डीटीएचमा एकल साम्राज्य बनाउँदै डिसहोम, प्रभु टीभी पनि किन्यो « Arthapath.com
२५ जेष्ठ २०७८, मंगलवार

डीटीएचमा एकल साम्राज्य बनाउँदै डिसहोम, प्रभु टीभी पनि किन्यो



काठमाडौं । ‘डाइरेक्ट टु होम (डीटीएच)’ प्रणालीमा टेलिभिजन तथा इण्टरनेट सेवा प्रदान गर्दै आएको डिसहोमले बजारमा आफ्नो एकल साम्राज्य बनाउने प्रयासमा अर्को सफलता पाएको छ । हालैमात्र डीसहोमले प्रभु टीभी खरीद गरेको छ । यसअघि केबल टेलिभिजन सेवा दिँदै आएको सीम टिभी खरिद गरेर डिसहोमले प्रतिस्पर्धी घटाएको थियो ।

डीसी नेपाल र होम टीभी आपसमा गाभिएर बनेको डिसहोम पछिल्लो समय आक्रामक बजार विस्तारमा छ । गत वर्षदेखि डीटीएच टीभीको ग्राहक घट्न थालेपछि डिसहोमले इण्टरनेट सेवा दिन सुरु गरेको थियो । प्रभु टीभी खरीद गर्ने विषयमा पनि दु्ई कम्पनीबीच दुई महिनायता सघन वार्ता हुँदै आएको थियो ।

एक महिना भित्रमा एक्वायरसम्बन्धी सम्पूणर् प्रकृया टुंग्याउने तयारी भएको डिसहोमले जनाएको छ । डिसहोमले सेयर बजारमा प्राथमिक सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाएको बताएको छ । आईपीओ जारी गर्नुअघि नै प्रभु टिभी प्राप्ति गरिसक्ने योजनामा अघि बढेको डिसहोमले बताएको छ ।

हाल डिसहोमले डिटिएच प्रविधिबाट टेलिभिजन र फाइबर इन्टरनेट सेवा दिँदै आएको छ । इण्टरनेट र टेलिभिजन दुबै सेवा दिँदै आएको प्रभु टीभी जोडिएपछि डिसहोमसँग करीब २० लाख ग्राहक पुग्ने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्