आजबाट सुपथ मूल्य पसल संचालन, कुन खाद्यवस्तुमा कति छुट ? « Arthapath.com
२२ जेष्ठ २०८३, शुक्रबार

आजबाट सुपथ मूल्य पसल संचालन, कुन खाद्यवस्तुमा कति छुट ?



काठमाडौं । आज अर्थात् असोज २१ गतेदेखि चाडवाड लक्षित सुपथ मूल्य पसल संचालन भएको छ ।

सरकारले उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयको मातहतका खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ कर्पोरेसन तथा कृषि तथा पशुपन्छी विकास मन्त्रालय मातहतको दुग्ध विकास संस्थानको सहकार्यमा सहुलियत मूल्य पसल सञ्चालनमा ल्याएको हो ।

आगामी मंसिर ३ गतेसम्म संचालनमा हुने उक्त चाडवाड लक्षित सहुलियत मूल्य पसलमा सबै किसिमका चामल, दालहरु, गहुँ, आटा, पिठो, मैदा, तोरीको तेल, सनफ्लावर तेल, भट्मासको तेल र चिउराहरु पाईने छ । ती खाद्य वस्तुमा बजार मूल्यभन्दा प्रतिकिलो ७ रुपैयाँले सस्तो मूल्यमा सर्वसाधारण उपभोक्ताले खरिद गर्न पाउनेछन् । यता, कर्णालीको सिमी तथा गेडागुडीहरु, फापरको दाना, चिनो, कागुनो र उवा र जिउँदो खसी, बोका तथा च्याङ्ग्रामा प्रतिकिलो १० रुपैयाँ छुट दिइएको छ ।

यस्तै, साल्ट ट्रेडिङ कर्पोरेसनलले चिनी प्रतिकिलो ९७ मा बेच्नेछ । त्यसैगरि नुनमा प्रतिकिलो २ रुपैयाँ र तेल तथा चिउरामा प्रतिकिलो ७ रुपैयाँमा छुटमा बिक्री गर्नेछ । सहुलियत पसलमा दूग्ध विकास संस्थानले घ्यूमा प्रतिकिलो २० रुपैयाँ छुटमा बिक्री गर्नेछ । यस्तै, पनीर प्रति दुई सय ग्राममा २० रुपैयाँ र प्रति पाँच सय ग्राममा ५० रुपैयाँ छुट दिने बताइएको छ ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङ्गको काठमाडौँ उपत्यकामा ३५ वटा स्थानमा बिक्री स्थल रहने बताइएको छ । त्यसमध्ये ८ वटा बिक्री केन्द्र र तीन वटा घुम्ती पसल समेत रहनेछ ।

यस्तै, मोरङ्ग, झापा, ताप्लेजुङ्ग, संखुवासभा, सोलुखुम्बु, दिक्तेल, भोजपुर, ओखलढुङ्गा, खोटाङ्ग, सिरहा, जनकपुर, पर्सा, काठमाडौँ, ललितपुर, भक्तपुर, कास्की, तनहुँ, गोरखा, मनाङ्ग, मुस्ताङ्ग, रुपन्देही, बाँके, दाङ्ग, बर्दिया, रुकुम पूर्व र रुकुम पश्चिममा खाद्य व्यवस्था कम्पनीले सहुलियत पसल सञ्चालन गर्नेछ ।

त्यसैगरि रोल्पा, सुर्खेत, गुल्मी, दैलेख, डोल्पा, कालीकोट, हुम्ला, जाजरकोट, जुम्ला, मुगु, कैलाली, डंडेलधुरा, बाजुरा, बझाङ्ग, अछाम, दार्चुला, महेन्द्रनगर गरी ४२ जिल्लाका ४८ स्थानमा खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सहुलियतपूर्ण स्टक रहनेछन् । थप अन्य जिल्ला र स्थानहरुमा पनि आवश्यकताका आधारमा सहुलियत पसल संचालन गरिने बताइएको छ ।


प्रतिक्रिया दिनुहोस्