सरकार र राष्ट्र बैङ्कको नीतिगत सहजीकरणले घर जग्गा कारोबार लयमा फर्किएको हो ?

काठमाडौँ । घर जग्गा कारोबारमा सुधार आएको छ । अर्थतन्त्रमा देखिएको सकारात्मक सुधारसँगै घर जग्गा कारोबारमा पनि बढोत्तरी आएको हो ।
गत मङ्सिरको तुलनामा पुस महिनामा करिब साढे ३ हजार बढी घर जग्गा लिखत पारित भएको छ । कात्तिक र मङ्सिर महिनामा दसैँ, तिहार लगायतका ठुला चाडपर्वले कारोबारमा सङ्कुचन आएको थियो । सो अवधिमा सार्वजनिक बिदा लामो समय हुँदा कारोबार केही कमी आए पनि पुसमा भने बढेको छ ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार पुसमा ४५ हजार २७७ घर जग्गा लिखत पारित भएको छ । यो मङ्सिरको तुलनामा ३ हजार ४२६ ले बढी हो । अझ गत वर्षको पुसको तुलनामा भने १६.४८ प्रतिशत बढेको छ । विभागका अनुसार गत वर्षको पुस महिनामा देशभर ३८ हजार ८७१ वटा घर जग्गा किनबेच भएको थियो ।
यो वर्षको पुसमा भने पाँच महिना यताकै उच्च कारोबार भएको छ । चालु आर्थिक वर्षको पहिलो महिनामा देशभर ३९ हजार २६३ वटा घर जग्गा किनबेच भएको थियो । विभागका अनुसार भदौ महिनामा देशभर ३५ हजार ६८६, असोजमा ३९ हजार ७९३ र कात्तिकमा २६ हजार ५६ वटा घर जग्गा किनबेच भएको थियो । तर, कात्तिकपछि भने कारोबारमा बढोत्तरी देखिएको छ ।
गत मङ्सिरमा पनि ४१ हजार ८५१ वटा घर जग्गा किनबेच भएको थियो । आर्थिक शिथिल, बढ्दो बजार महँगी र ब्याजदरले गत वर्ष घर जग्गा कारोबार करिब करिब ठप्प जस्तै थियो । तर, पछिल्लो समय अर्थतन्त्र बिस्तारै चलायमान हुने संकेत देखिएको छ ।
नीति सहजीकरणले बढाउँदै कारोबार, अझै बढ्ने अपेक्षा
घर जग्गा कारोबारले बिस्तारै लय समाउन थालेको तथ्याङ्कले देखाउँछ । विशेषगरि सहज नीतिको सकारात्मक प्रभाव कारोबार परेको हो । सरकारले पनि सुस्ताएको अर्थतन्त्र चलायमान बनाउने भन्दै कित्ताकाट लगायतको नीति खुकुलो पारेको छ ।
यता, नियामक निकाय नेपाल राष्ट्र बैङ्कले पनि घर जग्गा कर्जा लगानीमा लचक नीति अघि सारेको छ, यस्ता नीतिगत सहजताले पनि कारोबारमा बढोत्तरी आएको बताइन्छ । राष्ट्र बैङ्कले व्यक्तिगत आवासीय कर्जाको सीमा ५० लाख बढाएको छ। हाल यस्तो कर्जाको सीमा दुई करोड पुर्याएको छ । यस्तै, मौद्रिक नीतिको पछिल्लो समीक्षामार्फत घर जग्गा धितो कर्जाको जोखिम भार घटाएको छ । केन्द्रीय बैङ्कले घर जग्गा धितो कर्जाको जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको छ ।
यस्तै, पछिल्लो समय बैंकिङ्ग प्रणालीमा लगानीयोग्य रकम पनि बढ्दो नै छ । बैङ्क ब्याजदर पनि घट्दो ट्रेन्डमा छ भने अर्थतन्त्रका सूचकहरूमा पनि बिस्तारै सकारात्मक सुधारको सङ्केत देखिएको छ । यस्ता कारण पनि कारोबार बढ्दै गएको छ।
गत साउनदेखि नै सरकारले कित्ताकाट खुला गरिसकेको छ । अब बिस्तारै घर जग्गा कारोबार बढ्ने व्यवसायीहरूको आङ्कलन छ । पछिल्लो समय बैंकिङ्ग प्रणालीमा बढ्दै गएको लगानीयोग्य रकम र घट्दो ब्याजदरले पनि कारोबार बढ्ने नेपाल जग्गा तथा आवास विकास महासङ्घका अधिकारीहरू बताउँछन् । पछिल्लो समय कर्जाको ब्याजदर समेत घट्दै गइरहेको छ ।
राजश्व पनि बढ्दै, एकै महिना साढे तीन अर्ब सङ्कलन
देशभर जग्गा कारोबारमा आएको सुधारसँगै सरकारलाई जाने राजश्व पनि बढोत्तरी आएको छ । विभागका अनुसार गत पुसमा ३ अर्ब ५१ करोड रुपैयाँ राजश्व सङ्कलन भएको छ । मङ्सिरको तुलनामा कारोबार बढेकाले नै राजश्व पनि बढेको हो । गत मङ्सिरमा ३ अर्ब १७ करोड रुपैयाँ राजस्व सङ्कलन भएको विभागको तथ्याङ्क छ।
विभागका अनुसार पुस महिनामा सेवा कर बापत २६ करोड २० लाख रुपैयाँ राजश्व उठेको छ । यस्तै, रजिस्ट्रेसन दस्तुर बापत २ अर्ब १२ करोड १२ लाख रुपैयाँ, पुँजीगत लाभकर बापत १ अर्ब १० करोड ९ लाख रुपैयाँ र अन्य विभिन्न सेवा दिएबापत राजस्व सङ्कलन गरेको छ ।
राजश्व सङ्कलन भने काठमाडौँ उपत्यकाका मालपोत कार्यालय मार्फत बढी उठेको छ । सबैभन्दा धेरै ललितपुरबाट २७ करोड ७२ लाख रुपैयाँ राजस्व उठेको छ । दोस्रो सूचीमा रहेको चाबहिल मालपोतबाट २३ करोड २९ लाख रुपैयाँ, भक्तपुरबाट २२ करोड ६५ लाख रुपैयाँ राजश्व सङ्कलन भएको छ । यस्तै, कलङ्कीबाट २० करोड ९९ लाख रुपैयाँ र डिल्लीबजार मालपोतबाट १५ करोड ६६ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ ।