, छेडागाडले हाइअलर्ट एम्बुलेन्स

भेरी नगरपालिकाले प्रत्येक वडाध्यक्षसहित नगरप्रमुख, उपप्रमुख र कर्मचारीको कार्यविभाजन गरेको तालिका सार्वजानिक गरेको छ । एम्बुलेन्ससमेत तयारी हालतमा रहेको भेरी नगरले बताएको छ । त्यस्तै छेडागाड नगरपालिकाले पनि सबैको कार्यविभाजनसहित निःशुल्क एम्बुलेन्स तैनाथ गरिएको उपप्रमुख सरिता ओलीले जानकारी दिनुभयो । सङ्क्रमणदेखि क्वारेन्टाइन लैजानका लागि एम्बुलेन्स तयारी अवस्थामा रहेको जानकारी गराएको छ ।

विदेशबाट आएकासहित १०७ होम क्वारेन्टाइनमा

विदेशबाट आएका ५८ सहित नेपाली सेनाका ४९ जवानलाई होम क्वारेन्टाइनमा राखिएको छ । स्थानीय सरकार र जिल्ला प्रशासन कार्यालयको सक्रियतामा उनीहरुलाई क्वारेन्टटाइनमा राखिएको हो । छिमेकी मुलुक भारत तथा मलेशिया, दुबई, कतारलगायतका देशमा वैदेशिक रोजगारीबाट फर्केका ५८ जनालाई घरमै सेल्फ क्वारेन्टाइनमा बस्न लगाइएको हो ।

जिल्ला प्रवेश गरेलगत्तै उनीहरुलाई आवश्यक परामर्शसहित १४ दिन घरमै क्वारेन्टाइन बस्न लगाएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले जानकारी दिनुभयो । होम क्वारेन्टाइनमा बस्ने भेरी नगरपालिकामा २९, शिवालय गाउँपालिकामा १८, छेडागाड नगरपालिकाको वडा नं ३, ६ र १० मा आठ, बारेकोट गाउँपालिका–९ मा तीन जना छन् । यसैबीच नेपाली सेनाको जाजरकोटस्थित ज्वालादल गणमा जिल्ला बाहिरबाट आएका ४९ सैनिकलाई पनि क्वारेन्टाइनमा राखिएकोे छ । रासस


प्रतिक्रिया दिनुहोस्